
भारतका ६ राज्यका मुख्यमन्त्रीहरुलाई ग्रेटर नेपालको पत्र
काठमाडौं । भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा ग्रेटर नेपालले भारतका ६ राज्यका मुख्यमन्त्रीहरुलाई पत्र लेख्दै ईण्डिया स्वतन्त्र हुदा सुगौली सन्धीबाट गुमेका नेपाली भूभाग पनि स्वतः स्वतन्त्र भईसकेकाले ती भूमिमा झण्डोत्तोलन गर्नु अवैध भएको उल्लेख गरेको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले भारतका सिक्किम,पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशका मुख्यमन्त्रीहरुलाई लेखेको पत्रमा सन् १९४७ अगस्त १५ मा इन्डियाले स्वराज प्राप्त गर्दा १८१६ मार्च ४ को सुगौली सन्धिबाट गुमेको नेपाली भूमि स्वतः स्वतन्त्र भएकोमा इन्डियाले त्यो भूमिमा जबर्जस्ती औपनिवेशिक शासन लादेको र नेपाली भूमिमा स्वतन्त्रता दिवस मनाएर इन्डियाले सबै खाले उपनिवेशको अन्त्य हुनुपर्छ भन्ने संयुक्त राष्ट्रसंघको घोषणालाई पनि लत्याएको बताईको छ ।
ग्रेटर नेपालले लेखेको पत्रको पुर्ण व्यहोरा यस्तो रहेको छः
माननीय मुख्य मन्त्री सिक्किम,पश्चिम बङ्गाल,बिहार,उत्तर प्रदेश,उत्तराखण्ड,हिमाचल प्रदेश, इन्डिया ।
मुख्य मन्त्री महोदय,
१) छिमेकी देश भएको नाताले इन्डियाको गणतन्त्र दिवसमा खुलेर बधाई दिन नसक्नुको कारण इन्डिया नै हो भन्नुपर्दा हामी नेपालीले त्यति सङ्कोच मान्नुपर्दैन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसै पृष्ठभूमिमा इन्डियाका उल्लिखित राज्यका माननीय मुख्य मन्त्रीहरूसमक्ष सन् १९४७ अगस्त १५ मा इन्डियाले स्वराज प्राप्त गर्दा १८१६ मार्च ४ को सुगौली सन्धिबाट गुमेको नेपाली भूमि स्वतः स्वतन्त्र भएकोमा इन्डियाले त्यो भूमिमा जबर्जस्ती औपनिवेशिक शासन लादेको तथ्य प्रस्तुत गर्दै इन्डियाको उक्त क्रियाकलापले स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारको खिल्ली उडाएको दृश्य देखाउन चाहन्छ ।
२) नेपाल अधिराज्य स्वतन्त्र मुलुकका रूपमा विद्यमान छँदाछँदै हाल सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशभित्र अवस्थित नेपाली भूमि १९४७ अगस्त १५ मा इन्डियामा पार्नु ठूलो अन्याय हो र नेपालीहरू यो अन्यायको अन्त्यको प्रतीक्षामा छन् ।
३) आफ्नो भूमिमा स्वतन्त्रता दिवस मनाउनु रोमाञ्चक कुरा हो तर उपनिवेशमा राखिएको भूमिमा स्वतन्त्रता दिवस मनाउनु स्वतन्त्रता शब्दकै अपमान हो । नेपाली भूमिमा स्वतन्त्रता दिवस मनाएर इन्डियाले उपनिवेशलाई निरन्तरता मात्र दिएको होइन, सबै खाले उपनिवेशको अन्त्य हुनुपर्छ भन्ने संयुक्त राष्ट्रसंघको घोषणालाई पनि लत्याइरहेको छ । तपाईँहरू मुख्य मन्त्री रहेका ती राज्यमा गाभिएको नेपाली भूमिमा इन्डियाको झन्डोत्तोलन गर्नु सरासर गलत र अवैध काम हो । इन्डियाको संविधानको धारा १.३(ग) अनुसार इन्डियामा नगाभिएको नेपालको टिस्टादेखि सतलजसम्म र दक्षिणतर्फ गङ्गाको उत्तरी मैदानसम्मको भूमिमा गणतन्त्र दिवस मनाएर तपाईँहरूले नेपाली जनमानसमा जुन आतङ्क फैलाउनुभएको छ, त्यो सर्वथा निन्दनीय छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईँ माननीय मुख्य मन्त्रीहरूलाई स्मरण गराउन चाहन्छ, १९५० जुलाई ३१ मा भएको नेपाल(इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरी नेपालको वासतविक सिमाना टिस्टा–सतलज–गङ्गा कायम गरिसकेको छ र ती नेपाली भूभागमा तपाईँहरूको शासन–प्रशासन इन्डियाको संविधान अनुसार पनि पूर्णतः असंवैधानिक हो ।
बोधार्थः
–प्रधानमन्त्री, नेपाल
–प्रधानमन्त्री, इन्डिया
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]