चितवनका भित्री सडकमा सवारी दुर्घटना बढी, मृत्यु हुनेको संख्या उच्च

भरतपुर । चितवनमा राजमार्ग र मुख्य सडकमा भन्दा भित्री सडकमा बढी सवारी दुर्घटना हुने गरेको छ । सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि भित्री सडकमा बढी छ । चितवनमा पूर्व–पश्चिम, नारायणगढ–मुग्लिन र पृथ्वी गरी ८६ किमीभन्दा बढी राजमार्ग पर्छ । यद्यपि, भित्री सडकमा नै दुर्घटना र मृत्युदर उच्च रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार जिल्लामा पछिल्लो चार वर्षमा १३ सय ६५ वटा सवारी दुर्घटनाबाट ५३५ जनाको मृत्यु भएको छ । जसमध्ये भित्री सडकमा भएका ४४६ वटा दुर्घटनाबाटमात्रै १७९ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा १३०, नारायणगढ–मुग्लिनमा ९७, पृथ्वी राजमार्गमा ७७ जना र अन्य सहरी सडकमा ५२ जनाको मृत्यु सवारी दुर्घटनाबाट भएको ट्राफिक प्रहरीले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को असोज १० सम्ममा दुर्घटनाबाट २३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । यस अवधिमा भित्री सडकमा १० जना, पूर्व–पश्चिम राजमार्गमा सात जना, नारायणगढ–मुग्लिनमा दुई जना र पृथ्वी राजमार्गमा चार जनाको मृत्यु भएको उनले बताए ।

दुर्घटनाबाट गत आव २०७७/७८ मा १२८, आव २०७६/७७ मा १०७, आव २०७५/७६ मा १४५ र आव २०७४/७५ मा १३२ जनाको मृत्यु भएको थियो । भित्री सडकमा तीव्र गति र लापर्बाहीका कारण दुर्घटनाबाट मृत्यु हुनेको संख्या केही बढी देखिएको ट्राफिक प्रहरी निरीक्षक थापा बताउँछन् ।

५९ लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरीले दुई महिना १० दिनमै ५९ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । चालू आवको असोज १० सम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार ४६५ सवारीसाधनलाई कारबाही गरी ५९ लाख १८ हजार रूपैयाँ राजस्व संकलन गरिएको थापाले बताए ।

कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । एक हजार ८०९ मोटरसाइकलबाट १५ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गरिएको छ । त्यसैगरी, एक हजार ३१० वटा ट्रक/टिप्परबाट १३ लाख ४८ हजार, ७३२ वटा बस/माइक्रोबाट ६ लाख ६७ हजार र एक हजार ५२७ वटा जिप/कारबाट १४ लाख ४९ हजार रूपैयाँ जरिवाना असुल गरिएको छ ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु