
‘खतिवडाजी मन्त्रिपरिषदमा नआएपछि उहाँको सिफारिस हुने रैछ सोचेका थियौं, तर भएन’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा नेपाल सरकारका प्रवक्ता पनि हुन्। त्यसैले मन्त्रिपरिषदमा उनको उपस्थिति सम्भव भएसम्म अनिवार्यजस्तै हुन्छ। आइतबारको बैठकमा भने मन्त्री खतिवडा उपस्थित थिएनन्।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा खतिवडा अनुपस्थित भएपछि कतिपय मन्त्रीले राष्ट्रिय सभामा खतिवडाको सिफारिस हुने रैछ कि क्या हो भन्ने सोचेका थिए।
राष्ट्रिय सभामा खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २१ गते सकिएको थियो। पार्टीभित्रको सन्तुलन नमिलेका कारण खतिवडालाई प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभाका लागि सिफारिस गर्न सकेका थिएनन्। संघीय सांसद नभए पनि ६ महिना मन्त्री हुन सक्ने भएकाले खतिवाडा फेरि अर्थमन्त्री बनेका थिए।
भदौ २० सम्म पनि उनी राष्ट्रिय सभा सदस्य नभए उनी स्वतः पदमुक्त हुन्छन्।
‘हामीले त खतिवडाजीको सिफारिस हुने एजेण्डा भएकाले उहाँ नआउनुभएको हो कि भन्ने सोचेका थियौं। तर बैठकमा उहाँको सिफारिसबारे छलफल नै भएन,’ एक मन्त्रीले सेतोपाटीसँग भने,’सायद अरू केही कारणले गर्दा उहाँ नआउनुभएको होला। ‘
अर्थमन्त्री खतिवडाको सचिवालयले भने स्वास्थ्यमा समस्या आएकाले उनी आइतबारको मन्त्रिपरिषद बैठकमा नगएको जानकारी दिएको छ।
‘हिजो साँझ उहाँलाई ब्लड प्रेसर हाई देखियो। यस्तो बेलामा किन रिस्क लिने भनेर नजानुभएको हो। अर्को कुरा हिजोको बैठकमा अर्थ मन्त्रालयको कुनै प्रस्ताव पनि थिएन,’ अर्थमन्त्री निकट स्रोतले भन्यो,’बैठकमा नजानुको अरू कुनै कारण छैन। आज बिहानैदेखि उहाँ मन्त्रालाय आइसक्नुभएको छ।’

व्यक्तिगत कारणले अर्थमन्त्री बैठकमा नआएको हुन सक्ने अर्का एक मन्त्रीले बताए।
‘व्यक्तिगत कारण केही पर्यो भने मन्त्रीहरू बैठकमा नआउनु स्वभाविक हो। उहाँको हकमा पनि भएको त्यही होला,’ ती मन्त्रीले भने,’अन्य केही परेको भए मन्त्रिपरिषदमा थाहा हुन्थ्यो होला। त्यहाँ केही प्रसंग पनि उठेको थिएन। ‘
खतिवडालाई फेरि सांसद बनाउने कि नबनाउने भन्नेमा प्रधानमन्त्री ओली अझै निर्णयमा पुगेका छैनन्। उनको भित्री चाहना खतिवडालाई सांसद बनाउने रहेको भए पनि त्यसका लागि पार्टीमा सहमति जुटाउन बाँकी नै छ।
पार्टीका लागि भन्दा पनि प्रधानमन्त्रीका लागि अर्थमन्त्री खतिवडाको निरन्तरता जरूरी रहेको नेकपाका एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।
‘अर्थमन्त्री भनेको मन्त्रिपरिषदको सिइओजस्तै हो। त्यसैले प्रधानमन्त्रीका लागि उहाँ ठिक हुनुहुन्छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘त्यही भएर प्रधानमन्त्रीले खतिवडालाई निरन्तरता दिन चाहनुभएको छ। प्रधानमन्त्रीले पार्टीभित्रको सन्तुलन मिलाउनुभयो भने खतिवडाजी फेरि सांसद बन्नुहुन्छ। ‘
यसअघि फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो। तर वैशाख २० गतेसम्म आइपुग्दा भने गौतमले आफू राष्ट्रिय सभामा नजाने भनेका थिए। त्यही दिनको सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने समेत निर्णय गरेको थियो।
प्रधानमन्त्री ओली पक्षकै कतिपय नेताहरू भने खतिवडाको निरन्तरताको पक्षमा छैनन्। अर्थमन्त्री खतिवडा राजनीतिक व्यक्ति नभएकाले काम गर्न नसकेको उनीहरूको तर्क छ।
ओलीइतर पक्षका अर्का एक स्थायी कमिटी सदस्य भने प्रधानमन्त्रीले अन्तिमसम्म पनि खतिवडालाई नै राष्ट्रिय सभामा लैजान कोशिश गर्ने दाबी गरे।
‘हुन त अर्थमन्त्रीज्युको कामबाट कोही खुसी छैन। प्रजातान्त्रिक पक्षधरले उहाँलाई कम्युनिष्ट भनेर पत्याउँदैनन्। समाजवादीहरू पनि उहाँसँग डराएका छन्। पुँजीपतिहरू पनि त्रसित नै देखिन्छन्,’ उनले भने,’ठूला-ठूला खरिद प्रकरणलाई उहाँले रोक्न सक्नुभएको छैन। तर व्यापारीसमेत उत्तिकै डराएका छन्। उहाँ हट्ने भनेपछि सेयरबजारमा समेत उत्साह आउँछ। यति हुँदा पनि उहाँकै निरन्तरता हुने सम्भावना बलियो देखेको छु।’
प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले पनि २१ गतेपछि खतिवडा सांसद हुने दाबी गरे।
‘खतिवडाजी फेरि राष्ट्रिय सभामा जाने सम्भावना छ। उहाँले काम पनि राम्रै गरिरहनुभएको छ,’ ती सचिवालय सदस्यले भने,’प्रधानमन्त्रीले पार्टीका नेताहरूसँग छलफल गरेर उचित समयमा उहाँको नाम सिफारिस गर्नुहुन्छ।’
श्रोत:-setopati
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




