भदौ २५ सम्म भ्याट विवरण बुझाउन नसक्नेलाई ३१ गतेसम्मको समय

२४ भदौ, काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताले साउन महिनाको कर विवरण २५ भदौभित्र आन्तरिक राजस्व विभागमा बुझाउनुपर्छ । तर, यस पटक विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका वा विभागले तोकेका करदाताले प्राविधिक कठिनाइका कारण २०७८ साउन महिनाको विवरण पेश गर्न नसकेको गुनासो गरेका छन् ।

प्राविधिक कारणले बिक्री खाता र खरिद खाता विद्युतीय माध्यमबाट अपलोड गर्न नसकेका र भ्याट विवरण बुझाउन नसकेका करदाताले यो अवधिभित्रै विवरण पेश गर्न सक्ने भएका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार २५ भदौभित्र पनि विवरण बुझाउन नसक्ने करदाताले भने साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्नुपर्ने भएको छ । सो अवधिसम्म पनि नबुझाएमा भने तोकिएअनुसार जरिवाना हुने विभागले जनाएको छ ।

विभागले बिक्री तथा खरिद खाता अपलोड गर्न समस्या भएका करदाताका लागि खाताको नमुना नै परिवर्तन गरी नयाँ ढाँचा आन्तरिक राजस्व विभागको वेबसाइटमा राखेको छ । अब करदाताले नयाँ ढाँचाका खाता डाउनलोड गरी ३१ भदौभित्र विद्युतीय माध्यमबाटै अपलोड गर्नुपर्ने गरी निर्माण भएको विभागले जानकारी गराएको छ ।

यसअघि एक्सेल सीट तयार गर्दा वस्तुको परिमाण र मापन गर्ने इकाई एकै महलमा उल्लेख गर्ने गरेको, मिति उल्लेख गर्दा ‘वर्ष.महिना.दिन’ ढाँचामा हुनुपर्नेमा अन्यथा भएको, कुल जोड जम्मामा पनि प्राविधिक कठिनाइ भएको र करदाताको इन्टरनेट ब्याण्डविथ कम भएका कारण समेत बिक्री तथा खरिद खाता अपलोडमा समस्या देखिएको विभागले जनाएको छ ।

अब के गर्ने ?

विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाताले प्रयोगमा ल्याएको सफ्टवेयरबाट तोकिएको नयाँ ढाँचामा प्रत्येक कर अवधिको बिक्री खाता र खरिद खाता तयार गरी सो खाता अपलोड गर्नुपर्ने हुन्छ । विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति नलिएका करदाताले भने विभागको वेबसाइटमा राखिएको नयाँ बिक्री खाता र खरिद खाताको एक्सेल फर्म्याट डाउनलोड गरी त्यसमा प्रत्येक कर अवधिको बिक्री र खरिद कारोबार उल्लेख गरेर अपलोड गर्नुपर्ने भएको छ । एउटै बिलबाट एक पटकमा धेरै वस्तु खरिद वा बिक्री भएको अवस्थामा सम्भव भएसम्म अलग–अलग वस्तुको विवरण अलग–अलग महलमा उल्लेख गर्न समेत विभागले भनेको छ ।

Sagoon Host

सम्भव नभए एउटै महलमा ‘विविध वस्तु’ उल्लेख गरी खाता तयार गर्नुपर्ने समेत विभागले जानकारी दिएको छ । खरिद वा बिक्री गरिएका वस्तुको परिमाण अंकमा लेख्नुपर्ने हुन्छ । यसको मापन गर्ने इकाई (थान, संख्या, किलो, लिटर, दर्जन) भने अर्को महलमा उल्लेख गर्नुपर्ने भएको विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । विभागले परिमाण र इकाई एकै महलमा उल्लेख नगर्न समेत भनेको छ । परिमाण र इकाई एकै महलमा राखेमा खाता अपलोड नहुने भन्दै विभागले सचेत समेत बनाएको छ । खाताको कुल जोड जम्मा उल्लेख नगर्न र कारोबारको मिति उल्लेख गर्दा ‘वर्ष.महिना.दिन’को ढाँचा अपनाउन समेत भनिएको छ ।

मूल्य अभिवृद्धि कर नियमावलीको २३ औं संशोधनबाट खरिद तथा बिक्री कारोबारको प्रत्येक कर अवधिको कर अभिलेख करदाता स्वयंले प्रमाणित गरेको खरिद तथा बिक्री खातामा राख्नुपर्ने प्रावधान राखेको छ । यस्तो विवरण विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाता वा विभागले तोकेका अन्य करदाताले प्रत्येक कर अवधिको कर विवरण पेश गर्नपर्छ । सो विवरण पेश गर्दा खरिद तथा बिक्री कारोबारको विवरण विभागले तोकेको ढाँचामा विद्युतीय माध्यमबाट पेश गर्नुपर्छ ।

कस्ता करदाताले पेश गर्नुपर्छ विद्युतीय माध्यमबाट विवरण ?

20% OFF SAGOON

आन्तरिक राजस्व विभागबाट विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका सबै करदाताले यो प्रक्रिया अनुसार नै विवरण बुझाउनुपर्छ ।  २०७७ असारदेखि २०७८ जेठ महिनाको कर विवरणमा ५ करोड रुपैयाँभन्दा बढी बिक्री कारोबार (कर लाग्ने बिक्री र निर्यातसमेत) घोषणा गरेका सबै करदातालाई समेत विद्युतीय माध्यमबाट खाता पेश गर्ने समूहमा राखिएको छ ।

यी दुईबाहेक मूल्य अभिवृद्धि करमा दर्ता रहेका अन्य करदाताले स्वेच्छिक रुपमा आफ्नो बिक्री र खरिद खाता विद्युतीय माध्यमबाट पेश गर्न सक्नेछन् । यसरी अपलोड गरेको विवरणलाई प्रिन्ट गरी करदाता आफैंले प्रमाणित गरेर राख्न सक्छन् । यस अवस्थामा करदाताले छुट्टै खरिद खाता र बिक्री खाता राखिरहनुपर्दैन ।

अपलोड गर्ने प्रक्रिया कस्तो छ ?

विभागको वेबसाइट ‘डब्लुडुब्लुडब्लु डट आइआरडी डट जीओभी डट एनपी’मा गएर ट्याक्सपेयर पोर्टलमा क्लिक गरी ट्याक्सपेयर लगइनमार्फत करदाताले सर्वप्रथम आफ्नो पेज खोल्नुपर्छ । त्यसपछि तोकिएको ढाँचामा यस्तो खाता अपलोड गर्न सकिन्छ । अपलोड गर्ने फाइनल १०० एमबीभन्दा बढी हुनु हुँदैन, त्यसो भएमा एक्सेल फाइललाई धेरैवटा फाइलमा विभाजन गर्नुपर्छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु