
माइतीघरमा धर्नामा बसेका उखु किसान नभइ विचौलिया हुन् : चिनी मिल सञ्चालक
काठमाडौं, २९ मंसिर । सर्लाहीका चिनी मिल सञ्चालकहरूले काठमाडौंको माइतिघरमा धर्नामा बसेकाहरू उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप लगाएका छन् ।
सोमबार उद्योग मन्त्रालयसंगको छलफलका क्रममा उनीहरुले उखु किसानको नाममा आउने भौचर किन्ने बिचौलियाहरु नै धर्नामा बसेको आरोप लगाएका हुन् । उनीहरुले वास्तविक किसानहरूलाई बिचौलियाले मर्कामा पारेको र धर्नामा वसेकाहरुको अनुसन्धान गर्न आग्रह गरेको उद्योग मन्त्री लेखराज भट्टले जानकारी दिनुभयो । मन्त्री भट्टले छलफलका क्रममा किसानको भुक्तानी गर्न निर्देशन दिइएको बताउनुभयो । अहिले सर्लाहीको अन्नपूर्णले १७ करोड र र इन्द्रा सुगर मिलले ४ करोड ७० लाख बक्तौत्ता तिर्न बाँकी देखिएको उहाँको भनाइ छ ।
त्यस्तै रौतहतको श्रीराम सुगर मिल बन्द भएको र ३५ करोड तिर्न बाँकी रहेकाले आफ्नौ भौतिक सम्पती बेच्ने प्रक्रियामा गएको जानकारी आएको मन्त्री भट्टले बताउनुभयो । लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्तौता रकम नपाएको भन्दै उखुकिसानहरुले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेपछि मन्त्री भट्टले चिनी मिल सञ्चालकहरुसंग छलफल गर्नुभएको हो ।
यता, बक्यौता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले सोमबार पनि माइतीघरमा प्रदर्शन गरेका हुन् । चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।
गत वर्ष सरकारले उखु किसानसँग ५ बुदे सम्झैता गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि किसानहरुले अझै उखुको पैसा पाएका छैनन् । यसबाहेक नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका कार्यक्रम पनि आयोजना गर्ने तयारी किसानहरुको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



