चार महिनामा ८२ हजार बाइक–स्कुटर आयात

सडकमा मोटरसाइकल–स्कुटरको घन्चोमन्चो बढ्यो

चिसो बढेकाले बाइक बिक्रीका हिसावमा यो समयलाई ‘अफ सिजन’ मानिन्छ । तर, बाइक सोरुमहरुमा पुग्ने ग्राहक भने गत वर्षको यही अवधिको तुलनामा कम छैनन्

२१ मंसिर, काठमाडौं । अहिले धेरैजसो व्यापार व्यवसाय कोभिड–१९को महामारीबाट प्रभावित छन् । कोभिडकाबीच मन्दीको ठूलो मार नखेपेका केही व्यवसाय पनि छन् । लकडाउन खुलेलगत्तै चम्किएको त्यस्ता व्यवसायमध्ये एक हो– दुईपांग्रे सवारीसाधन (बाइक/स्कुटर)को ब्यापार ।

भन्सार विभागको अनुसार, साउनदेखि कात्तिकसम्म ८१ हजार ९९४ वटा मोटरसाइकल र स्कुटर नेपाल भित्रिएका छन् । असारमा लकडाउन खुल्दा पनि हजारौं मोटरसाइकल र स्कुटर मौज्दातमा थुप्रिएका थिए । साउनपछि मोटरसाइकल–स्कुटरको बिक्री बढ्दा आयातले गति लियो ।

गत वर्ष साउनदेखि कात्तिकसम्म ९६ हजार दुईपांग्रे सवारी साधन आयात भएकोमा यसपटक सोही अवधिमा करिब ८२ हजार भित्रिनुलाई ब्यापारीहरु वास्तवमा महामारीकै देन मान्छन् ।

मूल्यका हिसाबले ४ महिनामा ७ अर्ब २७ करोडको मोटरसाइकल भित्रिएको छ । त्यसबाट सरकारले ७ अर्ब ८४ करोड भन्सार राजस्व असुल गरेको छ ।

लकडाउन खुलेपछि पनि महामारीका कारण सार्वजनिक यातायात सहज नहुँदा दुईपांग्रे गाडीको ब्यापार चम्कियो । त्यसैले तुरुन्तै आयात बढेको नेपालमा यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवि शाह बताउँछन् ।
चैतदेखि असारसम्म बिक्री रोकिएको कारण पनि साउनदेखि बजारमा ठूलो माग आएको उनी बताउँछन् । ‘त्यसैले कात्तिक १५ पछाडि बजार चैतअघिको अवस्थामा फर्किन थाल्यो,’ शाह भन्छन् ।

चैत ११ मा लकडाउन भएपछि बन्द भएको मोटरसाइल सोरुमहरु असार १ मा सरकारले ‘लुजडाउन’ गरेपछि खुल्न थालेका थिए । त्यही दिनबाटै मोटरसाइकल किन्ने ग्राहक देखिन थाले । मोटरसाइकल किन्नेका लागि ‘अफ सिजन’ मानिने असार महिनामै सामान्य अवस्थाको तुलनामा दोब्बरसम्म बिक्री बढेको शाह बताउँछन् ।

Sagoon Host

लकडाउन खुलेपछि एकाएक बढेको माग धान्न नसकेर कतिपय कम्पनीले ग्राहकहरुलाई रित्तै फर्काए । एउटा जापानी कम्पनीको बाइक बिक्रेता कम्पनीले मागअनुसार आपूर्ति गर्न नसकेपछि बिक्रीका आधारमा उसको ‘पोजिसन’ नै अर्को कम्पनीले लियो ।

‘लकडाउन खुल्नासाथ माग यसरी आयो कि हेर्दाहेर्दै मौज्दात सकिहाल्यो’, सो जापानी बाइक बिक्रेता कम्पनीका एक अधिकारी नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘त्यसपछि हामीले मगाएको थप बाइक आउँदासम्म हाम्रा ग्राहकले बजारमा उपलब्ध अरु नै किनिसकेका थिए ।’

समग्र कारोबारलाई भने लकडडाउन खुलेपछि कम्पनीपिच्छेका अफर अभियानले पनि उकास्यो । दशैंतिहारमा बाइक बिक्री गत वर्षहरुको भन्दा राम्रो भयो ।

20% OFF SAGOON

अझै गज्जबको ब्यापार

चिसो बढेकाले बाइक बिक्रीका हिसावमा यो समयलाई ‘अफ सिजन’ मानिन्छ । तर, बाइक सोरुमहरुमा पुग्ने ग्राहक भने गत वर्षको यही अवधिको तुलनामा कम छैनन् ।

महामारीबीच यस्तो अवस्था पनि आउला भनेर मोटरसाइकल आयात गर्ने र नेपालमै एसेम्बल गरेर बेच्ने कुनै पनि कम्पनीले सोचेकासम्म थिएनन् । अझै पनि कम्पनीहरु धेरैभन्दा धेरै बाइक बेच्न अफरसहित विभिन्न जोडबल गरिरहेकै छन् ।

बजाजका उत्पादन बेचिरहेको ‘एचएच बजाज’का डिजिटल मार्केटिङ अफिसर ऋषभ श्रेष्ठ लकडाउन खुलेपछि गति लिएको बिक्री अझै पनि सन्तोषजनक रहेको बताउँछन् ।

त्यस्तै, हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङकी मिडिया संयोजक शितल दाहाल भन्छिन्, ‘महामारीकै बिच अहिले पनि सोरुमहरुमा ग्राहकको राम्रो उपस्थिति छ ।’ सबैतिर ग्राहकको संख्या राम्रो भएपछि बजारमा स्वस्थ प्रतिस्पर्धा कायम भएको उनको भनाइ छ ।

किन खस्किएन ब्यापार ?

बिक्रेताहरु मोटरसाइकल–स्कुटरको ब्यापार राम्रो भइराख्नुको कारण कोरोना महामारीलाई नै मान्छन् ।

सरकारले असार १ पछि सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली लागु गरेपछि तीनखाले ग्राहक मोटरसाइकल–स्कुटरको शोरुम पुगे । घरमा एउटा मात्र सवारी साधन भएकाहरुलाई जोर–बिजोर दुवै हुने गरी व्यवस्थापन गर्नु थियो । कार भएकाहरुले पनि अप्ठेरो पर्ने दिनका लागि बाइक वा स्कुटर किने ।

सार्वजनिक सवारीमै कार्यालय आउ–जाउ गर्नेहरुले पनि मोटरसाइकल वा स्कुटर किने । सार्वजनिक सवारीमा भर परिरहेका कर्मचारीदेखि घरमै उद्यम गर्नेहरुले यही बेला बाइक या स्कुटर किने ।
अहिले सार्वजनिक सवारीको यात्रा सहज भएपनि पनि दुईपाङ्ग्रे सवारीको बजारमा मन्दीको कुनै छनक छैन । सडकमा पनि गत वर्षको यही अवधिमा भन्दा मोटरसाइकल–स्कुटरको घन्चोमन्चो बढी छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु