
पर्वतारोहण, पदयात्रा र बहुआयमिक पर्यटनले “समृद्ध” सिरीजंघा
नेपालको सुदुर पुर्वोत्तरमा अवस्थित ताप्लेजुङ जिल्लामा रहेका १ नगरपालिका र ८ गाउँपालिका गरी कुल ९ स्थानीय तहहरुमध्ये सबैभन्दा पुर्वमा रहेको स्थानीय तह हो – सिरीजंघा गाउँपालिका । ४८१.०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको सीमाना पुर्वमा सिदिङ्वा गाउँपालिका र भारतको सिक्किम राज्य, पश्चिममा पाथीभरा याङवरक गाउँपालिका र फुङलिङ नगरपालिका, उत्तरतर्फ फक्ताङलुङ गाउँपालिका र दक्षिणमा छिमेकी पाँचथर जिल्लासंग जोडिएको छ ।
लिम्बू भाषा, लिपि र मुन्धुमबारे ज्ञान बाँड्दै पश्चिम सिक्किमको मार्ताम गाउँ पुगेका बेला सन् १७४१ मा हत्या गरिएका सिरीजंगा लिपिका पुनरुत्थानकर्ता, महान् प्रचारक तथा मातृभाषाका सहिद त्येअङसी सिरीजंघा सन् १७०४ मा सिरीजंघा गाउँपालिकाकै वडा नं. ४ मा पर्ने तेल्लोकको एउटा ओडारमा जन्मिएका हुन् । उनको योगदानलाई आत्मसात र सम्मान गर्दै साविकका ८ वटा गाउँ विकास समितिहरु, सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, पेदाङ, मामांखे, खेवाङ र याम्फूदिन मिलेर गाउँपालिका बन्दा सिरीजंघा गाउँपालिका नामाकरण गरिएको हो ।
बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक नेपाली समाजको जीबन्त प्रतिबिम्बको रुपमा रहेको सिरीजंघा गाउँपालिकाको शीरमा विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर ८ हजार ५ सय ८६ मिटर उचाइको गगनचुम्बी कंचनजंघा हिमाल छ । बहुआयमिक पर्यटन, जडिबुटी तथा जैविक विविधताका दृष्टिले “अब्बल” यस पालिकाभित्र सघन बसोबास गर्ने लिम्बू जातिको हाक्पारे, पालाम र च्याब्रुङका सुमधुर धुनहरु, हिमाली शेर्पा जातिको स्याब्रु नृत्यसंगै खस, आर्यहरुको संगिनी, सरदेवी र बालन नृत्यहरुले मौलिक संस्कृतिमा सिरीजंघालाई वास्तवमै “समृद्ध” बनाएको छ ।
सिरीजंघाको गौरव, कंचनजंघा
आफ्नो भूगोलभित्र रहेको प्रकृतिको अनुपम वरदान विश्वप्रसिद्ध कंचनजंघा हिमश्रृखला सिरीजंघा गाउँपालिका, ताप्लेजुङको समृद्धिमा “कोशेढुंगा” सावित हुनसक्नेमा पालिका विश्वस्त छ । आफ्नो शीरमा रहेको कंचनजंघा हिमश्रृखलालाई केन्द्रमा राखेर गाउँपालिकाले मूल नारासंगै समृद्धिको “मार्गचित्र” नै तय गरेको छ, “सिरीजंघाको गौरव, कंचनजंघा” ।
अग्ला हिमाल र हिमश्रृखलाहरुले भरिपुर्ण नेपाल आरोहण, पदयात्रा र साहसिक खेलका लागि विश्वकै प्रमुख आकर्षण केन्द्र हो । संसारको सर्वोच्च शिखर सगरमाथासंगै ८ हजार मिटरभन्दा माथिका हाल विश्वमा रहेका आधिकारिक १४ हिमालहरुमध्ये ८ वटा हिमशिखरहरु नेपालमै छन् । पछिल्लो समय नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयअन्र्तगत रहेको पर्यटन विभागले नेपालमा रहेका थप ६ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरुको सुचि पनि सार्वजानिक गरेको छ । यद्यपी यसले अन्तर्राष्ट्रिय स्तरबाट मान्यता पाउने प्रक्रिया भने पुरा भइसकेको छैन । थपिएका हिमालहरुसहित नेपालमा कुल १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरु हुनेछन् जसमध्ये ५ वटा चुचुराहरु कंचनजंघा हिमश्रृखलामै पर्दछन् । जसमा समुन्द्र सतहबाट ८ हजार ५ सय ८६ मिटरको उचाईमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कंचनजंघा(मेन) सहित यालुङ खाङ(८ हजार ५ सय ५ मिटर), कंचनजंघा(साउथ, ८ हजार ४ सय ७६ मिटर), कंचनजंघ(सेन्टर, ८ हजार ४ सय ७३ मिटर) र यालुङ खाङ(पश्चिम, ८ हजार ७७ मिटर) रहेका छन् । यी ५ गगनचुम्बी हिमालहरुमध्ये विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च हिमशिखर कंचनजंघा(मेन), कंचनजंघा(साउथ) र कंचनजंघा(सेन्टर) सिरीजंघा गाउँपालिकामा पर्दछन् ।
आजभन्दा ७ दशकअघि, सन् १९५५ मे २५ मा दुई बेलायती नागरिक George Band र Joe Brownले पहिलो पटक कंचनजंघा हिमालको सफल आरोहण गरेका थिए । त्यसयता सैयौं पर्वतारोहीले कंचनजंघाको चुचुरोमा पाइला टेकिसकेका छन् । नेपाल सरकारद्धारा घोषित कंचनजंघा हिमश्रृखलाअन्तर्गतका थप “शिखर”हरुसंगै यो क्षेत्रमा पर्वतारोहणको अझ प्रचुर संभावना थपिएको छ ।
पदयात्राका लागि “भर्जिन” गन्तव्य
तेन्जिङ नोर्गे शेर्पासंगै पहिलो पटक सगरमाथा आरोहण गर्न सफल सर एकमण्ड हिलारीले कुनैबेला भनेका थिए, “नेपाल पदयात्राका लागि विश्वका सबैभन्दा राम्रा देशहरुमध्ये एक हो ।” संघीय सरकारसंगको लागत साझेदारीमा सिरीजंघा गाउँपालिकाले निर्माण गरेको कंचनजंघाको आधार शिविरसम्म पुग्ने कंचनजंघा साहसिक पदमार्गको यात्राले हिलारीको त्यो वाणीलाई निमेषमै सत्य सावित गरिदिन्छ । पर्वतारोहणसंगै साहसिक पदयात्राका लागि समेत यो क्षेत्रमा अथाह संभावना देखिन्छ । समुद्री सतहबाट २३०० मिटरको उचाइमा रहेको सिरीजंघा गाउँपालिका वडा नं. ८, याम्फूदिनको आम्जी खोलाबाट सुरु हुने यो पदमार्ग नयाँ झोरेनी, दुन्दु डाँडा, चैराम, राम्जेर हुदै ओक्टाङ देउराली पुग्छ । करीव ४७०० मिटरको उचाइमा रहेको ओक्ताङ देउराली, नीलो आकाशमुनिको सुन्दर, शान्त कंचनजंघा हिमश्रृखला दृष्यावलोकनका लागि उत्कृष्ठ स्थल मानिन्छ । पदमार्गहरु लोप हुदै गएको अवस्थामा कंचनजंघा साहसिक पदमार्ग, पदयात्राका लागि नेपालकै एक प्रमुख गन्तव्य बन्ने संभावना उत्तिकै प्रवल छ । यहाँबाट मकालु हिमालदेखि कंचनजंघा हिमश्रृखलासम्मका मनोरम दृष्यहरुको मज्जाले अवलोकन गर्न सकिन्छ । कोलाहल र भागदौडपूर्ण दैनिकी भन्दा पर, प्रकृतिको सामिप्यतामा, आँखै अघि चाँदीझै चुलिएका हिमाल अनि नागवेली पहाडहरु, धरतीमा स्वर्ग भेटेझै अनुभूति पक्कै हुनेछ यहाँ । चैत्र, बैशाखमा यो पदमार्गमा यात्रा गर्दा बनैभरि ढकमक्क फुलेका लालीगराँस, चाँपको मनमोहक सौन्दर्य, चराचुरुङ्गीहरुको मधुर चिरबिर, डाँफे, मुनाल, कस्तुरी, याक, चौंरीदेखि रेड पाण्डा, हिमचितुवाजस्ता दुर्लभ वन्यजन्तुको अवलोकन गर्न पाइन्छ ।

सिरीजंघा पर्यटन महोत्सव २०८२
कंचनजंघा हिमाल र कंचनजंघा साहसिक पदमार्गको प्रचार, स्थानीय याक, चौरीको प्रबर्द्धन, साहसिक खेलहरुको संभाव्यता अध्ययनसंगै अहिलेको विश्वव्यापी चिन्ता र चासोको विषय बनेको जलबायु परिवर्तनको असरबारे स्थलगत अध्ययन तथा सचेतना जगाउने उद्देष्य सहित सिरीजंघा गाउँपालिका, ताप्लेजुङले २०८२ साल बैशाख १३ देखि १५ गतेसम्म कंचनजंघा साहसिक पदमार्गमा पर्ने ३३ सय ७ मिटरको उचाइमा रहेको नयाँ झोरेनीमा सिरीजंघा पर्यटन महोत्सव ०८२ आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको छ । स्थानीय जनताको आर्थिक रुपान्तरणका लागि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देष्यका साथ पालिकाद्धारा आयोजित उक्त महोत्सवअन्तर्गत नयाँ झोरनीदेखि दुन्दु डाँडासम्म दूरी कायम गरिएको प्रथम कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता ०८२, २ घण्टा ६ मिनेट २५ सेकेन्डमा निर्धारीत दूरी पुरा गर्दै सोलुुखुम्बुका अर्जून कुलुङले जितेका थिए । त्यसैगरी जुम्लाका धीरज बुढा मगर र सिरीजंघा गाउँपालिकाकै विभिषण लिम्बूले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए । कंचनजंघा हिमालकै उचाई अर्थात ८ हजार ५ सय ८६ मिटरलाई प्रतिबिम्बित गर्ने गरि घोषित पुरस्कार राशीअनुरुप प्रथम हुने राईले २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, दोस्रो हुने बुढाले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुने लिम्बूले ५८ हजार ५ सय ८६ रुपैयाँ प्राप्त गरे । हाफ म्याराथनमा चौथोदेखि उत्कृष्ठ दसभित्र पर्न सफल धावकहरुलाई सान्त्वना पुरस्कारस्वरुप ८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । स्थानीय, सेनाको त्रिभूवन आर्मी क्लबदेखि पश्चिम कर्णाली प्रदेशसम्मका २६ जना धावकहरुले भाग लिएको कंचनजंघा साहसिक पदमार्गको पहिलो संस्करण ऐतिहासिक बनेको छ ।
महोत्सवकै दौरान कंचनजंघाको दक्षिणी आधार शिविरसम्म पहिलोपल्ट साइक्लिङ पनि गरिएको थियो । धरान माउन्टेन बाइक नेटवर्कका अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाको टोलीले नयाँ झोरेनी, तुरुङदेन, चैराम, राम्जेर हुदै ओक्ताङ देउरालीसम्म साइक्लिङ गर्दे यो क्षेत्र माउन्टेन साइक्लिङका लागि उपयुक्त छ भन्ने सन्देश प्रवाह गरेका छन् जसले नयाँ संभावनाको द्धार खोलेको छ ।
कार्यक्रमको अन्तीम दिन २०८२ साल बैशाख १५ गते सिरीजंघाका चौरीपालक कृषक र याक, चौरीका उत्पादनहरुलाई प्रोत्साहन गर्ने उदेष्यबमोजिम चौरी प्रर्दशन प्रतियोगिता आयोजना गरिएको थियो । स्थानीय राजेश गुरुङको चौरी “मिक्टा”ले प्रतियोगिताको उत्कृष्ठ चौरीका रुपमा २८ हजार ५ सय ८६ रुपैयाँ हात पार्न सफल भयो भने अन्य ३ जना किसानका चौरीलाई सान्त्वना पुरस्कारस्वरुप जनही ८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कारसहित सम्मानीत गरिएको थियो । सिरीजंघा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानको अध्यक्षतामा सम्पन्न महोत्सवको समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि, तथा सहकारी मन्त्री खगेनसिं हाङगाम, अतिथिहरु नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, नेकपा एमाले ताप्लेजुङ जिल्ला सचिव सन्तोष चाम्लिङ, गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावो, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले विजेता धावक, चौरीकृषकहरुलाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
पर्यटन प्रवर्द्धनमा सिरीजंघाले मारेको “फड्को”
पर्यटकिय दृष्टिकोणले व्यापक संभावना बोकेको सिरीजंघा गाउँपालिका आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटकहरुका निम्ति आकर्षक गन्तव्य हो । कंचनजंघा हिमश्रृखला, कंचनजंघा साहसिक पदमार्ग, सिरीजंगा लिपिका पुनरुत्थानकर्ता तथा प्रचारक सहिद त्येअङ्सी सिरीजंगाको तेल्लोकटारस्थित जन्मस्थान, मामांखेमा रहेको लिम्बू संग्राहलय, लिम्बू जातिले आस्थाको केन्द्र मुक्कुमलुङका रुपमा पुज्ने प्रसिद्ध पाथीभरा क्षेत्र जाने पैदल मार्ग, रेडपण्डा, हिमचितुवाजस्ता दुर्लभ वन्यजन्तु, विशिष्ठ जैविक विविधता र स्थानीय धार्मिक, सांस्कृतिक सम्पदाहरुले पर्यटकहरुको पहिलो रोजाइमा सिरीजंघा गाउँपालिका पर्ने कुरामा द्धुविधा छैन । यहाँ रहेका पर्यटकिय स्थलहरुको उचित ढंगले प्रर्वद्धन र प्रचारप्रसार गर्न सकेको खण्डमा सिरीजंघा गाउँपालिकाले पर्यटन विस्तारमा निकै फराकिलो फड्को मार्ने देखिन्छ । प्रथम सिरीजंघा पर्यटन महोत्सव २०८२ त्यो लक्ष्य हासिल गर्न दिशामा एउटा बलियो र प्रभावकारी सुरुवात बनेको छ ।
गाउँ कार्यपालिकाको बैठकले पहिलो पल्ट आयोजना गरिएको सिरीजंघा पर्यटन महोत्सवलाई आगामी बर्षमा पनि निरन्तरता दिने निर्णय गरेको पालिका अध्यक्ष लालकृष्ण चौहानले जानकारी दिनुभएको छ । यो निर्णयसंगै यस पटकका कमिकमजोरीहरुलाई सच्याउदै सिरीजंघा गाउँपालिकालाई बाह्य तथा आन्तरिक पर्यटकहरुको “हब” बनाउने र स्थानीय जनताको आर्थिक समृद्धिमा “सारथी” बन्ने पालिकाको प्रयास थप मजबुत ढंगले अघि बढ्ने अपेक्षा र आशा गर्न सकिन्छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]