चितवनमा आज रातिबाट निषेधाज्ञा
भरतपुर । भरतपुर महानगरपालिकाले बैसाख १७ बिहिबार राति ठिक १२ बजेदेखि निषेधाज्ञा गरेकाे छ । विश्वभरि महामारीको रुपमा फैलिरहेको नयाँ भेरिएन्ट सहितको कोभिड १९ को सङ्क्रमण यस जिल्लामा समेत तीव्र रुपमा बढ्दै गएको छ । सोको नियन्त्रण र रोकथामका लागि जिल्लामा कोभिड–१९ को सङ्क्रमण जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा भइरहेका प्रयास सङ्क्रमणको विद्यमान जोखिम, जिल्लास्थित अस्पतालहरुको उपचार क्षमता, सङ्क्रमितहरुको चाप, सङ्क्रमण बढाउने भीडभाडजन्य गतिविधि, नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख १३ गते भएको निर्णय, सरोकारवालाको राय सुझावसमेतको आधारमा उक्त निर्णय भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । निषेधाज्ञा बैशाख ३१ राति ठिक १२ बजेसम्म लागू हुने गरि निषेधाज्ञा गर्नै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहिले जानकारि दिनुभयाे । बुधबार जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारि प्रेमलाल लामिछानेकाे अध्यक्षतमामा बसेकाे जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले कोरोना जोखिम नियन्त्रणका लागि भन्दै उक्त निषेधाज्ञा लागू गरिएको हो । चितवनमा कोरोना संक्रमितको संख्या ५०० नाघेसँगै निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) चितवनका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए । खाद्य सामग्री, तरकारी, फलफूल, दूध, ग्यास, पेट्रोलबाहेकका सेवा तथा बिक्री केन्द्र बन्द हुने भएको छ । सिनेमा हल, पार्टी प्यालेस, दोहोरी घर, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, जिम हल, स्पा, ब्युटी पार्लर, सैलुन, टेलरिङ, स्वीमिङ पुल र फुटपाथ पसल सञ्चालन गर्न नपाइने भएको छ ।
पठनपाठन र परीक्षा सञ्चालन गर्न नपाइने, बिहे घरमा मात्र गर्न पाइने र बढीमा १५ जनाको उपस्थितिमा गर्न पाइने, दाहसंस्कारमा जाँदा सवारीसाधनका लागि प्रशासनसँग अनुमति लिनुपर्ने, लामो तथा छोटो दूरीका सार्वजनिक र निजी सवारी प्रयोग गर्न नपाइने, धार्मिकस्थलमा जमघट गर्न नपाइने, जंगल सफारी र जलयात्रा, अत्यावश्यक कार्यालयबाहेक अन्य कार्यालयका सेवा बन्द हुने भएको छ ।
अत्यावश्यक काममा बाहेक कोही घर बाहिर ननिस्कन तथा जथाभावी हिँडडुल गर्नमा रोक लगाइएको छ । अत्यावश्यक काम परी निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, तोकिएका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्न सो बैठकले आह्वान गरेको छ ।
त्यस्तै, राष्ट्रिय जनगणना २०७८ को हकमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ । चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनमा हुने सबै प्रकारका जंगल सफारी तथा नारायणी र राप्ती नदीमा हुने जलयात्रा सञ्चालन गर्न नपाइने भएको छ ।
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, इन्टरनेट, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास र पेट्रोल, तरकारी तथा फलफूल, खाद्यान्न, दुग्ध, औषधि, पशुपक्षीको दाना, माछामासु, अण्डा र पानीसम्बन्धी सेवाहरु सञ्चालन गर्न पाइने भएको छ । उद्योग कारखानाका मजदुरले जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्ने, उनीहरुको आवास व्यवस्था उद्योगले नै गर्ने र त्यो सम्भव नभएमा मजदुर आवतजावत सम्बन्धित उद्योगले मिलाउने निर्णय गरिएको छ ।
एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्य सामग्री बोक्ने साधन, कूटनीतिक नियोगका साधन, मालवाहक साधन, निर्माण सामग्री ढुवानी साधन, अत्यावश्यक काम तथा सरकारी कामका लागि प्रयोग हुने सवारीसाधन सञ्चालन गर्न पाइने सहायक प्रजिअ शाहीले बताए ।
बैंकको एटिएम सञ्चालनमा प्रयोग हुने सवारीसाधन, समाचार संकलनका लागि सूचना विभागबाट जारी हुने सवारीसाधन, कृषि उपज तथा औजार ढुवानी साधन र प्रशासनबाट अनुमतिप्राप्त साधन चल्न पाउनेछन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
Hora