सांगीतिक सहयात्रामा जम्दै गीतकार थापा र गायिका मसरंगी

गीतकार मीनबहादुर थापा पुर्वको तेह्रथुममा जन्मिए, मोरङमा नेपाली कांग्रेसको खुंखार कार्यकर्ता भएर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध उत्रिदा जेलनेल भोगे र जीवनको पछिल्लो कालखण्डमा संसारको महाशक्ति राष्ट्र अमेरिकामा सपरिवार बसोबास गर्दैआएका छन् ।
उनी अमेरिकामै बसेर सुन्दर गीतहरु सिर्जना गर्दै नेपाली सांगीतिक क्षेत्रलाई समृद्ध बनाउन निरन्तर लागि परेका छन् । उनका गीतहरुमा विविधता भेटिन्छ, मायाप्रेम, पिरतीका कुरादेखि देशमा विद्यमान वेथिति, भ्रष्टाचार, कुशासन, विदेशी हस्तक्षेप, राजसंस्थाप्रतिको झुकाव हुदै आफ्नै जीवनमा आईपरेको पुत्र वियोगको बज्रपातलाई समेत गीतमा उतारेका छन् गीतकार थापाले । उनमा सरल शब्दहरुलाई बुनेर मीठो गीत लेख्न सक्ने खुबी छ । मीनबहादुर थापाले लेखेका गीतहरुमा वरिष्ठ संगीतकार टीका भण्डारी, शिशिर योगी, मोनी ताम्लिङजस्ता संगितकारहरुले संगीत दिएका छन् भने नेपालका चर्चित गायक, गायिकाहरु शिशिर योगी, मिलन नेवार, टीका भण्डारी, प्रल्हाद तिमिल्सिना, संगीता मसरंगीलगायतले स्वर दिईसकेका छन् ।
निरन्तर गीत लेखनमा आफूलाई सर्मपण गरिराखेका गीतकार थापा र नेपाली स्रोता, दर्शकहरुको मन जितिरहेकी गायिका संगीता मसरंगीको सांगीतिक सहयात्राबारे हामी संक्षेपमा चर्चा गर्दैछौं । सुमधुर स्वरकी धनी गायिका मसरंगी समकालीन गायिकाहरुवीच राम्रो भविष्य बोकेकी गायिका हुन् । विभिन्न गीतकारको रचना तथा संगीतकारहरुको संगीतमा उनले गीतहरु गाईसकेकी छिन् । गीतकार थापा र गायिका मसरंगीले झण्डै आधा दर्जन गीतहरुका अहिलेसम्म सहकार्य गरिसकेका छन् । धादिङ बेसी बजार, छमछमछम पाउजु, उठन उठन नेपाली, चन्द्र सुर्य फहराई, मरेर जाने फर्कदैनन् (यो पनि थाहा छ ।)२, शीरैमा श्रीपेच राजालाईजस्ता मीनबहादुर थापाले लेखेका गीतहरुमा गायिका मसरंगीको स्वर सुन्न सकिन्छ ।
मानिसको जीवनमा दुःख, सुख र संघर्षहरुको अन्त्यहीन चक्र चलिरहेकै रहेकै हुन्छ । थापा परिवारमा एकदिन यस्तो एउटा अकल्पनीय घटना घट्यो कि जसको पीडालाई शायद शब्दमा ब्याख्या गर्न सकिदैन । अमेरिकामा भएको सडक दुर्घटनमा गीतकार थापाले आफ्नो प्राणभन्दा प्रिय छोरा अन्जील थापालाई गुमाए । एउटा पिताले जवान छोरा गुमाउनुको व्यथा कल्पना गर्दा समेत मन कहालिन्छ भने भोग्नेलाई कस्तो होला रु थापाले पुत्रवियोगलाई असाध्यै मार्मिक ढंगले गीतमा उतारेका छन् ।
केटाः मरेर जाने फर्कदैनन (यो पनि थाहा छ)२ ।
केटीः रुन्छ यो मन, छिनछिन किन, बुझाउने को छ ?
संगीतकार मोनी ताम्लिङले संगीत दिएको गीतकार थापको यो गीतलाई स्वयम् संगीतकार ताम्लिङ र गायिका संगीता मसरंगीले मनछुने गरि गाएका छन् ।
राजनीतिक रुपले कुनैबेला आफूले उर्वर समय खर्चिएको नेपाली कांग्रेसप्रति मीनबहादुर थापाको मोहभंग भईसकेको छ । बाह्र बुँदे सम्झौता, वर्तमान शासन व्यवस्था, शीर्ष नेतागण, गणतन्त्रप्रति गीतबाट आगो नै ओकलेका छन् थापाले । उनले लेखेको, मोनी ताम्लिङद्धारा संगीतबद्ध मोनी ताम्लिङ र संगीता मसरंगीको स्वर रहेको गीत “उठन उठन नेपाली, चन्द्र सुर्य फहराई । १२ बुँदे सम्झौतालाई धोको हो भन नडराई ।” यसैको एउटा ज्वलन्त उदाहरण हो ।

गीतकार थापा नेपालमा राजसंस्थाको अपरिहार्यतामा विश्वस्त छन् । मुलुकमा राजसंस्था चाहिन्छ भन्ने उनको प्रष्ट बुझाई छ ।
शीरैमा श्रीपेच, राजालाई
शान्ति, विकास नेपाली जनतालाई
काधैमा बोकेर सरर, राखौ है नारायणहिटी दरवार
थापाले लेखेको यो गीतमा मोनी ताम्लिङको संगीत रहेको छ भने संगीता मसरंगी र सलिन कुमार खड्काको स्वर गुन्जीएको छ ।

गीतकार मीनबहादुर थापाको कदर गर्नैपर्ने विशेषता वा खुवी भनेको जीवनका अनेक रंगहरुमाथि सुन्दर गीतहरु सिर्जना गर्न सक्नु हो । मायाप्रेम, पिरतीका गीत लेखनमा समेत थापाले आफूलाई निकै अब्बल प्रमाणित गरिसकेका छन् । मोनी ताम्लिङको संगीत र संगीता मसरंगीको एकल स्वरमा रहेको “छमछमछम पाउजु बजाई बोलाउ कि उनलाई । छनछनछन चुरी बजाई बोलाउ कि उनलाई ।” गीत निकै कर्णप्रिय छ ।
यसैगरी, गीतकार थापाको रचना, वरिष्ठ संगीतकार टीका भण्डारीको संगीत तथा टीका भण्डारी र संगीता मसरंगीको स्वरमा रहेको रमाईलो, सुन्दै जो कोहिलाई पनि नाचौ, नाचौ लाग्ने गीतको बोल यस्तो छः
केटीः धादिङ वेसी बजार, माया हजार
भेट भाको कान्छासंग जुध्यो नगर
केटाः धादिङ बेसी बजार, माया हजार
भेट भाको कान्छीसंग जुध्यो नगर

गीतकार मीनबहादुर थापा र गायिका संगीता मसरंगीको सांगीतिक सहयात्राले झण्डै आधा दर्जन सांगीतिक कोशेलीहरु दर्शक, स्रोताहरुसामु पेश गरिसकेको छ । यो जोडी अहिले अर्को गीतमा सहयात्राको तयारीमा छ जुन गीत यसरी सुरु हुन्छः
तिमी बन हरियाली, म बन्छु सुन्दर पहाड
कहिले उकालीमा, कहिले ओराली हुदै खेलौ लुकामारी

नेपाली दर्शक, स्रोताहरुको मनमा बस्न सकोस् यो गीत, अग्रीम शुभकामना !

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्