बैशाखमा कन्चनजंघा ‘भ्यू पोइन्ट’मा सिरिजंघा महोत्सव हुदै

काठमाडौं । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पर्यटन प्रर्वद्धन गर्ने उद्देष्यका साथ आगामी बैशाखमा विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्बोच्च हिमाल कन्चनजंघा जाने पदमार्गमा पर्ने नयाँ झोडेनीमा सिरिजंघा महोत्सव आयोजना गर्ने भएको छ ।

उक्त महोत्सव आयोजक सचिवालय समितिले गत मंसीर २३ गते सम्पन्न पालिकाको कार्यपालिका बैठकमा पेश गरेको महोत्सव आयोजना गर्ने मिति र स्थानसहितको प्रस्ताव सोही बैठकबाट सर्वसम्मतीले स्वीकृत गरिएको थियो । नयाँ झोडेनीमा आगामी बैशाख १३ देखि १५ गतेसम्म आयोजना हुने उक्त महोत्सवमा ४५०० मिटर उचाइको म्याराथुन प्रतियोगीता र साँस्कृतिक कार्यक्रम गर्ने कार्ययोजना रहेको छ । म्याराथुन प्रतियोगीताका लागि प्रारम्भिक रुपमा नयाँझोडेनी र मछेवा विचको दुरी कायम गरिएको र यो स्थान कन्चनजंघा हिमश्रृंखला दृष्यावलोकनका लागि सबैभन्दा उत्तम ‘भ्यू पोइन्ट’ मानिन्छ ।

सो समयमा झण्डे डाँडाबाट मकालुदेखि कन्चनजंघासम्मको लामो सुन्दर हिमश्रृंखला अवलोकन गर्न सकिने, राष्ट्रिय फूल लालीगुराँस र चिमालले छपक्क छोपेको पहाड, पहाडको शिरैमा सेताम्मे हिमाल, चौँरी र याकजस्ता हिमाली जनावरसंगै हिमाली धुपी र सल्लाहरुले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक र लोभलाग्दो बनाएको हुन्छ । यहाको दुर्लभ प्राकृतिक सौन्दर्यता देखेपछि यात्राको थकान सजिलै मेटिन्छ । आन्तरिक पर्यटकहरुमा हिमाल हेर्ने रहर भएता पनि त्यो जोखिमपुर्ण हुने भ्रम रहेकोले उक्त भ्रमलाई चिर्दै कम खर्चमा सहज तरिकाले नजिकबाट हिमश्रृंखलाको अवलोकन गराउदै आन्तरिक पर्यटक प्रर्वद्धन गर्ने उद्देष्यका साथ महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।

सिरिजंघा गाउँपालिकाले निर्माण गरिरहेको याम्फुदिनको आम्जिखोलादेखि कन्चनजंघा बेस क्याम्पसम्मको साहसिक पदमार्गको अनुगमन तथा महोत्सव आयोजनाको सम्भाव्यता अध्ययनमा निम्ति गत कार्तिक महिनामा अनुगमन, अवलोकन तथा भ्रमण कार्य सम्पन्न गरि तयार पारिएको प्रतिवेदन बमोजिम आगामी बैशाखमा सिरिजंघा महोत्सव आयोजना हुन लागेको हो । महोत्सवबाट कन्चनजंघा क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्