चितवनमा जनगणनाको तयारी पुरा, ८६७ गणक खटिए

चितवन,कात्तिक २४-

चितवनमा राष्ट्रिय जनगणना–२०७८ को तयारी पुरा भएको छ । जिल्ला जनगणना कार्यालय चितवनका अनुसार कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने दोस्रो चरणको जनगणनाको आवश्यक तयारी पुरा भएको हो ।

जनगणनामा चितवन जिल्लाभर ८६७ गणक खटिएका छन् । गणकहरुलाई कार्यालयकातर्फबाट आवश्यक सामाग्री वितरण गरिसकिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु हुने जनगणनामा समाजका सबै तहतप्काको सहभागिता गराउने गरि तयारी सकिएको भण्डारीको भनाई छ ।

जनगणना अन्र्तगत पहिलो चरणमा भदौ ३० देखि असोज १८ गतेसम्म जिल्लाभर घर तथा घरपरिवार सूचीकरण गरिएको छ भने दोस्रो चरणको मूल गणनामा गणकले प्रत्येक घर परिवार मुलीसंगै सोधपुछ गरी ८० वटा प्रश्नहरु भर्ने छन् । जसमा पारिवारिक विवरण र व्यक्तिगत विवरण संकलन गरिनेछ । जिल्लाको जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको अवस्था, प्रयोग गरेको जग्गा, शिक्षा, प्रजनन् दर, अपाङ्गता, बसाईसराईं लगायतको वास्तविक यथार्थ संकलन गरिने भण्डारीले जानकारी दिनुभयो ।

जनगणनामा खटिएका गणकहरुले सुरुमा सम्बन्धित वडा कार्यायलहरुमा जानकारी गराउने छन् । वडामा रहेको सहजीकरण समितिमा जानकारी गराएपछि मात्रै गणनाको काम सुरु हुने भण्डारीले बताउनुभयो । जिल्लाका ९८ वटै वडामा वडाध्यक्षको अध्यक्षतामा सहजीकरण समिति गठन गरिएको छ । ‘यो जनगणनामा सबै नागरिक सहभागि हुनुपर्छ, भण्डारीले भन्नुभयो ‘व्यक्तिगत तथ्याङक सार्वजनिक हुँदैन, तथ्याङक ऐन २०१५ अनुसार सबै संकलित विवरण गोप्य हुनेछन् ।’

जिल्लामा २१० जना सुपरिवेक्षक खटिएका छन् । एउटा सुपरिवेक्षकको नेतृत्वमा ४ जना गणक हुन्छन् । एक गणकले २५० घरपरिवारको गणना गर्नुपर्नेछ । जिल्लामा खटिएका गणक मध्ये ५० प्रतिशत महिला छन् । भरतपुर महानगरपालिकामा ४४१, माडी नगरपालिकामा ५१, कालिका नगरपालिकामा ६१, इच्छाकामना गाँउपालिकामा ३५, राप्ती नगरपालिकामा ६९, रत्ननगर नगरपालिकामा १२२ र खैरहनी नगरपालिकामा ७८ जना गणक खटिएका छन् ।

Sagoon Host

यसअघि भदौ ३० गतेदेखि असोज १८ गतेसम्म प्रत्येक परिवारको सूचिकरण भइसकेको छ । यसअघि भएको सूचिकरणकै आधारमा दोस्रो चरणको जनगणनाको काम हुनेछ । चितवनमा करिब १ लाख ८० हजार घरपरिवार रहेको सूचिकरणबाट प्राप्त तथ्याङक छ ।

जिल्लामा रहेको भौगोलिक विकटताका आधारमा सम्भव हुँदासम्म सोही वडाका स्थानीयलाई गणकको जिम्मेवारी दिएको छ भने अनलाइनबाट फर्म नभर्नेहरु रहेपनि नजिकका व्यक्तिलाई गणकको रुपमा खटाइएको छ । सुपरिवेक्षकलाई ६ दिनको तालिम र पुर्नताजकी तालिम दिइएको सहायक जिल्ला जनगणना अधिकारी रेणु कुमारी घिमिरेले जानकारी दिनुभयो । गणकलाई ४ दिनको तालिम दिइएको उहाँले बताउनुभयो । विसं २०६८ को जनगणनाअनुसार पाँच लाख ७९ हजार ९८४ जिल्लाको जनसंख्या छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु