मुक्कुमलुङमा अनिश्चितकालीन यातायात बन्द स्थगन
काठमाडौं । मुक्कुमलुङ(पाथीभरा)क्षेत्रमा जर्वजस्ती निर्माण गर्न खोजिएको केबलकारको विरोधमा गत भाद्र २४ गतेदेखि आयोजित अनिश्चितकालीन यातायात बन्द आजदेखि स्थगन गरिएको छ ।
आज आन्दोलनकारी ७ संस्थाले साझा विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा केबलकार निर्माणका गतिविधिहरु अघि नबढाएसम्मका लागि बन्द स्थगन गरेको बताएका छन् । विज्ञप्तिमा केबलकार निर्माण कम्पनी अविलम्व खारेज गर्न माग गर्दै केबलकार खारेज नभएसम्म अन्य संघर्षका कार्यक्रमहरु जारी रहने बताइएको छ ।
पवित्र मुन्धुमी थलो मुक्कुमलुङमा पटक पटक भएका सहमति विपरीत राज्यशक्ति र सत्ताको आँडमा केबलकार निर्माण अघि बढाउन खोजिएको भन्दै आन्दोलनकारी पक्षले केबलकार निर्माण कम्पनीलाई ७ दिनभित्र मुक्कुमलुङ छाड्न अल्टिमेटम दिएका थिए । अल्टिमेटमको समयसीमाभित्र कुनै उपलव्धी नभएपछि ताप्लेजुङको सदरमुकामदेखि मुकुम्लुङ जाने बाटोमा रहेको तल्लो फेदीसम्म अनिश्चितकालीन यातायात बन्द गरिएको थियो ।
आदिवासी लिम्बूहरुको पवित्र मुन्धुमी थलो मुक्कुमलुङलाई हिन्दूकरण गरि पाथीभरा बनाइएको र त्यसमा बलमिच्याइ गरी केबलकार बनाउन लागिएको भन्दै ७ संस्थाहरु मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समिति, लिम्बु थरगत संस्था(याक्थुङ सयङ) सहजीकरण समुह, प्रदेश नं. १ पुनः नामांकन अभियान समिति र मुक्कुमलुङ तान्सेःप् चुम्भोको नेतृत्वमा आन्दोलन जारी छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]