
एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ
काठमाडौं, भदौ १८-
अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् ।

त्यस्तै निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेत का अनुसार पक्राउ पर्नेमा सबै पुरुष रहेको जानकारी दिए ।
उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए । उक्त एमसीसीबारे राजनीतिक दल र तिनका नेता समेत विभाजित हुँदै आएका छन् ।

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् । उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



