
धमाधम बन्दैछ ताप्लेजुङको कञ्चनजंघा पदमार्ग, होम स्टे अध्ययन हुँदै
काठमाडौं । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंघाको आधार शिविरसम्म पुग्ने कञ्चनजंघा साहसिक पदमार्गको झण्डै ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र सिरीजङ्घा गाउँपालिका, ताप्लेजुङको साझेदारीमा सिरीजङ्घा गाउँपालिकाको वडा नं. ८, याम्फुदिनको आम्जी खोलादेखि कञ्चनजंघा आधार शिविरसम्म “कञ्चनजंघा साहसिक पदमार्ग” निर्माण भईरहेको छ । पदमार्गमा आवश्यक पर्ने होम स्टे र टी स्टेहरुको सम्भाव्यता अध्ययन गर्न विज्ञसहित गाउँपालिकाको टोली यही कार्तिक महिनाभित्र त्यसतर्फ जान लागेको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावाले जानकारी दिनुभयो । उक्त अध्ययन टोलीको प्रतिवेदनका आधारमा पर्यटकहरुका लागि पदमार्गमा आवश्यक पर्ने होम स्टे तथा टी स्टेहरु निर्माणका लागि आगामी आर्थिक वर्ष बजेट विनियोजन गरिने बताइएको छ । चालु आर्थिक बर्षमा भने मामांखे, याम्फुदिन र तेल्लोकमा ५० प्रतिशत पालिकाको अनुदान र ५० प्रतिशत संचालकको लगानीमा सामुदायिक होम स्टे र होटल सुविधासहितको निजी होम स्टे निर्माण गर्ने लक्ष्य रहेको उपाध्यक्ष डा. मावोले बताउनुभयो ।

‘सिरीजङ्घाको गौरव, कञ्चनजंघा’ लाई मुल नारा बनाएको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा साहसिक पदमार्गलाई नमुना र गौरवको परियोजनाका रुपमा लिएको छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण मनमोहक दृष्य, दुर्लभ बन्यजन्तु, बोटविरुवा अनि लालीगुराँसहरु हेर्दै ८,५८६ मिटर अग्लो विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघाको आधार शिविरसम्म पुग्ने यो पदमार्ग संचालनमा आएपछि बाह्य तथा आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्ने देखिन्छ । उपाध्यक्ष डा. मावो भन्नुहुन्छ, “पदमार्ग पुर्ण रुपमा सञ्चालनमा आएपछि सिरीजङ्घावासी स्थानीय जनताको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ ।”
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


