इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरमा ढिलाइ किन ?

७ मंसिर, काठमाडौं । ३ वर्ष अघि बैंकिङ क्षेत्रमा ठूला बैंकहरुबीचको मर्जरको विषयले निकै चर्चा पायो । राष्ट्र बैंकको विशेष चासो र सरकारले बजेटमा नै बिग मर्जरको विषय समावेश गरेपछि बैंकहरुबीच यो विषयले अझ धेरै प्राथमिकता पायो ।

नतिजा स्वरुप झण्डै २ वर्ष पहिले ग्लोबल आइएमई र जनता बैंक नेपाल एकआपसमा गाभिए । यी दुई बैंकहरु गाभिएको लामो समयपछि ३० वैशाखमा इन्भेष्टमेन्ट र हिमालयन बैंकले मर्जर सम्झौतामा हस्ताक्षर गरे ।

मर्जर सम्झौतामा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका तत्कालीन अध्यक्ष तुलसी गौतमले हस्ताक्षर गरेका थिए । मर्जर सम्झौता भएको तीन महिनामा सबै कामहरु सकी एकीकृत कारोबार सुरु गर्न राष्ट्र बैंकले अनुमति समेत दिएको थियो । तर तोकिएको समयमा यी दुई बैंकहरुबीच एकीकृत कारोबार शुरु हुन सकेन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार दिएको समयमा काम नसकिएपछि समय थप गरिएको छ । थप गरिएको समय पनि आगामी २० गते सकिने प्रवक्ता ढकालले बताए ।

थप गरिएको समय सकिन दुई सातामात्रै बाँकी रहदा पनि मर्जरको प्रगति कति भयो भन्ने विषयमा भने दुई बैंकहरुले केही खुलाएका छैनन् । यी दुई बैंकहरुबीच मर्जरको विषयमा पछिल्लो समय लफडा बढेको छ । हिमालयन बैंक पक्षधर मर्जर नगर्ने मनस्थितिमा पुगेको स्रोत बताउँछ ।

सरकार परिवर्तनको ‘साइड इफेक्ट’

दुई बैंकहरुबीच अहिले मर्जर भाडिने खतरा बढेको छ । खासगरी हिमालयन बैंकका नयाँ अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ अहिले मर्जरको विषयमा धेरै सकारात्मक नरहेको बैंक स्रोत बताउँछ ।

Sagoon Host

मर्जर सम्झौता गरिसकेपछि भाडिने खतरा बढ्नुको महत्वपूर्ण कारण भने सरकार परिवर्तन हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनपछि अहिले हिमालयन बैंकका अध्यक्ष फेरिएका छन् । कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै तत्कालीन प्रशासक तुलसी गौतम बैंकको अध्यक्ष थिए । मर्जर सम्झौतामा गौतमले नै हस्ताक्षर गरेका हुन् ।

तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि गौतम कर्मचारी सञ्चय कोषको प्रशासकबाट हटाइए । लगत्तै हिमालयन बैंकका सञ्चालकहरुले पनि गौतमलाई बैंक सञ्चालक समिति अध्यक्षबाट हटाएर प्रचण्डबहादुर श्रेष्ठलाई चयन गरे । त्यसपछि भने मर्जर भाडिने खतरा बढेको स्रोतको भनाइ छ ।

‘अरु धेरै जना लागेर हुने होइन, अध्यक्ष नै सकारात्मक नभएपछि मर्जर सहज छैन,’ एक बैंकका सञ्चालक भन्छन्, ‘गौतम सरलाई सरकारले सञ्चय कोषबाट नहटाएको भए कुरा अर्कै हुने थियो ।’

20% OFF SAGOON

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेले निकटहरुसँग आफूहरु सम्झौता अनुसार चाडो मर्जरमा जान तयार रहेको बताउने गरेका छन् । तर हिमालयन बैंकमा देखिएको समस्याले मर्जरमा ढिलाइ भइरहेको उनको भनाइ छ ।

दुई बैंकहरु मर्जरको सम्भावना पूरै टरेको भने छैन । राष्ट्र बैंकले दिएको समयसीमा भित्रै मर्जर हुने सम्भावना भने कम छ । बैंकहरुलाई स्वतस्फूर्त रुपमा मर्जरमा लैजान सकारात्मक रहेको राष्ट्र बैंकले २० मंसिरपछि पनि समय थप्न सक्नेछ ।

‘अहिले यति वा उती समय थप्ने भन्ने कुरा हुँदैन, कम समयमा काम हुन सकेन भन्ने कुरा स्पष्ट कारण खुलाएर आएको अवस्थामा समय थप हुनेछ,’ प्रवक्ता ढकाल भन्छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु