नाटक मुक्कुमलुङ आजदेखि सिल्पीमा

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित एवम् रंगकर्मी पवित्र राईद्धारा निर्देशित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति)को मन्चन आजदेखि काठमाडौ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सुरु हुदैछ । नाटक आगामी असोज २० गतेसम्म मंगलबार बाहेक साँझ ५ः१५ बजे र शनिवार दिउँसो १ बजे थप शो समेत हुने बताइएको छ ।


प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गर्नुभएको मुक्कुमलुङमा स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ “केवाफुङ” रहनुभएको छ । नाटकमा रेयर राई, दिपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा, स्मृति कलमर, उज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नाटकमा संजित थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सन्जिव योगीको लाइट डिजाइन रहेको छ ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्ष समेत रहनुभएका डा. चित्र माबोको कथासंग्रह डोलीभर्ना केही समयअघि सांग्रीला बुक्सले बजारमा ल्याएको थियो । पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस बसोबास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयहरुमा लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित छ ।

मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्था केन्द्र एवम् मुन्धुमी थलोका रुपमा मान्ने गर्छन् जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्