नारायणी तटबन्ध पाँच प्याकेजमा : मेयरसहितको टोलीद्वारा निरीक्षण, लागत रकम दुई अर्ब ४६ करोड

भरतपुर । भरतपुर महानगरपालिकाको मेघा प्रोजेक्ट नारायणी नदी तटबन्धको काम सुरू भएको छ । विभिन्न पाँच प्याकेजमा नदी तटबन्धको काम सुरू भएको हो ।

तटबन्धको जिम्मा पाएका निर्माण व्यवसायीले प्रारम्भिक कार्य सुरू गरेका छन् । सोमबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, नारायणी नदी व्यवस्थापन आयोजनाका कर्मचारी, निर्माण व्यवसायीलगायतको टिमले नदीकिनारको स्थलगत अवलोकन गरेर फर्किएको छ ।

पाँचवटा प्याकेजको कुल लागत रकम दुई अर्ब ४६ करोड रूपैयाँ रहेको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका अनुसार प्याकेज नं १, २९, ३०, ३१ र ५ गरी तटबन्धको काम सुरू भएको हो । प्याकेज नं १ मा गोलाघाटदेखि बलुवासम्म ६.८ किमीमा तटबन्ध गरिने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकीले जानकारी दिए । यो प्याकेजको २६ करोड रूपैयाँ लागतमा पशुपति श्रीगीता रोजन जेभीसँग सम्झौता भएको हो ।

‘यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने भएकाले काम सुरू गर्नुपूर्व निकुञ्जसँग अनुमति लिनुपर्ने हुन्छ । निकुञ्जले अनुमति दिनेबित्तिकै काम सुरू हुन्छ’, उनले भने, ‘नदीमा गोहीले अण्डा पार्ने समय पनि भएकाले निकुञ्जले त्यसको अध्ययन गरेर अनुमति देला ।’ बलुवामा यसअघि गरिएको अस्थायी तटबन्धले नदी कटानलाई केही हदसम्म रोकेको छ ।

प्याकेज नं २९ अन्तर्गत बलुवादेखि सिसैसम्म नदीकिनारको करिब ५ किमीमा तटबन्ध गरिनेछ । यसको सम्झौता रकम ३७ करोड रूपैयाँ रहेको उनले बताए । सिसै नदी कटानको उच्च जोखिममा छ । स्थानीयले नदी तटबन्धको काम तत्काल सुरू गर्न आग्रह गरेका छन् । यस प्याकेजअन्तर्गत पर्ने भगडीमा उपभोक्ता समितिले ठूला ढुङ्गा ल्याएर अस्थायी तटबन्धको काम गरेका छन् ।

नदीले कटान थालेको चार वर्षदेखि खेती गरेर खान नपाइएको स्थानीय फूलकुमारी महतोले बताइन् । ‘अहिले बाढी आएको छैन, यही बेला बाढी रोक्ने काम गरेको भए हाम्रो जग्गा बच्थ्यो कि भन्ने आश छ । जग्गा बचे खेती गरेर खान त पाइन्थ्यो’, उनले भनिन् । आफूहरुले बालुवा बेचेर भए पनि बिहान–बेलुका खानका लागि पैसाको जोहो गरेकोमा अहिले बालुवा बेच्न पनि रोक लगाइएको उनले गुनासो गरिन् ।

मझुवा सामुदायिक वन र दियालो मध्यवर्ती सामुदायिक वनबीचको करिब नौ किमी दूरीमा भने तटबन्धको काम हुने छैन । यस स्थानमा नदीले निरन्तर कटान गरिरहेकाले बस्तीमा बाढी पस्ने जोखिम रहेको स्थानीयले बताएका छन् । हालको योजनामा उक्त स्थान छुटेकाले छिट्टै नै त्यसका लागि पनि बजेट सुनिश्चितता गरी काम अघि बढाउने मेयर दाहालले आश्वासन दिएकी छन् ।

Sagoon Host

प्याकेज नं ३० अन्तर्गत गाजीपुरदेखि हीरापुरसम्म करिब ५ किमीमा तटबन्ध गरिँदैछ । यस प्याकेजको सम्झौता लागत ४८ करोड ६४ लाख परूैयाँ रहेको छ भने दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने छ । प्याकेज ३१ अन्तर्गत रामघाटदेखि काभ्रेघाटसम्म करिब ५ किमीमा तटबन्ध गरिने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार यो प्याकेजको सम्झौता लागत एक अर्ब १५ करोड ४९ लाख रूपैयाँ रहेको छ । यस प्याकेजको काम तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने उनले बताए ।

प्याकेज नं ३० को कुमार श्रेष्ठ/बन्दन भगवती/केबिसी जेभी र प्याकेज नं ३१ को जिम्मा लुम्बिनी/बन्दन भगवती/केबिसी जेभी काठमाडौँले पाएको हो । लुम्बिनी/बन्दन भगवती/केबिसी जेभीका प्रतिनिधि कुमार आचार्यले भगेरीथानमा ८०० मिटरमा नदी कटान नियन्त्रणको कामको सुरूवात भइसकेको बताए । उनका अनुसार सिद्धिगणेशमा सात बिघा जग्गामा प्लान्ट निर्माण गर्ने काम भइरहेको छ ।

20% OFF SAGOON

प्याकेज नं ५ मा नारायणगढस्थित नदीकिनारलाई सी बिच मोडलमा विकास गर्ने भनिएको छ । नारायणी पुलबाट उत्तरतर्फको नदीकिनारलाई सी बिच मोडलका लागि गुरूयोजना बनिसकेको छ । उक्त स्थानमा सेडसहितको तटबन्धका लागि २० करोडको ठेक्का आह्वान भएको छ । पर्यटन मन्त्रालयको बजेटमा पैदलमार्ग बनाउने काम पनि भइरहेको छ ।
महानगरकी मेयर दाहालले आफ्नो पहिलो कार्यकालमा भएको पहलले मूर्तरुप लिन लागेकोमा खुसी व्यक्त गरिन् ।

‘टालटुले बजेट ल्याएर नदी कटानलाई अस्थायीरुपमा नियन्त्रण गर्ने काम हुँदै आएको थियो । त्यो पर्याप्त थिएन’, उनी भन्छिन्, ‘बर्सेनि बाढीले हजारौँ हेक्टर जमिन कटान गर्ने, बस्ती डुबानमा पार्ने समस्या थियो । हामीले यसको दीर्घकालीनरुपमा समाधान गर्नुपर्छ भनेर लाग्यौँ ।’

नारायणी नदी व्यवस्थापन आयोजनासँग समन्वय गरेर संघीय सरकारको बजेट ल्याइएको उनले बताइन् । ‘तटबन्धका लागि महानगरको बजेटले सम्भव थिएन, हामीले संघीय सरकारसँग निरन्तर पहल गरेर बजेट ल्यायौँ’, उनले भनिन् । संघ र प्रदेशमा निर्वाचित सांसद्हरु पनि यतिबेला जनताको घरदैलोमा जाने र विकास निर्माणमा ऐक्यबद्धता जनाउने काम गरिरहेका छन् ।

सांसद्हरु पनि महानगरसँग समन्वय गरेर जान सके दिगो विकासलाई अगाडि बढाउन सकिने उनले बताइन् । ‘स्थानीय सरकारसँग समन्वय हुन सक्यो भने राम्रो परिणाम दिन सकिन्छ । आआफ्नो ढङ्गबाट जाँदा समस्या आउन सक्छ’, उनले भनिन् ।

अनुगमन समितिको संयोजकसमेत रहेका महानगरका उपमेयर चित्रसेन अधिकारीले आयोजनालाई निर्धारित समयमा सक्न सहजीकरण गरिने बताए । ‘काम गर्ने क्रममा कुनै समस्या सिर्जना भयो भने निर्माण व्यवसायीसँग सहकार्य गर्दै सहजीकरण गर्ने काम गर्छाैं’, उनले भने ।

मेघा प्रोजक्टअन्तर्गत नारायणी नदीकिनारमा तटबन्ध, त्यसको आडमा गाडी हिँड्ने बाटो र बाटोको छेउमा बोटबिरूवा रोपिने छ । तटबन्धपछि करिब ४०० बिघा जग्गा उकासिने र हजारौँ बस्ती सुरक्षित हुने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु