बाइकमा हिँड्दाहिँड्दै खुकुरी प्रहार, ३ महिनापछि समातिए युवा संघका पूर्वजिल्ला अध्यक्ष

प्रहरीका अनुसार भण्डारीले २०६६ सालमा नेपाल कमर्स क्याम्पस (एनसीसी) का अखिल अध्यक्ष भुपेन्द्र शाहलाई पनि खुकुरी हानेका थिए । घटनामा डेढ वर्ष फरार भएका उनी पछि अदालत हाजिर भएर छुटेका थिए । २०६४ सालमा बालकुमारीको एनसीआरटी क्याम्पसमा ६५ वर्षीय वृद्धलाई खुकुरी हानिएको घटनामा पनि उनी जोडिएका थिए ।

 

२३ जेठ, काठमाडौं । मंगलसेन नगरपालिका–३, अछामका कमनसिंह बोगटी २७ फागुन २०७८ को दिन बिहान साढे ८ बजे सधैँझैँ सेतोपुलबाट बानेश्वरस्थित जिम सेन्टर जाँदै थिए ।

करिडोरको बाटो हुँदै आएका उनको मोटरसाइकलको गति बानेश्वर हाइटको उकालो लाग्दा कम भयो, त्यहीबेला पछाडिबाट मोटरसाइकलमा आएकाले उनलाई खुकुरी हानी हाले ।

‘मैले के भइरहेको छ भन्ने नै भेउ पाइन,’ बोगटी भन्छन्, ‘स्पीड ब्रेकर छ, उकालोमा मोटरसाइकल स्लो भयो । पछाडि दुईवटा मोटरसाइकल र स्कुटर आइरहेको याद छ ।’ त्यही मोटरसाइकल र स्कुलमा आएको समूहले उनलाई खुकुरी प्रहार गरेको उनको भनाइ छ ।

बोगटी लडेपछि उनीहरु त्यहाँबाट निस्किए, एकजनाले उनलाई उद्धार गरेर सिभिल अस्पताल पुर्‍याए । आक्रमणबाट ढाड, हात र खुट्टामा गहिरो चोट लागेकाले उनले ४४ वटा टाँका लगाउनु पर्‍यो ।

‘अहिले पनि त्यो दिन सम्झँदा अत्तालिन्छु,’ उनले अनलाइनखबरसँग भने । आक्रमण गर्नेमध्ये एकजना बोगटीले चिनेकै व्यक्ति थिए । ‘युवा संघ अछामको पूर्वअध्यक्ष कपिल भण्डारीसहितको समूहले आक्रमण गरेको हो, मैले त्यसबेलै प्रहरीमा पनि जाहेरी दिएको थिएँ,’ उनी भन्छन्, ‘खासमा भण्डारी राजनीतिक पृष्ठभूमिका पनि होइनन्, नेकपा भएका बेला उनलाई जिम्मेवारी दिइएको थियो ।’

खुकुरी हानेको तीन महिनासम्म उनी फरारै रहे । हालै उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उनलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर भन्छन्, ‘उनी खासमा राजनीतिक आवरणमा गुण्डागर्दीमा संलग्न रहेछन्, पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’

Sagoon Host

एसएसपी कुँवरका अनुसार ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ । घटनामा संलग्न थप व्यक्तिको अहिलेसम्म पहिचान खुलेको छैन । कुँवर थप्छन्, ‘उनीमार्फत पनि अन्य व्यक्तिबारे खुल्नसक्छ, यद्यपि, अन्य पाटोबाट पनि अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार भण्डारीले २०६६ सालमा नेपाल कमर्स क्याम्पस (एनसीसी) का अखिल अध्यक्ष भुपेन्द्र शाहलाई पनि खुकुरी हानेका थिए । घटनामा डेढ वर्ष फरार भएका उनी पछि अदालत हाजिर भएर छुटेका थिए । २०६४ सालमा बालकुमारीको एनसीआरटी क्याम्पसमा ६५ वर्षीय वृद्धलाई खुकुरी हानिएको घटनामा पनि उनी जोडिएका थिए ।

पेशाले ‘इन्भाइरोमेन्ट कन्सल्ट्यान्ट’ भण्डारी पनि युवा संघसँग जोडिएका व्यक्ति हुन् । प्रहरीका अनुसार उनी र कपिलबीच अछाममा पार्टीको अधिवेशनका बेला विवाद भएको थियो । ‘त्यतिबेला कपिलले रड हानेका रहेछन्, बोगटीले पनि प्रतिकार गरेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसैको बदलामा घटना भएको जस्तो देखिन्छ ।’

20% OFF SAGOON

हालै युवा संघका संयोजक किरण पौडेलले प्रेस विज्ञप्ति निकालेर भण्डारीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

यो घटनाको एकसातापछि शंखमुलमा पनि खुकुरी प्रहारको अर्को घटना सार्वजनिक भएको थियो । अपराध अनुसन्धानका कार्यालयका प्रमुख कुवँर भन्छन्, ‘खुकुरी प्रहारका घटना बढेपछि सुक्ष्मरुपमा अनुसन्धान र निगरानी गरिरहेका छौं ।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु