
लिम्बू संस्कार र संस्कृतिमा आधारित चलचित्र ‘मगनी’ बन्ने, बैशाखमा छायांकन
काठमाडौं। लिम्बू समुदायको मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक जीवनमा आधारीत नेपाली कथानक चलचित्र ‘मगनी’ निर्माण हुने भएको छ।
अम्लरी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने सो चलचित्रले केही समय अघिमात्र चलचित्र विकास बोर्डमा आधिकारीक रुपमा दर्ता भई छायांकन अनुमति प्राप्त गरिसकेको छ ।

गायक तथा संगीतकार मनी ताम्लिङको निर्माण, कथा तथा निर्देशन रहने चलचित्र ‘मगनी’मा लिम्बू समुदायको परम्परागत संस्कार तथा सामाजिक मान्यताभित्रको प्रेम, सम्बन्ध, पारिवारिक जिम्मेवारी र सांस्कृतिक परम्परालाई मुख्य कथाको रुपमा प्रस्तुत गर्दै मौलिक नेपाली समाजको एउटा महत्वपूर्ण पक्षलाई पर्दामा उतार्ने लक्ष्य राखेको निर्माण टिमले जानकारी दिएको छ ।
आगामी बैशाख महिनादेखि छायांकन सुरु हुने चलचित्र मगनीका लागि हाल तीव्र गतिमा कलाकार तथा प्राविधिकहरु छनोट प्रक्रिया चलिरहेको निर्देशक ताम्लिङले बताउनुभयो । सो चलचित्रको छायांकन नेपाल र भारतको सिक्किम राज्यमा हुनेछ । नेपालतर्फ पाँचथर जिल्लाका विभिन्न स्थानहरु एवम् सिक्किमतर्फ पश्चिम सिक्किम जिल्लाको हि गाउँ र चिवाभञ्ज्याङ क्षेत्रमा छायांकन गरिने निर्माण पक्षले बताएको छ ।
नेपाल र सिक्किमको भौगोलिक तथा सांस्कृतिक परिवेशलाई समेत जोड्दै निर्माण हुन लागेको ‘मगनी’ ले लिम्बू समुदायको मौलिक संस्कार, संस्कृतिलाई चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखेको निर्देशक मनि ताम्लिङले जानकारी दिनुभयो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



