घरायसी विवादले लियो श्रीमान्श्रीमतीकै ज्यान, श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं–१० रमाइलोचोकमा आइतबार राति नरमाइलो घटना घट्यो । घरायसी विवादले गर्दा एक दम्पतीकै ज्यान गएको छ ।

भरतपुर–१०, रमाइलोचोकस्थित आचार्य निवासमा घरको तीनतला माथि रहेको बैठक कोठामा ३५ वर्षीया श्रीमती रुष्मालाई राति १०ः२५ बजेको समयमा खुकुरी प्रहार गरी तीन तलाबाट हाम फालेका ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रुष्मालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा अस्पतालले राति १०ः४० बजे मृत घोषणा गरेको थियो ।
खुकुरी प्रहारलगत्तै तेस्रो तलाबाट हामफाल्दा सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेका कृष्णप्रसादलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उनको पनि अस्पतालले राति ११ बजे मृत घोषणा गरेको थियो ।
के कारणले घट्यो घटना ?
लामो समय विदेश बसेर कृष्णप्रसाद एक महिनाअघिमात्रै कतारबाट घर फर्किएका थिए । उनकी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य घिमिरे राष्ट्रिय मावि तोरीखेतमा शिक्षण पेसा अंगाल्दै आएकी थिइन् । उनीहरुका १२ वर्षीया एक छोरी छन् । घटना हुँदा घरमा छोरीमात्रै थिइन् ।
सानो परिवारमा पनि घरायसी विवादले खटपट सुरू भएको थियो । रुष्माले फेसबुकमा विभिन्न समयमा लेखेको स्टाटसले पनि उनीहरुको सम्बन्ध राम्रो नरहेको बुझ्न सकिन्छ । निरन्तरको खटपटले गर्दा असार २ गते रुष्माले जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाअन्तर्गत मुद्दा दर्ता गराएकी थिइन् । प्रहरीको रोहवरमा दुवैजना अलगअलग रहने सहमति गरेर उनीहरु फर्किएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारी बताउँछन् ।
सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनीहरु आइतबार दुवै जना संसारबाटै बिदा भए । डिएसपी अधिकारीका अनुसार घटनाको प्रकृति हेर्दा कृष्णप्रसादले श्रीमतीको हत्या गरी आत्महत्या गरेको देखिएको छ । अहिले दुवै जनाको शव भरतपुर अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
रुष्माको माइती पूर्वी चितवनको रत्ननगर–१६, पिठुवामा पर्छ । उनी द्वारिकादास माविका निवर्तमान प्रधानाध्यापक नेत्र घिमिरेकी छोरी हुन् । घटनापश्चात् उनको माइतीगाउँ पिठुवा पनि शोकमा डुबेको छ ।
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु