
मेघौलीमा फैलियो बाघको आतङ्क
मेघौली । पश्चिम चितवनको भरतपुर–२७, मेघौलीमा बाघको आतङ्क फैलिएको छ । बाघले विगत १०–१२ दिनयता राति–राति गाउँगाउँ डुल्दै बस्तुभाउहरु खाइदिन थालेको छ ।
बाघको आतङ्क बढेपछि आक्रोशित स्थानीयले चितवन राष्ट्रिय निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र भरतपुर–२७ को वडा कार्यालयमा ताला लगाइदिएका छन् । बाघको खोजी छिटोभन्दा छिटो गरेर त्यसलाई नियन्त्रयमा लिन उनीहरुको माग रहेको छ ।
आइतबार राति वयस्क भाले बाघ (पाइलाको नापअनुसार)ले भरतपुर–२७, बुद्धनगरकी स्थानीय रुपा केसीको गोठमा बाँधेको भैँसीलाई आक्रमण गरेको र बाघको आक्रमणले भैँसीको पाडो मरेको स्थानीय मनेष लिम्बूले जानकारी दिए ।
शनिबारका दिन मेघौली मध्यवर्तीअन्तर्गत पर्ने मेघौली, पुरानो पटिहानी र गौतमनगर गाउँमा बाघ हिँडेको पाइला देखिएको भन्दै शनिबार सारङ्ग होटेलको कुकुर पनि खाइदिएको उनले बताए । भदौ ३० गते सामुदायिक वनबाट आएर टाइगर टप्स मोटर ग्यारेजमा बाघ देखिएको र सिजी होटलको हात्तीसारबाट धानबारीमा पसेको बताउँदै हुर्कंदो वयस्क भाले बाघ भएको कारणले त्यसले आफ्नो बासस्थान बनाउने क्रममा यसरी सामुदायिक वन तथा गाउँको खेतबारीमा विचरन गर्ने गरेको उनले बताए ।
पछिल्लो समय बाघले चौपायामाथि आक्रमण गरेर किसानलाई आजित बनाएको भरतपुर–२७ का वडाध्यक्ष गोविन्द तामाङ बताउँछन् । ‘बस्तीभित्र बाघ हिँडिरहेको पाइला देखिने गरेको छ, आक्रमणमा परिने हो कि भनेर स्थानीयहरु अहिले त्रसित छन’, उनले भने ।
विगत १०–१२ दिनयता राति–राति बाघ गाउँमा डुल्ने तथा वस्तुभाउहरु खाइदिने गरेको खबर आइरहेको हुँदा निकुञ्ज प्रशासनका साथै मेघौली गुल्मको सहयोगमा बाघलाई उसैको प्राकृतिक बासस्थानमा फर्काउन कोसिस भैरहेको भए पनि सोमबार भने दिउँसै देखिएको खबर आएपछि बाघलाई नियन्त्रणमा लिन हात्तीसहितको टोली परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालले बताए । टोली रातभरि सक्रिय रहने बताउँदै वार्डेन बरालले छिटै बाघ समातिने विश्वास व्यक्त गरे ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]