हिजोको चुनौती लोडसेडिङ अन्त्य गर्ने,आजको चुनौती कसरी खपत गर्ने : कुलमान घिसिङ (भिडियो)
काठमाडौं, ३ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत चार वर्ष अगाडि र आजको अवस्थामा धेरै परिवर्तन भएको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङले हिजोको चुनौती र आजको चुनौतीमा पनि धेरै फरक रहेको बताउनुभएको छ ।
न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ मा कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हिजोको चुनौती लोडसेडिङ अन्त्य गर्ने थियो, भने आजको चुनौती हामीले उत्पादित विद्युतलाई कसरी खपत गर्ने ? खपत कसरी बढाउने ? भन्ने छ । हिजोका दिनमा हामीले खपतका विषयमा कम खपत गर्नु, विद्युतीय सामग्रीहरु कम चलाउनुस् भनेर आह्वान गरेका थियौं । तर, अहिले हामीले धेरै विद्यूत खपत गरौं, इलेक्ट्रिकल भेहिकलहरु पनि चलाउँ भनिरहेका छौं ।’
उहाँले फेरि भन्नुभयो, ‘हिजोको समयमा विद्युत कम खपत गरेर लोडसेडिङ गर्नुपर्ने थियो, भने आज चाँहि कसरी डिमाण्ड बढाउने ? ताकि हाम्रो उत्पादित विद्युत खेर नजाओस् भन्ने चुनौती छ । प्राधिकरण विगत लामो समयदेखि घाटामा थियो, भने ३५ अर्ब जतिको संचित घाटालाई पूर्ति गरेर अहिले पाँच अर्ब जति संचित नाफामा आइपुगेका छौं । यो अवस्था भनेको प्राधिकरणको लागि एकदमै महत्वपूर्ण विषय हो ।’
संस्थानै घाटामा गएको अवस्थामा उक्त संस्थाले धेरै पर्फमेन्स दिन नसक्ने बताउँदै कार्यकारी निर्देशक घिसिङले अगाडि भन्नुभयो, ‘अहिले हामी बार्षिक लगभग ११ अर्बको नाफामा छौं । अब त्यसलाई मेन्टेन गर्न चाँहि धेरै चुनौती छ ।
यसलाई मेन्टेन गरेर अगाडि बढ्नुपर्छ । यसपाली हामीले उपभोक्ताको महशुल पनि घटाएका छौं । डेडिकेटेड रङ्ग लाइनका महशुललाई हटाइनै सकेका छौं, भने अन्य ग्राहकका महशुललाई पनि हामीले ८÷९ प्रतिशत घटाएका छौं । ८÷१० युनिटसम्मको विद्युत खपत गर्ने ग्राहकहरुलाई इनर्जी शूल्क निशूल्क नै गरेका छौं ।’
त्यस्तै, उहाँले आफ्नो २५ प्रतिशत चुहावटलाई १५ प्रतिशतमा झारेको बताउँदै भन्नुभयो, ‘त्यस चुहावटलाई पनि हामीले कम गर्दै हाम्रो प्राधिकरणको आर्थिक अवस्थालाई कायम राख्नु पर्ने हुन्छ । यो भन्दा पनि राम्रो गर्नुपर्ने भन्ने हुन्छ । तर, व्यवस्थापनमा राम्रो भएन भने फेरि पनि घाटामा जाने अवस्था रहन्छ ।’
बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :
Source: News24Nepal
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]