दार्चुलाको आकाशमा बारम्बार किन आयो भारतीय हेलिकप्टर?

सिडिओ भन्छन्: हिजो-अस्ति हेलिकप्टर आइरहन्थ्यो, चिठी पठाएपछि आज आएको छैन

जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली आकाशमा हेलिकप्टर उडाएकोमा आपत्ति जनाउँदै भारतीय पक्षलाई चिठी लेखेको छ।बिहीबार जिल्ला सुरक्षा समितिको बैठक बसेर नेपाली पक्षले भारतलाई चिठी लेखेको हो।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बिहीबार प्रशासनले भारत पिथौरागढस्थित जिल्ला धिकारीलाई सम्बोधन गरेर चिठी लेखेको हो।

नेपाली आकाशमा भारतीय हेलिकप्टर पटक-पटक अनुमतिबेगर आउने गरेकाले जिल्ला धिकारीलाई चिठी लेखिएको जोशीले बताए।

‘अनुमतिबेगर पटक-पटक अर्काको देशको आकाशमा हेलिकप्टर ल्याउनु आपत्तिजनक छ, हामीले यो कार्य रोक्न चिठी लेखेका छौं,’ जोशीले भने, ‘उताबाट जवाफ आएको छैन।’

भारतीय पक्षलाई चिठी लेखेकोबारे बोधार्थ गृह मन्त्रालयलाई पनि पठाइएको जोशीले बताए।

उनका अनुसार बुधबार र बिहीबार पाँचदेखि सात पटकसम्म दार्चुला सदरमुकाममाथि भारतीय हेलिकप्टर देखिएको थियो।

Sagoon Host

त्यो हेलिकप्टर उद्धारका लागि भारतीय पक्षले उडाइरहेको बुझिएको छ। उक्त हेलिकप्टर दार्चुला सदरमुकामस्थित नेपाली सेनाको गुल्मभन्दा माथिबाट उडेको थियो।

‘सेनाको ब्यारेकमाथिको आकाश हुँदै हेलिकप्टर भारततर्फ जाने गरेको छ,’ जोशीले भने, ‘पन्ध्र दिनअघि पनि आएको थियो।’

दार्चुला सदरमुकामपारिको भारततर्फ धार्चुलामा बाढी पहिरोपछि उद्धार र राहतको काम भइरहेको छ। सो कार्यका लागि भारतीय पक्षले हेलिकप्टर प्रयोग गरिरहेको बुझिएको जोशीले बताए।

20% OFF SAGOON

हेलिकप्टर नेपाली आकाश हुँदै त्यसतर्फ गइरहने र त्यो क्रम नरोकिएकाले प्रशासनले भारतीय पक्षलाई चिठी नै लेखेको हो।

‘कुनै आकस्मिक उद्धारको काम गर्नुपरे र भौगोलिक अवस्थाका कारण आउनुपरे पनि एक पटक, दुई पटकका लागि उड्न दिने गरिएको छ,’ जोशीले भने, ‘तर, दिनमै पाँच-सात पटक त्यो पनि सेनाको ब्यारेकमाथिबाट उड्ने कार्य ठिक देखिएन।’

नियमित सुरक्षा समितिको बैठकमा बिहीबार नेपाली सेनाका प्रतिनिधिले सो कुरा उठाएका थिए। कुरा उठाएपछि प्रशासनले पत्र नै लेखेको हो।

गैरसैनिक हेलिकप्टरले भारततर्फ उद्धारसँगै खाद्यान्न ढुवानी गरिरहेको बुझिएको प्रजिअ जोशीले बताए।

नेपालले चिठी नै लेखेपछि भने शुक्रबार हेलिकप्टर नदेखिएको जोशीले बताए।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भारतीय हेलिकप्टर नेपाली आकाशमा देखिएकोबारे दार्चुला प्रशासनले जानकारी गराएको बताए।

‘यसबारे के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने।

सेनाले पनि आफ्नो ब्यारेकमाथिको आकाशमा भारतीय हेलिकप्टर पटक-पटक देखिएको घटनाबारे सैनिक मुख्यालयमा जानकारी गराएको छ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले दार्चुला गुल्मले सैनिक मुख्यालयमा यसबारे जानकारी गराएको बताए।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु