
बालुवाटार जग्गा प्रकरणका प्रमुख अभियुक्तकी पत्नी २ लाख धरौटीमा रिहा
१६ पुस, काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पाभित्रको सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् ।
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेकी उनी थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएकी थिइन् । ढकाल्नी दुई लाख रुपैयाँ धरौटीमा रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार धरौटीमा छाड्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल्नीसँग ९१ लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

राष्ट्रसेवक कर्मचारी/पदाधिकारीहरूलाई अनुचित प्रभावमा पारी ललितानिवास क्याम्पाभित्रको सरकारी, सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफू समेतको नाममा सट्टाभर्ना गरी–गराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी पुर्याएकाले ढकाल्नीलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको छ ।
ढकाल्नी नाताले ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा. शोभाकान्त ढकालकी पत्नी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा. ढकालसँग अख्तियारले ३९ करोड भन्दा बढी बिगो मागदाबी गरेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



