पन्छीको अवैध कारोबार गर्न विराटनगरले दियो अनुमति

३ मंसिर, विराटनगर । नेपालमा घरपालुवा बाहेकका पन्छी बेचबिखन गर्नका लागि प्रतिबन्ध छ । तर विराटनगर महानगरपालिकाले पन्छी बिक्रीकै लागि दर्ता प्रमाणपत्र दिएको भेटिएको छ ।

सव डिभिजन वन कार्यालय विराटनगरले सञ्चालन गरेको स्वीप अप्रेशनका क्रममा विराटनगर महानगरपालिका–४ ले ‘परी बर्डस सप’ सञ्चालनका लागि अनुमति दिएको पाइएको हो । वडा कार्यालयले गत भदौ १ गते दर्ता प्रमाणपत्र दिएको थियो । पन्छी बिक्री अबैध भएको जानकारी पाएपछि कात्तिक ३० गते दर्ता खारेज गरेको छ ।

पसल सञ्चालनका लागि दिएको अनुमति पत्रमा वडा अध्यक्ष देवेन्द्रराज पोखरेलले हस्ताक्षर गरेका छन् । चरा बिक्रीका लागि महानगरको भेटनरी शाखाले पनि सहमति दिएको थियो ।

सवडिभिजन वन कार्यालय विराटनगरका प्रमुख परमेश्वर पासवानले पन्छी पालन नीति र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले बिक्री अबैध भएको जानकारी गराएलगत्तै वडा अध्यक्ष देवेन्द्रराज पोखरेलले दर्ता खारेज गरेका थिए ।

नगरले स्वीकृती दिएपछि वडाबाट बिक्री गर्न अनुमति दिएको वडा अध्यक्ष पोखरेलको भनाइ छ । चरा बिक्रीको अनुमति आफ्नो कार्यक्षेत्रमा नभएपछि दर्ता खारेज गरेको उनले बताए ।

चरा बिक्री गर्न दिंदा कमजोरी भएको उनले स्वीकार गरे । ‘महानगरको पशुपन्छी शाखाले राय दिएपछि हामीले अनुमति दियौं,’ उनले भने, ‘तर हाम्रो कार्य क्षेत्रभित्र नपर्दाे रहेछ, वन कार्यालयको समन्वयपछि दर्ता खारेज गर्यौं ।’

बजारमा पन्छीको कारोबार

Sagoon Host

पन्छी पालन नीति २०६८ ले पन्छीका रुपमा हाँस, खुकुरा, परेवा, बट्टाई, टर्की, अस्ट्रिच कालिज, लौकाट र च्याखुरा पाल्न तथा बिक्री गर्न पाउने उल्लेख छ । तर विराटगरमा भने प्राकृतिक बासस्थानमा बस्ने जंगली चराहरुको कारोबार भइरहेको पाइएको छ ।

सवडिभिजन वन कार्यालय विराटनगरले गरेको स्वीप अप्रेशनमा तीन जना पन्छीका कारोबारी पक्राउ परेका थिए । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर चरालाई छाडिएको थियो ।

‘भारतबाट चरा ल्याएर यहाँ बिक्री गर्दा रहेछन्,’ सवडिभिजन वन कार्यालयका प्रमुख  पासवान भन्छन्, ‘नेपालमा तोकिएका पन्छी बाहेकको बिक्री र पालन प्रतिबन्ध छ ।’

20% OFF SAGOON

उनका अनुसार भारतबाट आयात गरिएका चरासँगै रोगपनि नेपाल भित्रिरहेको छ । ‘चोरबाटोबाट आउने चराहरुको स्वास्थ्य जाँच हुँदैन,’ उनले भने, ‘चरामा भएको रोग कुकुर र घरपालुवा पन्छीमा सरिरहेको छ ।’

चरोको कारोबार अवैध भएपनि लुकिछिपी भइरहेको उनले बताए । रोक्नका लागि जनता पनि सचेत हुनुपर्ने उनले बताए । ‘चरा कारोबार नियन्त्रणका लागि १० दिन स्वीप अप्रेशन चलाउँदा भारतबाट सहज रुपया आयात हुने गरेको पाइयो,’ उनले भने, ‘विराटनगरमा दर्ता भएको पसलले अनलाइन मार्केटिङ गरेर पनि चरा बेचिरहेको भेटियो ।’

गत भदौंमा महानगरपालिकाले सञ्चालनका लागि अनुमति दिएको परी बर्ड सपले काठमाडौंबाट चरा आयात गरी बिक्री गरेको बयान दिएको थियो । पसल युवराज फनैत (थारु)को नाममा दर्ता थियो । तर यसको सञ्चालकको रुपमा अरु व्यक्ति पनि थिए । महानगरपालिकाले दर्ता गरी बिक्रीको अनुमति दिएको पसललाई बन्द गर्न लगाइएको पासवानले बताए ।

विराटनगरमा चराको बिक्रीका लागि शोरुम खोलेका युवराज थारुले काठमाडौंबाट चरा ल्याएर बिक्री गरेका थिए । पछिल्लो पटक १० प्रजातीका ४५ वटा चरा ल्याएका थिए । दर्ता खारेज भएपछि तीन वटा चरा मात्रै उनले वन कार्यालयमा बुझाएका छन् । थारुलाई चरा उपलब्ध गराउने बिक्रेता पनि वैधानिक होइन । अवैध रुपमा व्यावसाय गरेका काठमाडौंका व्यक्तिले स्टिमेट बिल बनाएर चरा पठाएका थिए ।

खरिद सस्तो, बिक्री मनलाग्दी

विराटनगरबाट नियन्त्रणमा लिइएका तीन जना चरा कारोबारीहरुले भारतको बिहारमा रहेको घुर्ना बजारबाट चरा किनेर ल्याएको बताएका थिए । बजरी, सुगालगायतका चराहरु घुर्ना बजारबाट सस्तोमा ल्याउने र यहाँ महँगोमा बिक्री गरेका थिए ।

सुगाको चार सय, एक सयमा खरिद गरी ल्याएर विराटनगरमा एक हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताएका थिए । चराको प्रजाती र आकार अनुसार व्यापारीले फरक–फरक मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो ।

घुर्नाबजारबाट विराटनगर हुँदै भित्रिएका पन्छी बिक्रीका लागि जनकपुरमा पनि पुगेको भेटिएको पासवानले बताए । उनका अनुसार नेपालमा बिक्री र पालन अवैध भएपनि १० दिनको अनुसन्धानका क्रममा देशभर कारोबारीको नेटवर्क रहेको भेटिएको थियो ।

शिकारीका कारण बगडी प्रजातीको चरा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । पासवानका अनुसार बगडी चरा उखुबारी आसपास पाइन्छ । शिकारीले उखुबारीमा गएर बगडी मार्दै होटलमा ल्याएर बिक्री गर्ने गरेको भेटिएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु