राष्ट्रपतिलाई कांग्रेस नेताले भने : राजीनामा दिएर ओली गुटबाट चुनाव लड्नुस्

१६ पुस, गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएर केपी ओलीको पार्टीबाट चुनाव लड्न सुझाव दिएका छन् ।

बिहीबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले स्वतन्त्र भूमिकामा रहनुपर्ने राष्ट्रपतिले पार्टीको एउटा गुटको नेता जस्तो भएर काम गरेको आरोप लगाए ।

‘अहिलेको यो परिस्थिति राष्ट्रपतिले सम्हाल्नुपर्ने बेलामा प्रधानमन्त्री भन्दा एक कदम अगाडि बढेर उहाँले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावका लागि सिफारिस गर्नुभाछ,’ उनले भने, ‘अब उहाँले राजीनामा दिएर केपी ओलीको गुटमा साधारण सदस्य लिने अनि चुनाव लड्दै हिँडे हुन्छ ।’

प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपतिले गैर संवैधानिक र विवेकहीन काम गरेको उनले बताए । ‘उहाँले गरेको यस्तो कामले अब यो मुलुकमा राष्ट्रपतिबाट केही हुन्छ भन्ने सोच नेपाली जनताबाट हराइसक्यो,’ नेता बस्नेतले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानको मर्म र भावना विपरीत कदम चालेको उनले बताए । ‘प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि चुनाव गर्ने भन्नुभयो तर यो निर्णय उहाँकै लहडमा भएको हो कि अरु चलखेलहरु भएका छन् बुझ्नुपर्छ,’ उनले भने ।

नेता बस्नेतले अहिलेको राजनीतिक घटनाक्रममा उत्तर–दक्षिणका मुलुकहरुको केही चलखेल हुन सक्ने आशंका व्यक्त गरे ।

‘नेपालको राजनीतिमा इतिहासले के प्रमाणित गरेको छ भने दरबार बलियो भएको बेला दल उचाल्ने र दल बलियो भएको बेला दरबार उचाल्ने काम दक्षिणबाट हुदै आएको छ, त्यसैले प्रधानमन्त्रीले चाल्नुभएको कदममा पनि दक्षिणी चलखेलहरु भएका छन् कि भन्ने हो,’ बस्नेतले भने ।

Sagoon Host

संसद बिघटनको बिरोध नेपाली कांग्रेसले गरिरहने बताउदै उनले थपे, ‘यो विषय सर्वाेच्च अदालतामा विचाराधीन अवस्थामा छ, अदालतले जे फैसला गर्छ हामी त्यही स्वीकार गर्छौं ।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु