५ दिने कार्यक्रमसहित चुम्लुङ स्थापना दिवस मनाइने

काठमाडौ । याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ(किचायु)को ३६ औं स्थापना दिवस आगामी भाद्र १३ गतेदेखि भाद्र १७ गतेसम्म ५ दिने विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने भएको छ ।

चुम्लुङ स्थापना दिवसको अवसरमा आयोजित ५ दिने कार्यक्रमको पहिलो दिन भाद्र १३ गते साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार तथा मुन्धुम स्वर्णिम साँझ आयोजना गरिने आयोजकले बताएका छन् । यसै वर्षदेखि वितरण गर्न लागिएको साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार लिम्बू भाषाको गीत गायन, संगीत र शब्द लेखनमा विशेष योगदान पुर्याउनुभएका भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकलाई प्रदान गरिने भएको छ ।

कार्यक्रमको दोस्रो दिन साविक १ नम्बर प्रदेशलाई कोशी नामांकन गरिएकोमा त्यसको खारेजी तथा मुक्कुम्लुङ संरक्षणको सवालमा विचार गोष्ठी आयोजना हुने बताइएको छ । तेस्रो दिन भाद्र १५ गते मुक्कुम्लुङमा “नो केवलकार” शीर्षकको कला प्रर्दशनीसंगै “कलामा आदिवासी प्रतिरोध” विषयमा अन्तरक्रिया हुनेछ भने भाद्र १६ गते विश्वव्यापी भर्चुअल शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्ने तालिका रहेको छ ।

कार्यक्रमको अन्तीम दिन भाद्र १७ गते आयोजना हुने मुल समारोहमा रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार वितरण, शुभकामना आदनप्रदान तथा लिम्बू जातिका विभिन्न परिकारहरुसंगै मौलिक नृत्यहरु केलाङ्, यालाङ् र येवा लाङ्हरु प्रर्दशन गरिने छन् ।
चुम्लुङहिम ललितपुरमा‌ सम्पन्न हुने ३६ औं स्थापना दिवस कार्यक्रमको संयुक्त आयोजकमा किरात याक्थुङ चुम्लुङ संघीय कार्य समिति, नेवाःताम्सालिङ कार्य समिति, काठमाडौ, ललितपुर, भक्तपुर र विषयगत समितिहरु रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्