दुवै पार्टीमा समस्या छ, म दुवैतिर छैन : नेता तेजेन्द्र खड्का

भरतपुर । तत्कालीन नेकपा एमालेभित्र माधव नेपाल समूहका जिल्लाका प्रभावशाली नेतामध्येका एक हुन्, भरतपुरका तेजेन्द्र खड्का । ७३ सालमा भएको पार्टी चुनावमा उनी जिल्ला उपाध्यक्ष भएका थिए । ३६ वर्षदेखि कम्युनिस्ट पार्टीमा लागेका उनी देशको पछिल्लो राजनीतिक माहोलबाट समस्यामा छन् ।

पार्टी फुट्नुअघि एमालेमै रहेर अन्तरसंघर्षमा लागेका खड्का माधव नेपाल समूहले नयाँ पार्टी घोषणा गरेपछि सोही पार्टीको जिल्ला अध्यक्ष हुने धेरैको आकलन थियो । तर, गत भदौ २५ गते भरतपुरमा भएको नेकपा समाजवादीको भेलामा उनको अनुपस्थितिले चितवनको राजनीति तरङ्गित बन्यो । ‘नयाँ पार्टीको अध्यक्ष बन्न तयार भइनँ’, नेता खड्काले भने, ‘हिजोको दिनमा एमालेकै समानान्तर कमिटीको नेतृत्व लिएको हो, तर फरक पार्टीको नेतृत्व लिएको होइन ।’

मनमा लागेका केही कुराहरु उनले शनिबार साँझ फेसबुक स्टाटसमार्फत सार्वजनिक गरे, जसमा उनले समाजवादी पार्टीमा र एमाले पार्टी दुवैमा हाल नरहेको बताए । दुवै पार्टीमा छैन भनेपछि आमनेता तथा कार्यकर्ता अचम्ममा परेका छन् !

३६ वर्ष लामो राजनीतिक इतिहास सम्झँदै उनले भने, ‘पार्टीमै लाग्नुपर्छ भन्ने पनि छैन, एउटा वैचारिक बहस चलाएर स्वतन्त्र भई अघि बढ्न पनि सकिन्छ । एमालेबाट फुटेर समाजवादी गठन भएपछि म सन्तुष्ट थिइनँ, समाजवादी पार्टीको एउटा भेलामा बाध्यताले पुग्दा केही साथीहरुले अहिले घोचपेच गरिरहनुभएको छ, त्यसका बारेमा पछि स्पष्ट पारौँला ।’

समाजवादीको नेतृत्वसँग केही सैद्धान्तिक जिज्ञासा राखेको उनी बताउँछन् । ‘नयाँ पार्टीको सिद्धान्त, नीति कार्यक्रम आएको छैन, के विचार बोकेर जनतामाझ पार्टी गठन गर्नु !’ उनले भने ।

नयाँ नीति कार्यक्रमको खाका राष्ट्रिय कार्यकर्ता भेलाबाट पास भएर आउँछ, के को आधारमा संगठन बनाउने भन्दै उनले भने, ‘वैचारिक प्रस्टता छैन, त्यो भनेको अध्यारोमा हिँड्नु हो । हिजो समानान्तर कमिटीको नेतृत्व गरेकाले नयाँ पार्टीको पनि नेतृत्व गर्नुपर्छ भन्ने दबाब र आग्रह थियो, तर एमालेको समानान्तर कमिटी स्वतः समाजवादीमा रुपान्तरण हुने भन्ने थिएन, त्यसैले भेलामा गइनँ ।’

त्यस्तै, समाजवादीमा नजानुलाई एमालेमै रहेको भन्ने बुझाइ पनि गलत हुने उनको तर्क छ । ०७५ जेठ २ गते पार्टी फर्कने वा नफर्कने भन्ने ठोस आधार नभएकाले एमालेमै रहने भन्ने कुरा पनि आफ्ना लागि न्यायोचित नहुने उनी बताउँछन् ।
एमालेको सैद्धान्तिक र वैचारिक पक्षका बारेमा पनि आफूले केन्द्रीय नेतृत्वसँग आधिकारिक र स्पष्ट जवाफ मागेको नेता खड्का बताउँछन् । फर्कने वातावारण बनाउनका लागि सैद्धान्तिक तथा वैचारिक समस्या हल हुनुपर्ने उनको माग छ ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु