
एमाले र कांग्रेसमाथि खनिए प्रचण्ड र रेनु !
भरतपुर । नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरको एक होटलमा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिएको थियो ।
कार्यक्रममा बोलेका पार्टी अध्यक्ष प्रचण्ड र उनकी छोरी रेनु दाहाल नेकपा एमाले र कांग्रेसमाथि खनिए । चाडपर्वको शुभकामना दिनुको साटो उनीहरु एमाले अध्यक्ष केपी ओली र कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठविरूद्ध बोलेर समय खर्चिए । आफू र माओवादी केन्द्रसँग बदला लिनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको प्रचण्डले दाबी गरे । केपी ओली मानसिकरुपले हारिसकेको भन्दै उनले आफूलाई नै ताकेर चितवनमा महाधिवेशन गर्न लागेको बताए ।
‘उनको एकमात्र उद्देश्य जसरी सकिन्छ प्रचण्ड र माओवादीसँग बदला लिने हो’, उनले भने, ‘उनी भित्र त विक्षिप्त भएका छन् । पहिला प्रचण्ड र माओवादीलाई ठीक पार्न भनेर माडीमा राम–लक्ष्मण ल्याइदिए । जाली–फटाहासँग त लड्न सकिन्थ्यो, राम–लक्ष्मणसँग त लड्ने कुरा आएन । त्यसबाट धेरै फाइदा नहुने भएपछि बुटवलमा तय भएको महाधिवेशन सारेर भरतपुरमा ल्याउने निर्णय गरे ।’
मानसिकरुपले ओली हारिसकेको कुरा यहीँबाट पुष्टि हुने उनले बताए । त्यसैगरी, अब चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको उनले बताएका छन् । निर्वाचनमा चितवन राजनीतिक कुरूक्षेत्र बन्न लागेको उनको भनाइ थियो । ‘देशभरिको ध्यान चितवनमै छ । देशबाहिरका मान्छेको ध्यान पनि बिस्तारै चितवनमै केन्द्रित हुँदैछ’, उनले भने, ‘चितवनमा चुनावमात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुुँदैछ ।’ अबको संघर्ष दुईवटा वर्ग र विचारबीचमा लडाइँ भएको उनले बताए ।
ओली प्रवृत्तिमा हिजोका राजामहाराजा र तिनका आसेपासेदेखि लिएर संघीय गणतन्त्रलाई मन नपराएका विदेशी प्रतिक्रियावादी रहेको उनले आरोप लगाए । त्यस्तो प्रवृत्तिविरूद्ध नेपाली जनता र त्यसको नेतृत्व गर्ने माओवादी केन्द्र लड्न लागेको उनले बताए । ‘यतिबेला यसरी नेपाली राजनीति दुई कित्तामा विभाजित छ । दुई कित्ताबीचको लडाइँको केन्द्रबिन्दु चितवन हुने खतरा भनूँ वा गौरव प्राप्त हुँदैछ’, उनले भने, ‘जनताले जित्ने हो कि वैरीले जित्ने हो भन्ने कुराको फैसला चितवनको लडाइँमा देखिनेवाला छ ।’
कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्लामा जान लागेको भन्ने थाहा पाएको भन्दै उनले आफू डराउने खालको मान्छे नभएको बताए । चितवन छाडेर कतै नजाने भन्दै उनले अबको चुनावमा सबै प्रतिगमनकारीलाई बडार्न मन लागेको बताए ।
‘प्रचण्ड र रेनुलाई लखेट्छु भन्नु विडम्बना’

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले प्रचण्ड र रेनुलाई चितवनबाट लखेट्छु भन्नु विडम्बनाको कुरा भएको प्रचण्डले बताए । कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउनकै लागि आफूले गठबन्धन बनाएर लगिदिएको भन्दै उनले भने, ‘मैले त सोच्थेँ, चितवनका कांग्रेस खुसी भए होलान् । प्रचण्डलाई धन्यवाद भन्लान् भन्ने ठानेको त प्रचण्ड र रेनुलाई चितवनबाट लखेट्ने भनेर यहाँका सभापति भन्नेले बोले । यो त बिडम्बनाको कुरा भयो ।’
कांग्रेस सभापति श्रेष्ठले वर्गीय स्वार्थअनुसार बोलेको उनले आरोप लगाए । ‘चुनावको नतिजाको कुरा गर्ने हो भने पनि कांग्रेसले २६ सिट जितेको हो । माओवादीले ३३ सिट जितेको हो । कांग्रेसले भन्दा धेरै सिट जितेका छौँ, तर पनि देशको राजनीतिलाई ट्रयाकमा ल्याउन भनेर शेरबहादुरजीलाई प्रधानमन्त्री बनाएम्’, उनले भने ।
कार्यक्रमको आयोजकका तर्फबाट स्वागत मन्तव्य राखेकी रेनु दाहालले आफूहरुलाई जतिधेरै लखेट्ने कुरा गर्छन् त्यतिधेरै जनताको सेवक भएर काम गर्ने बताइन् । ‘रातदिन बिनास्वार्थ काम गर्दैगर्दा लखेट्ने कुरा भएका छन् । अन्त नै तय भएको महाधिवेशन भरतपुरमा ल्याउने परिस्थिति बनेको छ । सबैतिरबाट घेराबन्दी गर्ने परम्परागत परिपाटी अहिले पनि हामी देख्न सक्छौँ’, उनले भनिन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




