फुटबलमा क्रिकेटको अनुभव लगाउँदैछन् सुवास

३ चैत, काठमाडौं। सुवास शाही नेपालको पहिलो अक्सन बेस्ड क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल)का जन्मदाता हुन् । उनले क्रिकेटमा खेलाडीदेखि आयोजकसम्मको भूमिका निर्वाह गरिसकेका छन् । केही समयअघि उनी तेक्वान्दोमा समेत जोडिए।

अहिले उनी फेरि अर्को भूमिकामा देखा परेका छन् । सुबास नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेण्ट नेपाल सुपर लिग (एनएसएल) मा एउटा फ्रेन्चाइजको मालिकको रुपमा छन्। उनि गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेकाे धनगढी फुटबल क्लबका मालिक बनेका छन् । उनी गो ड्रिमर्सका अध्यक्ष नै हुन्। चौधरी ग्रुपअन्तर्गत रहेको नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी वैंशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालमा हुने एनएसएलमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्।

यसअघि क्रिकेटमा आफै आयोजक रहेर खेलाडीको अक्सन गराएर लिग गराएका सुबास अहिले भने फ्रेन्चाइज फुटबल लिगमा आफै एउटा टिम लिएर अघि बढेका छन् । एनएसएलको सात फ्रेन्चाइजमध्ये धनगढीबाहेक अरु सबै व्यावसायिक क्षेत्रमा नाम कमाएका व्यक्तिहरु मालिक बनेका छन्। तर सुबास भने खेलकुदकै पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । त्यही पनि फुटबल भने उनको लागि फरक खेल हो। उनी आफैले पनि फुटबलमा सिक्दै अघि बढ्दै गरेको बताउँछन् । ‘हामीसँग राम्रो म्यानेजमेन्ट टिम छ।

अनुभव छ । म विस्तारै फुटबलबारे सिक्दैछु । हामी हाम्रो अनुभव प्रयोग गर्नेछौँ।’ सोमबार विशाल राईलाई मार्की खेलाडीको रुपमा प्रस्तुत गरेपछि सुबास शाहीले भने। चार लाख रुपैयाँमा एसपीएल कप सुरुवात गरेका सुबासले अहिले डीपीएललाई करोडौँको प्रतियोगिता बनाइसके। खेलाडीको अक्सन गरेर फ्रेन्चाइज क्रिकेट समेत गरे । अहिले हुन लागेको एनएसएलमा पनि सुबास एउटा टिमको मालिकका रुपमा रहेका छन् ।

आफै फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिसकेका सुबासले एनएसएलबाट अफर आएकोले स्वीकार गरेको बताउँछन्।

‘सुरुवातमा टिम मालिकका लागि प्रस्ताव आएको थियो। केही सोच्दै नसोची स्वीकार गर्यौ ।’ शाहीले भन्छन् , ‘हामीले फ्रेन्चाइज प्रतियोगितामा लामो समय काम गरि सकेका छौ । त्यसैले फ्रेन्चाइजको सम्भावनाको विषयमा धेरै सोचेनौं ।’ शाहीले एनएसएल व्यवसायी फुटबलको लागि पनि नयाँ प्रयोग हुने बताउँछन्। यसबाट तत्काल नाफा हुनेभन्दा पनि लामो समयका लागि सोच्नुपर्ने उनको बुझाइ छ।

‘यो फुटबलमा पहिलो प्रयोग हो। सुरुको १-२ वर्षमा हामीले यसलाई फुटबलमा लगानी गर्‍यो भन्ने सोच्नुपर्छ। त्यसले विस्तारै नेपाली फुटबललाई व्यवसायिकतातर्फ लैजानेछ।’ शाही भन्छन्, ‘एसपीए कपको रुपमा हामीले धनगढीमा क्रिकेट सुरु गर्दा ४ लाख रुपैँयामा प्रयोग गर्यौ । त्यसपछि हामीले क्रिकेटमा धेरै कुराको प्रयोग पनि गर्यौ र त्यो सफल पनि भयौँ।’ पैसा कमाउने सोच भन्दा पनि फुटबलको विकास हुनुपर्ने र धनगढीलाई खेलको माध्यमबाट चिनाउने प्रयास गर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘हाम्रो पैसा कमाउने सोच हैन । धनगढीलाई खेलको मध्यमबाट चिनाउने सानो प्रयास मात्र हो । हामीले पैसा मात्रै कमाउने नै हो भने स्कुल, कलेजबाट कमाउन सक्थ्यौ । मैले स्कुल, कलेज पनि सञ्चालन गरिरहेको छु । विभिन्न अभियानहरु पनि चलाइरहेका छौ । तर, हाम्रो सोच त्यति मात्रै हैन ।’

Sagoon Host

शाही नयाँ खेलमा प्रयोग गर्न चाहने भएकोले आफू फ्रेन्चाइज फुटबलमा पनि संलग्न भएको बताउँछन् ।‘म र मेरो टिम सधै नयाँ नयाँ खेलमा प्रयोग गर्न चाहन्छौँ। हामीले प्रयोग गरेको कुनै पनि विषयलाई अर्को स्तरसम्म लैजाने प्रयासमा हामी सफल पनि भएको छौँ। हाम्रो योजना अरुलाई पनि बाँड्ने हो। हामीले क्रिकेटमा आफ्नो अनुभव बाड्यौँ।’ सुबास शाही फुटबलमा जोडिएपछि अब डीपीएल हुन्छ कि हुँदैन ? यसको भविष्य के होला? जस्ता जिज्ञासाहरु सुबासलाई आउन थालेका छन्। तर, उनले यसलाई स्वभाविक रुपमा लिँदै भन्छन्, ‘नयाँ प्रयास हो। हामी अघि बढ्नु पर्छ।’ यसका साथै डीपीएललाई पनि कुनै न कुनै रुपमा अघि बढाउने र मुख्य कुरा क्रिकेट विकास हुनुपर्ने उनको धारणा छ। उनी भन्छन्, ‘क्रिकेट छाडेको छैन, फुटबलमा नयाँ प्रयोग गर्न खोजेका छौँ।’ क्रिकेटजस्तै फुटबलमा पनि एउटा ब्राण्ड बनाउने उनको इच्छा ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेको अवस्थामा डीपीएलसँगै इपीएल र पीपीएल योजना भएको उनी सुनाउँछन्। अहिले क्यान पनि निलम्बनबाट फुकुवा भएको छ। विभिन्न कारणले डीपीएल गर्न नसकेपनि यसलाई नछाड्ने उनको चाहना छ। ‘विभिन्न कारणले पछिल्लो दुई सिजन हामीले डीपीएल गर्न सकेका छैनौ‌ । क्रिकेट छोडेको भने हैन। त्यत्रो लगानी गरेर त्यो स्थानमा क्रिकेट पुर्‍याएका छौँ। एउटा छुट्टै ब्राण्डको रुपमा स्थापना गरेका छौँ। त्यसलाई छोड्ने भन्ने कुरै हुँदैन। बरु त्यसलाई अर्को स्तरमा लैजान्छौँ।’ उनले भने। अब फ्रेन्चाइज क्रिकेट कसरी अघि बढ्छ ? क्यानले कसरी समायोजन गर्छ भन्ने विषय प्रतिक्षित बनेको छ।

सुबास शाही पनि अहिले त्यसबारे छलफलमै रहेको र डीपीएललाई छुट्टै स्तरमा लैजाने बताउँछन्। ‘क्रिकेटको अभिभावक संस्था क्यान पनि आइसकेको छ । उहाँहरुले पनि नेपालमा हुँदै गरेका फ्रेन्चाइज क्रिकेटलाई कसरी अगाडि बढाएर लैजाने भन्ने विषय सोचिरहनु भएको छ। यो दुई संस्थाबीचको समन्वय पनि हो। मैले एक्लैले पनि यसलाई अगाडि बढाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले हामी त्यसलाई अर्को स्तरमा लैजान तयार छौ र लैजान जरुरी पनि छ ।’ क्यानँग सहकार्य गरेर आवश्यक परे प्रतियोगिताको संरचना र ढाँचा परिवर्तन गर्न सकिने समेत शाहीले बताउँछन्।

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु