प्रतिगमन तत्कालका लागि पराजित भएपनि खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार  शुभकामना सन्देश जारी गर्दै प्रचण्डले साझा संघर्षबाट तत्कालका लागि मात्र प्रतिगमन पराजित भएको बताए ।

उनले लेखेका छन्, ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गर्‍यो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन ।

उनले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीको रक्षासहित समाजवादको आधार तयार पार्नु कम्युनिस्टको ऐतिहासिक जिम्मेवारी हुन आएको बताए ।

प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा वाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पनि अपील गरे। ‘प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम(लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ,’ उनले भनेका छन् ।

यही मान्यताका आधारमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु