गुरुङ स्वशासनको आवाज र मेरो जेलयात्रा – खगेन्द्रजंग गुरुङ, पुर्व सहायक मन्त्री
२०२३ सालको कुरा हो । जिल्ला, अञ्चल पञ्चायतहरुको गठन भइसकेको थियो । आफैले दिएको स्वशासनको वचनबाट राजा महेन्द्र अर्कैतिर मोडिएजस्तो मैले महसुस गरेँ । त्यसपछि मैले एउटा भेला आयोजना गरेँ । सो भेलामा लमजुङको जिल्ला पञ्चायत, गाउँ पञ्चायत देखि लिएर गण्डकी अञ्चलको जति पनि गुरूङ बाहुल्य क्षेत्र छ, त्यहाँँका जिल्ला पञ्चायत सभापति, सदस्य र गाउँ पञ्चायतका प्रधानपञ्चहरु आएका थिए । मेरो भतिजो नरेन्द्रजंग गुरूङमात्र आएन, जो २०१९ सालमा मनाङबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएको थियो । भेलालाई सम्बोधन गर्दै मैले भनेँ, ‘महेन्द्रले तिमीहरुको थातथलोमा तिमीहरुले नै शासन गर्ने हिसाबले व्यवस्था मिलाउन लागिरहेको छु’, भनेका थिए । माओ त्से तुङलाई उनले लेखेको चिठ्ठीमा पनि त्यो कुरा थियो । अहिले राजाले लाइन छोडेजस्तो लाग्छ । हिन्दू राष्ट्र भनेको छ । अब हामीले बोल्नुपर्ने समय आयो है ।’
भेलामा सहभागीहरुले पनि आ–आफ्नो विचार राखेँ । छलफलपछि महेन्द्रले माओ त्से तुङलाई दिएको जुन वचन हो त्यसलाई स्मरण गराउँदै सांकेतिक रुपमा राजाले त्यो वचनलाई पालना गर्नुपर्यो भन्ने हिसावको प्रस्ताव पास गरी राजासामु बिन्तीपत्र पेश गर्ने निर्णय भयो । त्यसमा सबैले सहमति जनाए । राजा भनेको सबैको साझा हो । तिमीहरुको थातथलोको स्वशासन तिमीहरुलाई नै दिन्छु भन्ने सरकारबाट हुकुम बक्सिए अनुसारको व्यवस्था पञ्चायतमा अलि भएजस्तो लागेन । त्यसबारे सरकारबाट विचार गरिबक्सनुपर्यो भनेर हामीले निवेदन लेख्यौँ । त्यसलाई लमजुङ, तनहुँका गाउँ पञ्चायत र जिल्ला पञ्चायतबाट पास गराइयो । अनि त्यो निवेदन लिएर जिल्ला पञ्चायतका सभापति, सदस्य, प्रधानपञ्चहरुसहित हामी ३०, ४० जना काठमाडौँं आयौँ । काठमाडौँ आएको भोलिपल्ट राति मेरो घर त पुलिसले घेरिसकेको रहेछ । म बाहिरबाट घर प्रवेश गर्ने बेलामा मेरो गार्ड रहिसकेको एकजना हवलदार, जुन मेरै घरको मुनि तल्लामा भाडामा बसेको थियो, मलाई देखेपछि उसले हातले इसारा गर्यो तर मैले बुझिनँ । घरमाथि पुगेपछि मेरो भात पकाउने भान्से बाहुनले भन्यो, ‘पुलिसले घर घेरिसकेको छ हजुर ।’ डा. तुलसी गिरीको सालो डिएसपी थियो । मलाई गिरफ्तार गर्न त्यो आएको रहेछ । ‘मन्त्री ज्यू, ल हजुरलाई निम्तो आएको छ’ भन्दै त्यो डिएसपी मेरो सामुन्ने आयो । ‘त्यसोभए निम्तोपत्र देऊन त’ भन्दै मैले ठट्टा गरेँ। मलाई लगेर हनुमान ढोकामा राखे । म समातिए भन्ने खबर फैलिएपछि मसँगै आएका गुरूङहरुमा भागाभाग चल्यो । समातिएकाहरुलाई अञ्चलाधीश कार्यालयमा लगेर माफी माग्छौ कि जेलमा हालेर गोली ठोकिदिऊँ भनेर धम्काएपछि जम्मैले माफी मागेछन् ।
मैले पक्राउ पर्ने बित्तिकै अनसन सुरु गरेँ । अनसन बसेको करीब १९ दिन भइसकेको थियो, राति मलाई वीर अस्पताल ल्याइयो । डा. मृगेन्द्रराज पाण्डे भन्ने शाही चिकित्सक थियो । उसले मलाई भन्यो, ‘यस्तो केटाकेटी काम नगर्नुस् हजुर । हुन्छ भने सजिलैसँग लिनुस् । हैन भने तपाईँँको हातखुट्टा बाँधेर सिरिन्जबाट ग्लुकोज पानी दिन्छु ।’ मलाई झनक्कै रिस उठ्यो र सीधै भनेंँ, ‘ल हान् सुई ! तैँले त्यसरी जबरजस्ती हालिस् भने म झड्का दिन्छु, त्यसले तेरो सुई भाँचिएर मेरो ‘डेथ’ हुन्छ । म मरेँ भने अरु ठाउँको त कुरा छोड्, त्यही नारायणहिटी भित्रको कालीबहादुर पल्टनका कतिले हाम्रो निवेदनमा दस्तखत गरेका छन्, तेरो छोराछोरी र तेरो टाउको काटिएन भने मलाई थुक्क भन् ।’ डराएछ त्यो डाक्टर । मेरो अनसनको २९ औँ दिन भएपछि डा. मृगेन्द्रराज पाण्डेले राजालाई लेखेछ, ‘खगेन्द्रजंगको नसाहरु साह्रै कमजोर भइसकेका छन् । अब दुई दिनपछि त सलाइन दिँदा पनि नसाहरु चुँडिन्छन् । सरकारबाट मरे मरोस् भनिबक्सन्छ भने म त्यही अनुसार गर्छु । त्यसो हैन भने तुरुन्तै उसको अनसन तोडाइनुपर्छ । नत्र उसको ‘डेथ’ हुनसक्छ ।’
मेरो अवस्था साह्रै शिथिल भइसकेको थियो । राणा शासनकालमा विश्वेश्वरप्रसाद कोइराला २१ दिनसम्म अनसन बसेका थिए । मेरो अनसन २९ दिन पुगिसकेको थियो । पछि अञ्चलाधीश त्यँहा आयो र भन्यो, ‘ल ल तपाई छुट्नुभयो ।’ मैले पुर्जी मागेँ । आज शनिवार, कार्यालय बन्द छ भन्दै अञ्चलाधीशले पुर्जी नदिन खोजे तर मैले अडान कायम राखेपछि अन्ततः मलाई पुर्जी दिएर छोडियो ।
म छुटेपछि सनसनी मच्चियो । एक महिना काठमाडौँमा बसेपछि म पहाडतिर लागेँ । तर म घर पुग्नुभन्दा अघि नै गाउँलेहरु जिन्दावाद र मुर्दाबाद भन्दै आउन थालिहाले । भोलिपल्टै आर्मी आइहाल्यो र मलाई पोखरामा लिएर गयो । काठमाडौँमा थुनामा राख्दा ममाथि कुनै अभियोग लगाइएको थिएन । पोखरामा चाहिँ मलाई ‘तपाईमाथि राजकाजसम्बन्धी मुद्दा चलाउनुपर्ने भएको छ । यो बीचको अवधिमा बाहिर राख्दा शान्तिसुरक्षा भंग हुने स्थिति देखिएकाले सुरक्षा कानूनअन्तरगत थुनामा राखिएको छ’ भनिएको थियो । पोखरामा डेढ वर्ष बित्यो तर कुनै मुद्दा चलाइएन । मलाई पुलिसको व्यारेकमा बाहिर छुट्टै राखिएको थियो । त्यहाँँ भित्र धेरै कांग्रेसी र केही कम्युनिस्ट कार्यकर्ताहरु थुनिएका थिए । मलाई उनीहरुसँग भेट्न, बोल्नसमेत दिइएको थिएन ।
पत्रिकाहरुसम्म पढ्न नपाइने त्यो ठाउँमा एकाएक किताब र विभिन्न पत्रिकाहरु मकहाँ आउन थाले । मैले सोचेँ राजाले पठाइदिएका होलान् । पछि थाहा भयो, पोखरामा इन्डियन लाइव्रेरी रहेछ, त्यसले मलाई किताब र पत्रिकाहरु पठाउँदो रहेछ । एक जना मगर त्यो पुस्ताकालयको अध्यक्ष थियो । एकदिन ऊ मलाई भेट्न आयो र सोध्यो, ‘हामीले हजुरलाई जेलमा किताबहरु पठाएका थियौंँ । पाउनुभयो ?’ मैले सोधेँ, ‘किन मलाई पठाउनु भएको त ?’ उसले भारतीय दूतावासबाट पठाइदिनू भनेर खबर आएकोले पठाइदिएको बतायो । मैले धन्यवाद छ भनिदिनू भनेँ । त्यस बखत चीन निकट र इन्डियाविरोधी व्यक्तिको रुपमा मेरो पहिचान बनेको थियो । त्यति हुँदाहुदै पनि उनीहरुको यो व्यवहार देखेर मलाई अनौठो लाग्यो ।
पोखरा जेलमै रहँदा एकदिन एक्कासि मेरो छाती दुख्यो । जेलर थकाली थियो त्यहाँँ । उसको पिताचाहिँ हामीले मनाङमा भन्सार चलाउँदाखेरि कारिन्दा भएर काम गरेको रहेछ । मेरो छाती दुखेपछि डाक्टर बोलाइदिन मैले जेलरलाई भनें । भोलिपल्ट डाक्टर आयो र उसले परीक्षणपछि ‘मुटुमा तपाईँँको केही समस्या छ’ भन्दै दुईवटा इन्जेक्सन निकाल्यो र भन्यो, ‘एउटा इन्जेक्शन अहिले दिन्छु, त्यसले ठीक भए भइहाल्यो नत्र म भोलि आएर अर्को इन्जेक्सन दिन्छु ।’ त्यो इन्जेक्सन दिएर डाक्टर गएको केही समयपछि नै मेरो मुटु त नराम्ररी हल्लिन थाल्यो । बस्नै नसक्ने भएँ । औषधीको ‘रियाक्सन’ होला भन्ने लाग्यो । त्यहाँँ मसँग बोल्ने मान्छे कोही पनि थिएनन् । त्यही जेलमा पुष्पलाल समूहका एक जना नेता टेकनाथ बराल थुनिएका थिए । मैले टेकनाथसँग केही समयका लागि भेट्ने व्यवस्था मिलाइदेऊ न भनेर जेलरलाई अनुरोध गरेँ । उसले पनि कसैलाई मर्जी नहोस्, म पठाइदिन्छु भन्यो, अनि टेकनाथलाई मलाई राखिएको ठाउँमा ल्याइदियो । उनी र म बसेर कुराकानी गर्न थाल्यौँ । बेलुका अलि शान्ति भो मलाई । भोलिपल्ट त्यो डाक्टर आएन । ऊ त प्रेमिकासँग कतै घुम्न गयो रे भन्ने सुनें । जेलरले के भन्यो भने, हिजोको एउटा इन्जेक्सन बाँकी छ हजुर । यहाँभित्र जितसिंह भन्ने एउटा ज्यानमुद्दा परेको गुरूङ छ । ऊ पहिला आर्मीको कम्पाउन्डर थियो रे । त्यसबाट लगाए हुँदैन हजुर ? मैले ठीकै छ भनेंँ ।
जेलरले उसलाई लिएर आयो । उसले यसो हेर्यो र मलाई भन्यो, ‘हजुरलाई ब्लडप्रेसरको समस्या हो । ब्लडप्रेसर भएको बेला यो रगत बढाउने इन्जेक्सन कस्ले दियो ?’ मैले कुरा बुझिनँ । किन, के हुन्छ भनेर सोध्दा त हजुर कसरी बाँच्नुभो ! यस्तो बेला यो इन्जेक्सन दिँदा त एकघण्टा पनि मान्छे बाँच्दैन । नशा फुट्न थालिहाल्छ नि । म झस्किए । टेकनाथले मलाई सुनायो, ‘यहाँ भित्रभित्रै कैदीहरुलाई यसरी नै मार्ने चलन छ । तपाईँँलाई त त्यसो गर्लान् भन्ने ठानेको थिइनँ । तपाईँँमाथि पनि आँट गरेछन् यिनीहरुले !’
त्यसपछि मैले जेलबाटै राजालाई चिठी लेखें, ‘मलाई जेलमै मार्ने प्रयास भयो, सरकार । अब मलाई नछोडेसम्म सुरक्षाका लागि अनसन बस्छु ।’ लगत्तै मैले अनसन सुरु गरेँ । अनसन बस्दाबस्दै मलाई पोखराबाट काठमाडौँं ल्याएर काठमाडौँं उपत्याकाभन्दा बाहिर जान निषेध गरी थुनामुक्त गरियो ।
जेलबाट छुटे पनि मलाई तंग्रिन समय लाग्यो । यसबीचमा त्यो इन्डियन लाइब्रेरीको मान्छे मलाई भेट्न बाराम्बार आउन थाल्यो । पोखराको भारतीय पेन्सन कार्यालयमा एक जना कर्नेल रहेछ । एकदिन ऊ पनि मलाई भेट्न आयो । कुराकानीकै सिलसिलामा उसले ‘एकपटक तपाई इन्डियातिर जान मिल्दैन ?’ भनेर सोध्यो । मैले वास्ता गरिनँ । मैले मन्त्रीबाट राजीनामा दिएपछि कुनै पनि गुरूङलाई महेन्द्रले मन्त्री बनाएका थिएनन् । पछि स्याङ्जाका खड्गबहादुर गुरूङलाई भूमिसुधार सहायक मन्त्री बनाइयो । ऊचाँहि इन्डियनहरुसँग निकट रहेछ । महेन्द्रले त्यो कुरा थाहा पाएपछि उनलाई मन्त्रीबाट हटाए । २००८ सालमा मन्त्री बनेका नरबहादुर गुरूङ पहिलो गुरूङ मन्त्री हुन् । उनीपछि गुरूङ समुदायबाट मन्त्री बन्ने दोस्रो व्यक्ति म हुँ ।
(ऐतिहासिक व्यक्तित्व पुर्व सहायक मन्त्री खगेन्द्रजंग गुरुङसंग पहिलो प्रहरका कार्यकारी सम्पादक अर्जुन मादेन लिम्बुले गरेको कुराकानीमा आधारीत)
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]