
सिरीजंघा महोत्सवमा प्रस्तृती दिदै चर्चित कवि, कलाकारहरु
काठमाडौं । पर्यटन प्रर्वद्धन गर्ने उद्देष्यका साथ आगामी बैशाख १३ देखि १५ सम्म आयोजना हुन गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ मा राष्ट्रियका चर्चित कवि, गायक तथा कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित महोत्सवको अन्तीम दिन बैशाख १५ गते कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा हुने साहित्यीक तथा सास्कृतिक कार्यक्रममा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू, कवि नवराज पराजूली, गायक भीम लिम्बू, गोविन्द लिम्बू, प्रितीका बेघासंगै रंगकर्मी विष्णु मोक्तान र हाँस्य कलाकार प्रकाश लिम्बू रियोको विशेष प्रस्तृति रहने आयोजकले बताएका छन् ।
प्रतिष्ठीत पद्मश्री पुरस्कार विजेता पराजुली लोकप्रिय कवि हुन् भने बेबी, आइ लभ यु बोलको गीतबाट चर्चा कमाएका गायक ताराप्रकाशले के साँच्चै तिमी.., सरे सरे.., पिरतीको मीठो तिर्सनालगायतका चर्चित गीतहरु गाएका छन् भने दर्जनौ नेपाली चलचित्रहरुमा उनको संगीत रहेको छ । ७० भन्दा बढी गीत गाइसकेका गायक भीम लिम्बूको माया मेरो झुटो रे, धानै नाचिन्छ, खुल्यो है खुल्यो लगायतका गीतहरु स्रोता, दर्शकहरुले निकै रुचाएका छन् भने चर्चित रियालिटी शो भ्वोइस अफ नेपालको सिजन फोरमा प्रतिस्पर्धीका रुपमा सहभागी गायक, गायिका हुन् गोविन्द लिम्बू र पृतिका बेघा ।
यसैगरि रंगमञ्चमा सक्रिय मोक्तान नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य समेत हुन् भने “कान ठाडे” उपनामले चिनिएका हाँस्य कलाकार प्रकाश लिम्बू “रियो”ले उफ् ! आज भोली, ल्याप्चेजस्ता हास्य श्रृंखलाहरुमा अभिनय गरेका छन् ।
साँस्कृतिक कार्यक्रमको अतिरिक्त महोत्सवअन्तरगत कंचनजंघा साहसिक पदमार्ग अवलोकन, जलवायु परिवर्तनको स्थलगत अध्ययन, कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता २०८२, चौरी, याक प्रवर्द्धन तथा प्रदर्शन, माउण्टेन साइकिलिङ आदि कार्यक्रमहरु आयोजना हुने सिरीजंघा पर्यटन महोत्सव सचिवालय समितिले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]