
नाटक मुक्कुमलुङ(विश्वासको शक्ति) अब युट्युबमा
काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित रंगकर्मी पवित्र राईद्धारा निर्देशित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति) युट्युबमा हेर्न सकिने भएको छ ।
गत असोजमा काठमाडौंको बत्तीसपुतलीस्थित सिल्पी थिएटरमा मन्चन भएको सो नाटक माघ २ गतेबाट मुन्धुम फिल्मस् युट्युब च्यानलबाट रिलिज गरिएको छ । नाटकमा पुर्वी पहाडमा बसोवास गर्ने याक्थुङ लिम्बू जातिको जीवनशैली, संस्कार, संस्कृति र उनीहरुले पवित्र मुन्धुमी थलोका रुपमा मान्दै आएको मुक्कुमलुङ(पछिल्लो समय पाथीभरा देवीका रुपमा प्रसिद्ध)मा निजी क्षेत्रको कम्पनीले केवलकार बनाउन खोजेपछिको परिवेश पनि समेटिएको छ ।
रेयर राई, दिपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा, स्मृति कलमर, उज्वल वान्तवा राई, शान्तास्वरी राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारहरुको अभिनय रहेको नाटक मुक्कुमलुङमा संजित थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन, सन्जिव योगीको लाइट डिजाइन र स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ “केवाफुङ” रहनुभएको थियो ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्ष समेत रहनुभएका डा. चित्र माबोको कथासंग्रह डोलीभर्ना सांग्रीला बुक्सले बजारमा ल्याएको थियो । पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस बसोबास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयहरुमा लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]