अब सडकमै गरिनेछ सवारीको प्रदुषण जाँच

९ साउन, काठमाडौं । अब सडकमै सवारीको प्रदुषण चेक जाँच गरिने भएको छ । शुक्रबारदेखि यातायात व्यवस्था विभाग अन्तरगतको टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले सडकमै सवारीको प्रदुषणको अवस्था जाँच गर्न मिल्ने गरी दुई वटा घुम्ती भ्यान सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले आफू चढ्ने गाडीहरुको जाँच गरेर घुम्ती सेवाको उद्घाटन गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यी भ्यानहरु दैनिक कार्यतालिका बनाएर सडकमा खटिने बताए । उनका अनुसार यो सेवा सुरु भएपछि सवारीको प्रदुषण जाँच सडकमै गरेर तकालै प्रिन्टेड रिपोर्ट दिन सकिने छ ।

‘यो सेवा सुरु भएपछि सवारीको प्रदुषण जाँच्न परे भ्यानहरु सम्बन्धित ठाउँमै पठाउन सक्छौं,’ उनले भने,’यो सेवालाई थप विस्तार गर्दै लैजान्छौं ।’

अहिलेसम्म टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमै ल्याएर सवारी जाँच गर्नुपर्ने बाध्यता छ । यो सेवा सुरु भएपछि प्रदुषण जाँच गर्न सडकमा भ्यानबाटै सवारी धनी र चालकले सेवा पाउनेछन् ।

यो खालको सेवा दिने भ्यानहरु विस्तारै बढाउँदै लैजाने र अन्य प्रदेश र शहरहरुमा पनि पुर्‍याइने महानिर्देशक हमालले जानकारी दिए । घुम्ती भ्यानबाट सेवा सुरु भएपछि सडकमा सवारीको प्रदुषणबारे अनुगमन गर्न पनि सहज हुनेछ ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले सातवटै प्रदेशमा सवारीको अवस्था जाँच्ने फिटनेस सेन्टर स्थापना गर्न लागिएको जानकारी दिए । गण्डकी र बाग्मती प्रदेशमा यसै वर्षबाट त्यसका लागि काम सुरु हुने उनको भनाइ छ ।

अहिले उपत्यका लगायतका देशभरका शहरमा वायु प्रदुषण दिनानुदिन बढ्दो छ । वायुप्रदुषणको प्रमुख कारण मानिन्छ, सवारी साधनबाट निस्कने विषाक्त धुवाँलाई ।

यसलाई नियन्त्रण गर्ने मापदण्ड लागू गराउन सरकारले उदासिनता देखाउँदा अवस्था विकराल बन्दै गएको छ । अहिले जाँचहरुमा अधिकांश सवारीले बेलैमा इन्जिन मर्मत नगर्ने गरेको भेटिन्छ । सोही कारण सवारीले अत्यधिक विषालु धुवाँ फाल्ने गरेको विभागका निष्कर्ष छ ।

आकस्मिक जाँच गरिएका अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल हुने गरेका छन् । सवारी साधनले फाल्ने अत्यधिक प्रदुषित धुवाँ मानव स्वास्थ्यका लागि जोखिमयुक्त पाइएकाले नियन्त्रण आवश्यक रहेको विभाग बताउँछ ।

सरकारले प्रदुषण जाँचमा कडाई नगर्दा यातायात व्यवसायी र सवारीधनीले आफ्नो मोटर बेलैमा मर्मत गर्ने र चुस्त अवस्थामा राख्ने काममा हेलचेक्र्याइँ गर्दै आएका छन् । निजी सवारी साधनले एक वर्ष र सार्वजनिक सवारी साधनले ६-६ महिनामा प्रदुषण जाँच गरेर विभागबाट हरियो स्टिकर लिनुपर्छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु