काठमाडौं मेयर्स कपमा पुलिसको दोस्रो जित

२५ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा नेपाल पुलिस क्लबले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको पुलिसलाई रोक्न आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए तर टिमको हार टार्न सकेनन् ।

पुलिसका लागि ओपनर सुनील धमलाले सर्वाधिक ३९, दिलिप नाथले १५, पवन सर्राफले अविजित २२ रन बनाए । ४८ रन बनाउँदा १ विकेट मात्र गुमाएको पुलिसले त्यसपछि लगातार विकेट गुमाएको थियो ।

आर्मीका आलमले ९ ओभरमा १ मेडन राख्दै ४५ रन  खर्चेर ७  विकेट लिए ।

पहिले ब्याटिङ गरेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो । उसका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यसअघिका दुई खेलमा सोमपाल कामीसँगै ओपनिङ गरेका लोकेशले पुलिस विरुद्ध भने नवौं नम्बरमा ब्याटिङ गरेका थिए । उनले २४ बल खेल्दै २ चौका ३ छक्का प्रहार गरे । नवौं विकेटका लागि लोकेशले विक्रम सोबसँग ४१ रनको साझेदारी गरेका थिए ।

४३ रन हुँदा ८ विकेट गुमाएको आर्मीका लागि लोकेश र विक्रमको साझेदारीले केही रन उकासिएको थियो । विक्रमले १४ रन जोडे । यस्तै रोहित पौडेलले १३ रन बनाए । यी तीनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Sagoon Host

आर्मीलाई अलआउट गर्न पुलिसका सागर ढकाल एक्लैले ५ विकेट लिए । आर्मीविरुद्ध सागरले १० ओभरमा २ मेडन राख्दै ४० रन खर्चेर ५ विकेट लिए । यस्तै पवन सर्राफले १० ओभरमा ५ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ५.१ ओभर बलिङ गर्दा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए ।

जारी प्रतियोगितामा दोस्रो जित हात पारेको पुलिसले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । यसअघि बागमतीलाई पराजित गरेको पुलिस एपीएफसँग हारेको थियो । पुलिसले अब काठमाडौं मेयर्स ११ सँग खेल्न बाँकी छ ।

उता आर्मीको भने यो दोस्रो हार हो । पहिलो खेलमा एपीएफसँग पराजित भएको आर्मीले काठमाडौं मेयर्स ११ लाई पराजित गरेको थियो । आर्मीले अब बागमतीसँग खेल्न बाँकी छ ।

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु