
स्व.पत्रकार नेपालको परिवारलाई महासंघको सहयोग
भरतपुर । नेपाल पत्रकार महासंघ चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको परिवारलाई नगद सहयोग गरेको छ ।
महासंघको चितवन शाखाबाट ५० हजार र केन्द्रीय समितिबाट २५ हजार गरी ७५ हजार रूपैयाँ स्वर्गीय पत्रकार नेपालका भाइ शालिग्राम नेपाललाई चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीसहितका पदाधिकारीको उपस्थितिमा हस्तान्तरण गरिएको हो । शुक्रबार १३औँ दिनको पुण्य तिथि पारेर सहयोग गरिएको हो ।
पत्रकार महासंघ चितवन शाखाले महासंघका सदस्यता ग्रहण गरिसकेका पत्रकारको दिवंगत भएको अवस्थामा परिवारलाई केही सहज होस् भन्ने उद्देश्यले पहिलोपटक रकम सहयोग गरेको हो । विगत लामो समयदेखि चितवनमा रहेर कालिका एफएममा वरिष्ठ समाचार वाचकको रुपमा कार्यरत पत्रकार नेपालको गत असोज ३१ गते काठमाडौँमा निधन भएको थियो ।
पत्रकार नेपाल पत्रकारिता क्षेत्रमा मात्र नभई शिक्षा र साहित्य क्षेत्रमा पनि उत्तिकै क्रियाशील थिए । उनी गजल मञ्च चितवनका अध्यक्षसमेत थिए । भरतपुर–१० निवासी नेपालले चितवनका विभिन्न विद्यालयहरुमा प्राध्यापन गराउँदै आएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


