
सिरीजंघा महोत्सव सम्पन्न, सोलुका कुलुङले जिते म्याराथन
ताप्लेजुङ । प्रर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित सिरीजंघा पर्यटन महोत्सव २ं०८२ भव्य रुपमा सम्पन्न भएको छ ।
महोत्सवको प्रमुख आर्कषणको रुपमा समुद्र सतहबाट ३३ सय ७ मिटरको उचाइमा रहेको कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरनीमा आयोजित कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सोलुखम्बुका अर्जुन कुलुङ प्रथम, जुम्लाका धीरज बुढा द्धितिय र ताप्लेजुङका विभिषण लिम्बूले तेस्रो स्थान हासिल गर्न सफल भए । विजेता कुलुङलाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेता बुढालाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुने लिम्बूलाई ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र ट्रफीसहित प्रदान गरिएको थियो । हाफ म्याराथनमा चौथोदेखि उत्कृष्ठ दसभित्र पर्न सफल धावकहरुले सान्त्वना पुरस्कारस्वरुप ८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशमा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम, नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, नेकपा एमाले ताप्लेजुङ जिल्ला सचिव सन्तोष चाम्लिङ, सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा. चित्र मावो, प्रमुख प्रशासकिय अधिकृत डम्बरबहादुर आङदेम्बेसहित स्थानीय जनप्रतिनिधिहरुले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
सिरीजंघा गाउँपालिकाकै वडा नंं. ८ मा पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कंचनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि नगद पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव सचिवालय समितिका संयोजक डा. चित्र मावोले बताउनुभयो । महोत्सवको अन्तीम दिन चौरी प्रवर्द्धन तथा प्रर्दशन कार्यक्रममा स्थानीय राजेश गुरुङको चौरी “मिक्टा”लाई उत्कृष्ठ चौरीका रुपमा २८ हजार ५ सय ८६ रुपैयाँसहित पुरस्कृत गरिएको थियो भने अन्य ३ जना किसानका चौरीलाई सान्त्वना पुरस्कारस्वरुप जनही ८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कारसहित सम्मानीत गरिएको थियो ।
गत बैशाख १३ देखि १५ गतेसम्म पहिलो पटक आयोजना गरिएको सिरीजंघा पर्यटन महोत्सवलाई आगामी बर्षमा पनि निरन्तरता दिने गाउँपलिकाले निर्णय गरेको अध्यक्ष लालकृष्ण चौहानले जानकारी दिनुभयो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]