
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा विशेष प्रकारको हवाईजहाजद्रारा लाइडार सर्भे
आज सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सुरु गरेको छ ।
पृथ्वीको धरातलीय स्वरूपलाई जस्ताको तस्तै तस्बिरमा उतार्ने काम लाइडर सर्भेबाट गरिने बताइएको छ । विज्ञका अनुसार पृथ्वीको सतह कहाँ अग्लो, कहाँ होचो छ भन्ने मापन गर्ने अत्याधुनिक विधिलाई लाइडर सर्भे भनिन्छ ।
नेपाल सरकारले पहिलो पटक देशभरको सर्भे गर्न लागेको हो । नेपालमा भेरी बबई, बूढीगण्डकी, मुक्तिनाथमा स्थापना गर्न लागिएको केवलकार लगायतका केही सीमित आयोजनाहरूमा यस्तो सर्भे गरिएको थियो । इन्जिनियरिङका सबै कामहरूमा यो डाटा आवश्यक मानिन्छ ।
सर्भे गर्नका लागि जहाजमा स्क्यानर फिट गरिन्छ र त्यसले जमिनको सतहलाई स्क्यान गर्दछ । त्यसबाट प्राप्त सूचनाका आधारमा जमिनको अवस्था पत्ता लगाइनेछ । यसबाट भूभाग कहाँ कति अग्लो, होचो र गहिरो छ भन्ने सबै तथ्य पत्ता लगाउनेछ । सर्भे गर्ने जहाजमा तलतिर क्यामेरा, जीपीयस, सेन्सरदेखि लिएर इनर्सियल मेजरमेन्ट युनिट भन्ने कम्बाइन्ड प्याकेज राखिएको हुन्छ ।
विशेष हवाइजहाज उडाएर यस्तो सर्भे गरिन्छ, जहाजको पृथ्वीमा राखिएका स्टेसनसँगको कनेक्सनमा काम हुन्छ ।
जहाज सञ्चालनका लागि केही विदेशी सहित नेपाली विज्ञ टोली पनि त्यसमा संलग्न रहेका छन ।
सुरुको चरणमा २० हजार वर्गकिलोमिटरको सर्भे गर्न लागिएको छ । चितवनदेखि कञ्चनपुरसम्मका तराईका सबै तथा पहाडका धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पाको चुरे रेन्जसम्मको क्षेत्र समेटिने नापी विभागले जानकारी दिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


