विद्युत, खानेपानी र खाद्य वस्तुमा ४५ प्रतिशत छुट गर्न अखिल क्रान्तिकारी हुम्लाको माग
सिमकोट, १५ पुस
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) हुम्लाले विद्युत, खानेपानी र खाद्य वस्तुमा ४५ प्रतिशत छुट गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय हुम्लासँग माग गरेको छ ।
अखिल क्रान्तिकारीले विद्यार्थीलाई अध्ययन गर्दा समस्या परेको भन्दै शैक्षिक सुधारका विभिन्न ७ बुँदे मागसहित शिक्षा समन्वय एकाइ र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।
अखिल क्रान्तिकारी हुम्ला अध्यक्ष उपेन्द्र रावलले शिक्षा, स्वास्थ्य र खाद्यान्नका विषयमा जिल्लाका सम्वन्धित निकायहरुको ध्यानार्कषण गराएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए ।
बिहीबार अध्यक्ष रावल सहितको नेतृत्वमा गएको विद्यार्थीहरुको समूहले विद्यार्थीलाई सहुलियतको माग गर्दै र शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
दलित, पिछडिएका, जनजाति र महिला, अपंगता भएका विद्यार्थीका लागि व्यवस्थित छात्राबास स्थापना गरिनु पर्ने, विद्यालयहरुमा दक्षताको आधारमा शिक्षक, कर्मचारी नियुक्ति गरिनु पर्ने जस्ता माग राखिएको उनले बताए ।
संगठनले शिक्षा सुधारका लागि हुम्ला जिल्लाका सातवटै गाउँपालिकाहरुमा माग पत्र पेस गर्ने भएको अध्यक्ष रावलले बताए । सुरेश परियार/न्यूज कारखाना

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]