
जसपालाई मेयर छाड्ने केन्द्रको निर्देशनपछि पालुङटार कांग्रेसका सबै उम्मेदवारले बुझाए राजीनामा
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई मेयर छाडेर उपमेयर लिई स्थानीय चुनावमा जान नेपाली कांग्रेस केन्द्रले निर्देशन दिएको विरोधमा गोरखाको पालुङटारमा कांग्रेसका सबै उम्मेदवारले राजीनामा बुझाएका छन्।
गोरखामा पाँचदलीय गठबन्धनबीच मित्रवत प्रतिस्पर्धाको सहमति भए पनि केन्द्रबाट जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएर चुनावी तालमेल गर्नुपर्ने अडान राखेका थिए।
केन्द्रकै दबाबपछि कांग्रेसबाट पालुङटार मेयर उम्मेदवार रहेका दिपकबाबु कँडेलले वक्तव्यमार्फत् आफू पार्टी केन्द्रले गरेको निर्णय मान्न तयार रहेको विज्ञप्ति आइतबार निकालेका थिए।
पालुङटारमा जसपाले कांग्रेससँग तालमेल गर्न भन्दै यसअघि उपमेयर उम्मेदवारलाई फिर्ता गरेको थियो। मेयर आफूलाई राखेर जसपाले उपमेयर कांग्रेसलाई दिने गरी चुनावी तालमेल गर्न लागेको छ।
जसपाबाट मेयरमा प्रेम गुरूङ उम्मेदवार छन्। कांग्रेसबाट मेयरमा कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठले उम्मेदवारी दिएका थिए।
साथै कांग्रेसबाट उम्मेदवारी दिएका ५२ जनाले आइतबार नै चुनावी तालमेलको विरोध गर्दै पार्टी नगर कार्यसमितिमा राजीनामा बुझाएका छन्। अरू कुनै पार्टीका उम्मेदवारलाई मेयर मानेर चुनावमा जाने हो भने आफूहरूले उम्मेदवारी छाड्ने चेतावनी उनीहरूको छ।
जिल्लामा दलहरूबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भए पनि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपछि पनि केन्द्रबाट हस्तक्षेप भएको भन्दै कांग्रेसभित्र असन्तुष्टि छ।

जसपालाई मेयर छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजीसमेत गर्ने गरेका छन्।
पालुङटार बाबुरामको गृहनगर हो। कांग्रेस कार्यकर्ताले भने बाबुरामको दबाबका कारण मेयर छाड्न नहुने बताइरहेका छन्। उनीहरूले मेयर उम्मेदवार फिर्ता लिने हो भने वडाहरूमा पनि चुनाव नलड्ने अडान राखेका छन्।
पालुङटारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावदी, राप्रपालगायत दलले पनि उम्मेदवारी दिएका छन्।
गोरखामा उम्मेदवारी दर्ताअघि र पछि पनि बसेको पाँचदलीय गठबन्धन बैठकले मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए। तर उम्मेदवारी फिर्ता गर्ने समय सकिँदासमेत चुनावी तालमेलको प्रयास र दबाब भइरहँदा कांग्रेसभित्र केन्द्रको निर्देशनलाई लिएर असन्तुष्टि छ।
गत शुक्रबार कांग्रेस सभापति देउवाले मेयर उम्मेदवार कँडेलको उम्मेदवारी फिर्ताबारे निर्वाचन अधिकृत कार्यालयमा पत्र पठाएका थिए। तर अपरान्ह ५ बजेपछि मात्रै पत्र पुगेको भन्दै मेयर उम्मेदवार कँडेलको उम्मेदवारी कायमै थियो।
०७४ मा भएको स्थानीय चुनावमा कांग्रेसबाट कँडेल मेयर जितेका थिए।
यस्तो छ पत्र:
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]