
अप्रेसनमा धेरै समय पालो कुर्न पर्दैन : भरतपुर अस्पताल
भरतपुर । इच्छाकामना–३ की एक महिला गत चैत महिनामा पत्थरीको अप्रेसनका लागि भरतपुर अस्पतालमा आइन् । डाक्टरले आगामी मंसिर महिनामा पालो आएको भन्दै उनलाई घर पठाए । दुखाइ अति नै भएपछि गत हप्ता उनी पुनः भरतपुर अस्पताल आइन् । असह्य भएपछि अस्पताल आएकी उनका लागि पुनः तीन महिनापछि अप्रेसन गर्न सकिने भनी डाक्टरले सुझाए ।
तर, भरतपुर अस्पतालले अब भने यस्ता अप्रेसनका लागि तीन वा चार महिना कुर्न नपर्ने बताएको छ । अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले भने, ‘हिजोको दिनमा बिरामीलाई धेरै नै असुविधा भएकोप्रति म सचेत छु, अब बिरामीले दुःख पाउने छैनन्, अर्थात् छोटो समयमै सेवा पाउनेछन् ।’
‘चिनेर गर्ने वा दूरबिनमार्फत गर्ने भन्ने रोजाइमा धेरै बिरामीले दूरबिनलाई सहज मानेको र डाक्टरहरुले पनि त्यसलाई नै बढी फोकस गरेकाले अप्रेसनका लागि पालो नआएको हो’, मेसु प्राडा पौडेलले भने, ‘चिरफारमार्फत गर्न चाहनेका लागि बढीमा २ हप्तामा सेवा उपलब्ध छ ।’ पछिल्लो प्रविधि र सजिलो भएकाले दूरबिनलाई रूचाइएको भन्दै उनले अस्पतालले नयाँ मेसिन थप गर्न लागेको समेत जानकारी दिए ।
महालेखा परीक्षकको कार्यालयले अस्पतालमा पत्थरीको अप्रेसन सेवा लिन पनि ४ महिनासम्म कुुर्नुपर्ने अवस्था रहेको भनी कमजोरी औँल्याएको थियो । कुनै संस्था वा व्यक्तिले दिएको सकारात्मक सुझाव अस्पतालको सुधारका लागि मह¤वपूर्ण रहने भएकाले आफूहरुले अस्पतालमा हाल भए गरेका कमीकमजोरीलाई सुधार्ने प्रयास भइरहेको डा. पौडेलको भनाइ छ । ‘सबै कुरा एकैपटक सुधार गर्न सकिँदैन’, उनले भने, ‘बाहिर नराम्रो भनेर प्रचार भए पनि वास्तवमा भरतपुर अस्पतालमा धेरै सुधार र परिवर्तन आइसकेको छ ।’
अनलाइनबाटै टिकट
भरतपुर अस्पतालमा अब ओपिडी टिकटका लागि अनलाइन सेवा प्रयोगमा ल्याउन लागिएको छ । बिमाबाहेकका बिरामीका लागि कात्तिक १४ गतेबाट अनलाइनबाटै टिकट काट्ने सुविधा दिन लागिएको भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले बताए ।
अस्पताल परिसरमा टिकट लिने ठाउँमा अत्यधिक भीड भएपछि अस्पतालले नयाँ सेवा थप्न लागेको हो । यसअघि बिरामीको चाप कम गर्नका लागि जिओपिडी सेवा बिहान ८ः३० बजेबाट सुरू गर्ने गरी शुभारम्भ गरिसकिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले मेडिफ्लो भन्ने एप्स डाउनलोड गरेर वा अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने र खल्ती डिजिटल पेमार्फत रकम तिर्न सकिने बताए । सुरूमा ओपिडी टिकटमा अनलाइन सेवा भिœयाएर पछि अन्य सेवाहरु पनि अनलाइनबाटै दिने तयारी भएको पौडेलको भनाइ छ । टिकटको शुल्क रू ३० रहेको छ ।

अस्पतालमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरू गरिएको बताए । उनले यो व्यवस्थासँगै टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले भने, “अहिले सबैको हातहातमा स्मार्ट मोबाइल छ । दुई/तीन सय जनाले अनलाइन टिकट लिनुभयो भने पनि धेरै सहज हुन्छ ।” अनलाइन टिकट सुरू गरेसँग टिकट काट्न लाइनमा बस्ने भीड कम हुने अपेक्षा गरिएको छ ।
अस्पतालले ओपिडीमा अत्यधिक भीड भएपछि गत असोज १८ गतेबाट जिओपिडी सेवा सुरू गरेको थियो । बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपिडी (फ्याम्लि मेडिसिन) सेवा सञ्चालन हुँदै आएको हो । बिहान ८ देखि टिकट खुल्ला हुन्छ भने ८ः३० बजेदेखि जिओपिडी परीक्षण गरिन्छ । यी दुवै सेवा सञ्चालन भएसँगै टिकट काट्न र ओपिडी परीक्षण गराउन निकै सहज हुने अस्पतालले जनाएको छ ।
सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




