ज्येष्ठ नागरिकलाई निः शुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

ललितपुर, कात्तिक ५ –

गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निः शुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त उमेरका नागरिकको अर्थावस्थालाई ध्यानमा राखी नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।

गोदावरीमा ७० वर्ष नाघेका व्यक्तिलाई आइतबारदेखि अर्को सोमबारसम्म बिनाशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीराज कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी उमेर ढल्केका यस्ता व्यक्तिलाई दैनिक सेवन गर्नुपर्ने औषधि सहयोग गरी परिवारसँगै भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिदिन लागेका छौँ, नगरपालिकाले पहिलोपटक अघि बढाएको यो कामका लागि खरिद गरिएको औषधि हरेक नागरिकलाई दामासाही हिसाबले वितरण गर्नेछौँ ।” सो काम गोदावरीका प्रत्येक वडामा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म गरिने कार्कीले जानकारी गराउनुभयो ।

सो औषधि लिन हरेक नागरिकले आफूहरु ७० वर्ष उमेर पुगेको खुल्ने सरकारी परिचयपत्र अनिवार्य साथमा लिएर आउनुपर्ने नगरपालिकाले अनुरोध गरेको छ । गोदावरीले चालु आर्थिक वर्ष २०७८ / ७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नगरभित्र रहेका दीर्घरोगीका लागि निः शुल्क औषधि वितरणका साथै अत्यावश्यक तथा आवश्कीय स्वास्थ्य सामग्रीको समेत प्रबन्धको सुनिश्चितता गरिदिने योजना सार्वजनिक गरेको थियो ।

यसैगरी नगरपालिकाले बज्रवाराही चापागाउँ अस्पतालमा सो उमेर नाघेका नागरिकलाई बिनाशुल्क स्वास्थ्य सुविधामा निरन्तरता दिनाका साथै नगर क्षेत्रभित्रका मिर्गौलाका बिरामीलाई डायलायसिस केन्द्र स्थापना गरी निः शुल्क सोको व्यवस्था तथा सामाजिक सुरक्षा भत्ता पाउने नागरिक तथा गर्भवती र सुत्केरीलाई हरेक वडाबाट तीन–तीन महिनाका लागि मल्टीविटामिनका साथै क्यालसियमसमेत सहयोग गर्ने कुरा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बताइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु