
महामारीको समाजशास्त्र : अब आन्दोलन हुन सक्छ
‘कोरोनाका बेला सरकारले अभिभावकको भूमिका खेल्न सकेन’
स्थानीयस्तरमै बसोबास गरिरहेकाले बाहिरबाट फर्किएका माथि विभिन्न स्वरुपमा दुर्व्यवहार गरिरहेका छन् । जस्तै गाउँ छिर्न नदिने, छिरेमा भेटघाट नगर्ने, सार्वजनिक धारा, कुवाको प्रयोग गर्न नदिने जस्ता दुर्व्यवहार बाक्लै देख्न सकिन्छ । यसरी हेर्दा नेपाली समाजमा रहेको बलियो सामाजिक सम्बन्ध र ऐक्यवद्धतालाई विस्तारै कमजोर बनाउँदै लगेको देखिन्छ ।
सीमाना आसपासमा बसोबास गर्ने नागरिकले छिमेकी देशले आफ्ना नगारिकलाई दिएको राहत देखेका छन् । यसले नागरिकलाई राज्य विहिनता तथा अभिभावकविहीनताको अनुभव गराइरहेको छ । राज्यमाथिको नागरिक विश्वास अझ टुटेको छ । आफ्ना लागि आफैले मात्र गर्ने रैछ, राज्यले केही गर्दैन भन्ने सोच बढाएको छ ।
नेपालमै पनि शासकीय शैलीबाट नागरिक निसास्सिएका छन् । आक्रोशित छन् । निर्वाचन आउन अझै करिब दुई वर्ष बाँकी छ । पार्टीहरूको महाधिवेशन पनि समयमा हुने अवस्था छैन । यदि यो अवस्था अझ लम्बियो भने सरकारले जर्वजस्ती गर्ने र नागरिकले त्यसविरुद्ध प्रतिकार गर्ने अवस्था आउने देखिन्छ ।
अहिलेको महाब्याधिले हाम्रो जनस्वास्थ्यको अवस्था, विद्यमान उपलब्ध स्वास्थ्य सेवाको हैसियत देखाइदिएको छ । सार्वजनिक स्वास्थ्य सेवा कति कमजोर छ भन्ने प्रष्ट्याइदिएको छ । स्वास्थ्य क्षेत्रमा भद्दा निजीकरणको असर के हुन्छ ? निजी क्षेत्रबाट खुलेका उच्चस्तरीय सुविधा सम्पन्न अस्पताल भन्दा सार्वजनिक अस्पताल कति महत्वपूर्ण हुन्छ भन्ने पनि प्रष्ट्याइदिएको छ ।
३० असोज, काठमाडौं । नेपाली समाज र खासगरी भ्रष्टाचारको विषयमा कलम चलाउँदै आएका समाजशास्त्री दिपेश घिमिरे कोभिड १९ महामारीका बेला सरकारले अभिभावकको भूमिका खेल्न नसकेको बताउँछन् । अब नेपालमा ‘डरलाग्दो आन्दोलन’ हुन सक्ने उनको विश्लेषण छ ।
घिमिरे त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसँगको सहलेखनमा ‘समाज र भ्रष्ट्राचारः कारण, आयाम परिणाम) र ‘दि मेनस रिफ्लेक्सन एण्ड एण्टी करपसन इन नेपाल’ पुस्तक लेखेका उनका ‘पोलिटिकल करप्सन इन नेपाल’ र ‘रिफ्लेक्सन अफ नेपलिज सोसाइटी’ लगायत ५ पुस्तक प्रकाशित छन् ।
प्राध्यापन, पुस्तक लेखनका साथसाथै अनुसन्धानमा सक्रिय घिमिरेले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले नेपाली समाजलाई पारेको प्रभावबारे अनुसन्धान गरिरहेका छन् । प्रस्तुत छ, उनै घिमिरेसँग महामारीमा नेपाली समाज र कोरानापछिको सम्भावित अवस्थाबारे अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानी :
महामारी जनस्वास्थ्यको मात्र विषय हो कि सामाजिक–राजनीतिक पनि ?
सामान्य आँखाले हेर्दा कुनै पनि रोग जनस्वास्थ्यको विषय मात्रै हो जस्तो लाग्छ । संक्रमण फैलनु, बिरामी हुनु जनस्वास्थ्यको विषय त हो तर त्यो भन्दा बढी सामाजिक अनि राजनीतिक सवाल पनि हुन् । सामाजिक यो अर्थमा हो कि यस किसिमको भाइरसको उत्पत्तिदेखि संक्रमण फैलिनु, मृत्यु हुनुका पछाडि खास सामाजिक कारणहरू छन् ।
विभिन्न अध्ययनले कोरोनाजस्ता विभिन्न भाइरसहरु मानवीय क्रियाकलापको कारण सिर्जित समस्या हो भन्ने देखाएका छन् । चीनको वुहानमा देखिएको केहि समयमै संसारभरी फैलनुमा समकालीन विश्वले अवलम्बन गरिरहेको विश्वव्यापीकरणको भुमिका छ । सम्बन्धित देशको स्वास्थ्य नीति, स्वास्थ्य सेवाको अवस्था लगायतका सवालले यसको मृत्युदरमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

यसैगरी, कोरोनाको संक्रमण फैलिनु वा नियन्त्रण हुनुमा राजनीतिक दर्शन, नियन्त्रणका लागि भएका पहल, सरकारको नेतृत्व, समाजले अवलम्बन गरेका सामाजिक मूल्य मान्यता लगायतका सवालको भूमिका महत्वपूर्ण देखिन्छ । यसर्थ, महाव्याधि आफैंमा स्वास्थ्यसँग सम्बन्धित मात्र नभएर सामाजिक तथा राजनीतिक विषय पनि हुन् ।
कोरोना महामारीले नेपाली समाज र यसका सामाजिक सम्बन्धलाई कत्तिको प्रभावित बनाइरहेको छ ?
कोरोना भाइरसले समाजमा बहुआयामिक असर पारेको छ । यस्तो असर स्थानपिच्छे फरक छ । समाज, त्यसभित्रको सामाजिक बनोट, सम्बन्ध, सञ्जाल, चेतना, बुझाइ, राज्य तथा सरकारको उपस्थितिलगायतले यसमा प्रत्यक्ष रुपमा प्रभाव पारेको छ ।
कतिपय समाजमा कोरोना संक्रमित हुनु नै सामाजिक अपराधको रुपमा लिने गरेका छन् भने कतिपय समाजमा यसलाई सामान्य रुपमा लिएका छन् । नेपालमा कोरोना संक्रमितको कुरै छाडौ विदेशबाट फर्किनेहरूलाई समेत बाटोमा काँडेतार लगाउने, बाटो बन्द गर्ने, सार्वजनिक स्थानमा प्रवेश निधेष गर्ने जस्ता हर्कत भइरहेका छन् । ग्रामीण क्षेत्रजस्ता बलियो सामाजिक सम्बन्ध र सञ्जाल भएका स्थानमा विद्यमान सामाजिक एकता, सद्भाव, सरसहयोगलाई कोरोनाले निकै डरलाग्दो असर पारेको छ ।
विगतमा एचआईभी एड्स संक्रमितहरूलाई गरिए जस्तै दुर्व्यवहार कोरोना संक्रमित वा संक्रमण हुन सक्ने सम्भाव्य क्षेत्रबाट फर्किएकाहरूले भोग्नुपरिरहेको छ । ग्रामीण क्षेत्रमा यो अवस्था भयावह देखिन्छ भने शहरी क्षेत्र पनि त्यसबाट अछुतो छैन । केहि समय अगाडि काठमाडौमै डाक्टर तथा नर्समाथि भएका दुर्व्यवहार यसको उदाहरण हो ।
कोरोनाले समाजलाई विभाजित बनाइदिएको छ । हाम्रो गाउँघरमा अहिले एउटा बाहिरबाट फर्किएका र अर्काे स्थानीयस्तरमै बसिरहेका गरी दुईवटा समुह देख्न थालिएको छ । स्थानीयस्तरमै बसोबास गरिरहेकाले बाहिरबाट फर्किएका माथि विभिन्न स्वरुपमा दुर्व्यवहार गरिरहेका छन् । जस्तै गाउँ छिर्न नदिने, छिरेमा भेटघाट नगर्ने, सार्वजनिक धारा, कुवाको प्रयोग गर्न नदिने जस्ता दुर्व्यवहार बाक्लै देख्न सकिन्छ । यसरी हेर्दा नेपाली समाजमा रहेको बलियो सामाजिक सम्बन्ध र ऐक्यवद्धतालाई विस्तारै कमजोर बनाउँदै लगेको देखिन्छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार, पर्यटन आदिमा पारेको प्रभाव त सहजै देख्न सकिन्छ । यसको असरलाई त खोप तथा उपचार पत्ता लागेसँगै अझ परिस्कृत स्वरुपमा पूर्ववत रुपमा फर्काउन सकिएला । तर, सामाजिक क्षेत्रमा पारेको प्रभावको असरचाहिँ लामो समयसम्म रहिरन्छ ।
यस्ता समस्या आउनुका प्रमुख कारण के हो ?
यसका पछाडि धेरै कारण हुन सक्छन् । पहिलो त कतिपय सञ्चारमाध्यमले कोरोना भाइरसका बारेमा प्रवाह गरिरहेका सूचनाहरू बढाई चढाई गरिएका छन् । दोस्रो– हाम्रो राज्य संयन्त्रमाथिको नागरिक विश्वास निकै कमजोर छ । राज्य संयन्त्रले जे भने पनि नागरिकले नपत्याउने, बरु युट्युब, फेसबुक र ट्विटरमा राखिएका अतिरञ्जनयुक्त कुरा पत्याउने तहमा पुगेका छन् ।
तेस्रो– शैक्षिकस्तर तथा चेतनास्तरले पनि फरक पारेको छ । यसको प्रत्यक्ष मारमा हाम्रोजस्तो बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देशहरू परेका छन् । कहिले कुनै धर्म जोडेर, कहिले कुनै जातलाई जोडेर, कहिले कुनै क्षेत्रलाई जोडेर सार्वजनिक हुने अफवाहहरूले सामाजिक सद्भाव र एकतालाई डरलाग्दो प्रभाव पारिरहेको छ ।
यो छोटो समयमा विश्वमा कोरोनासम्बन्धी धेरै अध्ययन अनुसन्धान भइसकेका छन् । पश्चिमा समाज यस्ता अनुसन्धानको निष्कर्षको आधारमा नागरिकले आफ्नो धारणा बनाइरहेका छन् । कोरोना संक्रमणको सुरुवाती दिनमा यसको बारेमा पश्चिमा समाजमा जस्तो धारणा थियो, ६ महिनाको अवधिमा त्यो धारणामा आकाश–जमिनको अन्तर छ ।
बन्दाबन्दीको समयमा ज्ञान निर्माणको थलो विश्वविद्यालय पूर्णरुपमा बन्द गरियो । अनुसन्धान केन्द्रहरूमा ताल्चा लागे । यसले हाम्रो आफ्नै माटो सुहाउँदो ज्ञान निर्माणको प्रक्रियालाई असर पार्यो । आफैं खोजी गरेर बुझ्ने प्रयास नगर्ने, सरकारी संयन्त्रमाथि विश्वास नगर्ने, सूचनाको आधिकारिकता पुष्टि नहुँदै बहकिने चरित्र बोकेको नेपाली समाजमा कोरोनाले सामाजिक सद्भाव र एकतामा असर पारेको छ ।
बन्दाबन्दी तथा निषेधाज्ञाले सामाजिक संस्कार संस्कृतिमा कस्तो असर पारिरहेको छ ?
कोरोनाले मानवीय जीवन निर्वाहका समग्र पद्दतिलाई नै असर पारेको छ । बन्दाबन्दी र निषेधाज्ञाले सामाजिक संस्कार, संस्कृतिलाई प्रत्यक्षरुपमा प्रभाव पारेका छन् । आफन्तलाई निमन्त्रणा नै नगरिकन आउजाउँ गर्ने दसैं जस्ता चाडपर्व छन् । त्यसमा भित्री मनदेखिनै स्वागत गर्ने संस्कृतिलाई यसले असर पार्नेछ ।
योभन्दा महत्वपूर्ण असरचाहिँ हाम्रो ग्रामीण क्षेत्रमा देख्न सकिन्छ । साँझपख घरमा आएका व्यक्तिलाई देवताका रुपमा लिएर स्वागत गर्ने, कोही मानिस घरमा आइपुगे हार्दिकताका साथ मीठो मसिनो खुवाएर पठाउने नेपाली संस्कारमा यसले बदलाब ल्याइदिएको छ । अहिले कोही नआइदिए हुन्थ्यो भन्ने मात्र होइन, आएर पानी मागे पनि ढोका थुन्ने अवस्था बनेको छ । छिमेकीलाई केही अप्ठ्यारो परेमा विनाशर्त तत्काल सहयोग गर्न तत्पर हुने बलियो सामाजिक सम्बन्ध भएको हाम्रो समाज अहिले देखेको नदेख्यै गर्न थालेको छ ।
सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा सामाजिक भेला हुनैपर्ने, जात्रा पर्व मनाउनै पर्ने किन ?
सरकारले कोरोना नियन्त्रणका लागि भनेर लामो समय बन्दाबन्दी गर्यो । पछि काठमाडौ उपत्यकाभित्र स्थानीय प्रशासनले निषेधाज्ञा पनि जारी गर्यो । करिब ६ महिना नागरिकले यस अवस्थाको सामना गरे । यस बीचमा धेरै चाडपर्व सामुदायिक कामका लागि भेला हुने, छलफल गर्ने, मेला चाडपर्व मात्र होइन विवाह ब्रतबन्ध जस्ता कार्यमा पनि भेला हुने अवस्थामा कमी आयो । तथापि यो पूर्णरुपमा नियन्त्रणमा भने आएन ।
यसबीचमा दुर्गम दार्चुलादेखि सुगम दरबारमार्गसम्म यस्ता गतिविधिहरू कुनै न कुनै रुपमा भए । यसका धेरै कारण हुन सक्छन् । दुर्गम क्षेत्रमा यस्तो कार्य हुनु र सुगम क्षेत्रमा हुनुमा भिन्न–भिन्न कारण छन् । दुर्गम क्षेत्रमा हामीले नागरिक शिक्षा पुर्याउनै सकेनौं । सरकारको बलियो उपस्थिति पनि भएन । उनीहरूले सूचना पाउने भरपर्दो स्रोत पनि भएन । सरकारले प्रतिवन्ध लगाएको कुरा आम सञ्चार माध्यमबाट सुनेर मात्र व्यक्तिले त्यसलाई आत्मसाथ गर्न सक्दैनन् । दुर्गम गाउँमा सरकारको उपस्थिति देखाउने भनेको स्थानीय गाउँपालिका तथा नगरपालिकाका वडाले हो । त्यस्ता निकायहरूले प्रभावकारीरुपमा काम गर्न सकेनन् कि जस्तो लाग्छ ।
सुगम क्षेत्रको कुरा भने अलि बेग्लै छ । ६ महिनासम्म बन्दाबन्दी गरेको सरकारले साना तथा मझौला व्यापारी तथा सर्वसाधारणलाई राहतको कुनै प्याकेज ल्याएन । घरभित्र थुन्ने तर कुनै सहयोग नगर्ने अवस्थाले नागरिकमा आक्रोश बढायो । यो आक्रोश प्रस्फुटनको मौका खोजिरहेको थियो । त्यो जात्रा तथा पर्व मनाउने नाममा बाहिर निस्किएको हो । मानिसले आफूलाई भन्दा आफ्नो संस्कार, संस्कृति, परम्परा रीतिरिवाजलाई माया र सम्मान गर्छ । त्यसलाई निरन्तरता दिन चाहन्छ । त्यसको कारणले पनि यस्तो भएको हुन सक्छ ।
कोरोना महामारीका कारण समाजमा मेलमिलाप, भाइचारा तथा आपसी सरसहयोगको अवस्थामा बदलाब आएको हो ?
नेपाली समाज परिवर्तनको संघारमा घस्रिरहेको छ । बलियो सामाजिक सम्बन्ध, ऐक्यबद्धतामा त बदलाब आउँदै थियो । विगतको समयमा रहेको जस्तो मेलमिलाप, आपसी सरसहयोगको अवस्थामा परिवर्तन आइरहेको थियो । नाता सम्बन्धमा पहिलाको जस्तो बलियो ऐक्यवद्धता थिएन । यहीबीचमा कोरोना भाइरसले अझ यसलाई कमजोर बनाउनका लागि महत्वपूर्ण भुमिका खेल्यो ।
भाइरसले व्यक्ति व्यक्तिलाई छुट्यायो । यससँगै भाइचारा, सरसहयोगलाई पनि असर पार्यो । यो महामारीमा व्यक्तिले आफैंलाई बढी महत्व दियो । अर्कालाई अप्ठ्यारो पर्दा सहयोग गर्न तत्पर हुने हाम्रो समाज यतिबेला देखेको नदेख्यै गर्न पुग्यो । सामुहिकताबाट व्यक्तिवादी बन्दै क्रममा भइरहेको परिवर्तनलाई भाइरसले अझ गति दियो भन्न सकिन्छ ।
यस्तो महामारीका बेला व्यक्तिले समाजबाट के अपेक्षा गर्छ ?
महामारीको अवस्थामा बहुसंख्यक मानिसले आर्थिक गतिविधि तथा रोजगारीका अवसरहरू गुमाउँछन् । कृषकले उत्पादन बेच्न पाउँदैनन् । व्यापारीले व्यापार गर्न पाउँदैनन् । उद्योग, कलकारखानामा काम गरिरहेका मजदुरले काम गुमाउँछन् । यस्तो अवस्थाले आर्थिक रुपमा व्यक्ति निकै सकसमा हुन्छ । निश्चित योजना बनाएर लिएको ऋणको ब्याज थपिँदै जान्छ । काम हुँदैन । आम्दानी हुँदैन ।
आफन्त साथीभाइबाट पनि सरसहयोग पाउने अवस्था हुँदैन । सबै उस्तै अवस्थाबाट गुज्रिरहेका हुन्छन् । आफ्ना पीडा, अप्ठ्यारा साटासाट गर्ने साथीभाइसँगको भेटघाट पनि सम्भव हुँदैन वा पातलिन्छ । परिवारमा पनि यसले बिग्रह ल्याउँछ ।
उदाहरणका लागि श्रीमानले नचाहँदा नचाहँदै श्रीमतीले कुनै व्यवसाय सुरु गरेको रहेछ भने अहिले त्यसले त आर्थिक भार मात्र थपेको हुन्छ । हरेक दिन श्रीमानले श्रीमतीलाई तिमीले गर्दा यस्तो भयो । नत्र यो ऋण त बोक्नु पर्दैनथ्यो भन्दै करकर गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा व्यक्ति निराश हुन्छ ।
हाम्रोजस्तो समाजमा टेक्ने समाउने कतै नहँुदा व्यक्तिको दिमागमा नकारात्मक कुराहरू बढाउँदै लैजान्छ । समाज विज्ञानका अध्येता रञ्जना चौधरीले भारतमा गरेको एक अध्ययन अनुसार महामारीको समयमा सामाजिक, पारिवारिक तथा नातेदारी सम्बन्ध विस्तारै खुकुलिँदै जाने र आर्थिक समस्यामा जेलिँदै जाँदा व्यक्तिमा मानसिक समस्या तथा मनोवैज्ञानिक संकट बढ्दै गएको भेटेका थिए ।
महामारीमा समाजका सबै व्यक्ति असरमा परेका हुन्छन् । तर, उनीहरू यसलाई सामाजिक समस्याको रुपमा लिनै जानेका हुँदैनन् । धेरैले यसलाई व्यक्तिगत समस्याको रुपमा लिन्छन् र व्यक्तिगतरुपमै यसबाट उन्मुक्ति खोज्छन् । संघर्ष गर्दछन् । र उन्मुक्तिको कुनै विकल्प नदेखेपछि प्राण त्याग गर्छन् ।
वास्तवमा यतिबेला समाजका सबैले यसलाई सामाजिक समस्याका रुपमा लिने र सामुहिक समाधानका लागि पहल गनुपर्ने हो । यसलाई प्रष्टरुपमा भन्नुपर्दा राज्यले यसलाई सामुहिक समस्याका रुपमा लिएर आफ्ना नागरिकको पीडामा साथ दिनुपर्ने हो ।
राज्यसँग व्यक्तिका अपेक्षा फरक–फरक हुन्छन् । खान नपाउनेलाई खाने व्यवस्था, स्वास्थ्यको समस्या भएकालाई औषधि उपचारको व्यवस्था, पेशा व्यवसाय गर्न ऋण लिएर तिर्न समस्या भएकालाई त्यस्तो व्याज छुट वा अवधि थप गर्ने व्यवस्था, बेरोजगारलाई केही राहत प्याकेजको व्यवस्था गरिदेओस् भन्ने चाहना हुन्छ ।
राज्यले आफ्ना नगारिकलाई यस महाव्याधिमा सहज जीविकोपार्जनका लागि सहयोगी बन्नुपर्ने हो । तर, हामी कहाँ त्यस्तो हुन सकेन । परिणामतः व्यक्ति विस्तारै मानसिकरुपमा विक्षिप्त बन्दै गइरहेको छ । जीविकोपार्जनमा पारेको असरले व्यक्तिको सोचाइ अस्थिर बन्न पुग्छ ।
राज्यबाट खोजिएको सहयोग व्यक्तिपिच्छे फरक–फरक हुन्छ । एउटै शब्दमा भन्दा राहत भन्न सकिन्छ । तर, यसलाई छुट्टयाएर हेर्ने हो भने मूलतः तीनवटा सहयोग खोजेको देखिन्छ । पहिलो– जीविकोपार्जनका लागि सहयोग । सरकारको निर्देशनलाई मानेर ६ महिना बन्दाबन्दीमा बसेर बिहान–बेलुका खान नपाएका नागरिकले खाना खोजेका छन् । दोस्रो– औषधि उपचार तथा स्वास्थ्य सेवा । विभिन्न रोग लागिरहेका व्यक्ति तथा कोरोना संक्रमण भएका व्यक्तिले यस विषम परिस्थितीमा राज्यबाट औषधि उपचारको सहज व्यवस्थापन खोजेका छन् । आफू बिरामी भइहालेमा सहज उपचार होस् भन्ने छ । तेस्रो– बन्दाबन्दीका कारण व्यापार व्यवसाय बन्द गरेका, रोजगारी गुमाएका व्यक्तिले आर्थिक सहयोगको अपेक्षा गरेका छन् । हामीले प्रष्टसँग देखिरहेका छौं । राज्य यतिबेला नागरिकले खोजेका यी तीनै किसिमका सहयोग उपलब्ध गराइरहेको छैन । नागरिकले राज्यको उपस्थिति अनुभव गर्न पाएका छैनन् ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




