हुलाकी सडकको बेथिति! जनप्रतिनिधि चिल्लो गाडीमा, हिलो र धुलोमा जनता

हेमन्त न्यौपाने
कञ्चनपुर, २६ मंसिर ।

सरकारले २०७३ साल माघ महिनामा कञ्चनपुरको डोकेबजारबाट शिलान्यास गरेको डोकेबजार-बेलौरी-बेलडाँडी-दैजी सडकखण्डको काम कछुवागतिमा हुँदा समेत सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अत्तोपत्तो छैन ।

सधै चिल्लो गाडीमा हुईकिने माननीय ज्युहरुलाई सडकको धुलो र हिलोले खासै फरक पार्दैन । यस क्षेत्रमा सर्वहारा जनताको पार्टी गरिव जनताको पार्टी भनिने कम्युनिष्ट पार्टीको सरकारमा प्रतिनिधित्व गर्ने जिल्ला समन्वय समितिका संयोजक देखि प्रदेशकै संसदीय दलका प्रमुख सचेतक हुँदै संघीय सरकारमा मन्त्री समेत छन । तर माननीयहरुले यस बिषयमा ठोस पहलकदमी चालेको यतिका बर्षमा देख्न जतनाले देख्न पाएनन् । नत स्थानीय तहका जनप्रतिनिधिले यसलाई प्रमुख प्राथमिकतामा राखे । यस बिषयमा चासो दिएर लागेको भए सम्भवतः यस सडकको यो हविगत हुने थिएन ।

हिलाम्मे सडक ।

 

यतिखेर, स्थानीयहरुद्वारा हुलाकी सडकको काममा ढिलासुस्ती गर्दै अलपत्र पार्ने ठेकेदारहरुको फोटो चोकचोकमा टाँस्ने काम सुरु भएसंगै यो बिषयले पुनः चर्चा पाएको छ । त्यसो त, चर्चा हुनु र नहुनुमा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई खासै असर गर्दैन । यो चर्चा जनताकै सेरोफेरोमा घुम्ने हो । हुलाकी सडकको विषयमा निरन्तर पछ्याउँदै आइरहेका एक नेता हुन पल्लव राज भट्ट ! बेलौरी नगरपालिकाको मेयर पदमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका भट्ट माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरीसंग पराजित भएका थिए । भट्ट हुलाकी सडक निर्माणका लागि ठेक्का हुने बेला देखि हाल सम्म यस सडकका बिषयमा पटकपटक बैठक राख्ने, सरोकारवालाहरुको समस्याका बारेमा बुझ्ने, छिटो काम गराउन पहल गर्ने एकमात्र नेता हुन भन्दा फरक नपर्ला । जनताले थाहा पाउने गरि निरन्तर यसका बिषयमा कुनै जनप्रतिनिधि लागेको जनतालाई जानकारी छैन ।

विहिबार नेता भट्टले सार्वजनिक गरेको व्यक्तिगत प्रतिवेदनमा नेपाली कांग्रेसका नेता रमेश लेखकले यसको अपजस लिनुपर्ने उल्लेख गरेका छन । उनले सडक समयमा निर्माण गर्नुपर्ने जिम्मेवारी भन्दापनि सानो पुँजी भएका ठेकेदारहरुले ठेक्का लिन सकुन् भनेर ६२ किलोमिटर सडकलाई ३ टुक्रा पारेर ठेक्का दिएको बताएका छन ।

त्यसो त, त्यतिबेला डोकेबजारमा भएको शिलान्यास कार्यक्रममा यस सडकलाई ३ टुक्रा पारेर ठेक्का दिनुको उद्देश्य काम छिटो होस् भन्ने रहेको तत्कालीन भौतिक निर्माण मन्त्री रमेश लेखकले बताएका थिए । संयोग हो वा नियति नेपाली कांग्रेस निकटका ठेकेदारहरुले सडकको ठेक्का पाए ! ठेक्कापट्टा भएको लामो समयसम्म कुनै काम अधि बढेन ! सडक निर्माण हुन्छ भन्ने बारेमै स्थानीयमा आशंका उत्पन्न हुन थालेको थियो । तत्कालीन अवस्थामा समेत संघीय सरकारमा बहालवाला भौतिक निर्माण मन्त्री रहेका लेखकले सो सडकको कार्य प्रगतिबारे चासो देखाउन छोडिसकेका थिए ।

Sagoon Host

त्यसै सिलसिलामा ३ टुक्रा मध्यको दुई टुत्रा अर्थात पहिलो डोकेबजार देखि बुट्टावारी र तेस्रो बेलडाँडी देखि दैजीको जिम्मा पाएका नेपाली कांग्रेसका नेता भिम बहादुर साँउद डडेल्धुराको परशुराम नगरपालिकाको मेयर बन्न पुगे । डडेल्धुरामा निकै लोकप्रियता कमाईरहेका ठेकेदार साउदले कञ्चनपुरका जनतालाई भने कष्ट भोगाईरहेका छन ।

तत्कालीन अवस्थामा नेपाली कांग्रेसबाट संविधान सभाका लागि निर्वाचित सांसद दिवान सिंह बिष्टले समेत सडक निर्माणमा भैरहेको ढिलासुस्तीका बारेमा खास पहल गर्न सकेनन् । प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेर नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले सरकारको बिरोध गर्ने बाहेक यस सडकको निर्माणमा भैरहेको लापरबाही र ढिलासुस्तीका बिषयमा पछ्याउन सकेको छैन ।

सडक निर्माणमा भएको लापरबाही र ढिलासुस्तीका बारेमा सामाजिक सञ्जालमा तर्क-वितर्क सुरु भएको छ । कसैले ठेकेदारलाई मात्र दोषी देखाइरहेका छनभने कतिले जनप्रतिनिधिलाई दोष दिएको देख्न सकिन्छ । त्यस्तै, कतिले जनता नै दोषी हुन पनि भनेका छन ।

20% OFF SAGOON

नेता भट्टले सार्वजनिक गर्नुभएको सो प्रतिवेदनलाई हेर्ने होभने ३० महिनामा काम सक्नुपर्ने ठेक्का पाएका निर्माण व्यावसायीले २०७६/४/३० भित्र काम सक्नुपर्ने थियो तर तेस्रो पटक म्याद थप गर्दा समेत सडकको पहिलो खण्ड ६५%, दोस्रो ६०% र तेस्रो पनि ६५% मात्र काम सम्पन्न भएको छ ।

निर्वाचनका बेला अब देश नै कायापलट हुन्छ झै भाषण गर्ने नेताहरु आफ्नो व्यक्तिगत जीवनमा कायापलट भएसंगै सबै बिर्सने गरेका छन । राजनीतिमै संलग्न रहेका ठेकेदारहरुलाई आम मानिसले हल्लाउन सक्ने कुरै भएन ।

 

नेता भट्टले फेसबुकमा राख्नुभएको प्रतिवेदन

https://m.facebook.com/story.php?story_fbid=3652301761523947&id=100002324778109

पृष्ठभुमि

कञ्चनपुरको दक्षिणीक्षेत्रको मेरुदण्ड मानिने हुलाकी सडक अलपत्र पर्दा यस क्षेत्रको विकासमा ठुलो असर परेको छ । ३० महिनामा काम सम्पन्न गर्ने गरि २०७३ माघ महिनामा मोहना-डोकेबजार-बेलौरी-बेलडाँडी-दैजी हुलाकी सडक खण्डको निर्माणको ठेक्का भएको थियो । ६२ किलोमिटर यस हुलाकी सडकलाई ३ टुत्रा पारेर ठेक्का दिइएको थियो । सडकलाई तत्कालीन भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेका थिए ।

यस सडक खण्डको कालोपत्रेका लागि पहिलो टुत्रा शर्मा राजेन्द्र जेबि कन्स्ट्रक्सनले ० किलोमिटर डोकेबजार देखि २० किलोमीटर बुट्टावारी सम्मको जिम्मा पाएको थियो । कम्पनीले ३० महिनामा सम्पन्न गर्नेगरि कुल ३६ करोड ४७ लाख ९९ हजारको बजेटमा ठेक्का पाएको हो ।

यसैगरि दोस्रो खण्ड बुट्टाबारी देखि बेलडाँडी सम्मको २० किलोमिटर देखि ४० किलोमिटर सडक निर्माणको लागि टेन्डर बाबा हाउस सिद्धिशाहीले लिएको थियो । यसको लागत ४१ करोड ४१ लाख ४९ हजार १२ रुपैयाँ रहेको छ ।

अन्तिम खण्डका लागि बेलडाँडी देखि दैजी सम्म ४० देखि ६२ किलोमीटरको टेन्डर पनि शर्मा राजेन्द्र जेबि कन्सट्रक्सनले पाएको थियो । जसको कुल लागत ३८ करोड ५७ लाख ३२ हजार रहेको छ ।

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यस सडक भएर दैनिक हजारौं साना तथा ठुला सवारीसाधन आवतजावत गर्ने गर्दछन । यस मोहनापुल-डोके बजार-बेलौरी-बेलडाँडी-दैजी हुलाकी सडकको ६२ किलोमीटर गुणस्तरीय डबललेन स्तरको ७ मिटर चौडा, माटोको चौडाइ ११ मिटर रहने तथा दुबै तर्फ २-२ मिटरको सोल्डर बनाइने बताईएको थियो । यस सडक डिबिएसटी लेभलको कालोपत्रे हुने सडक डिभिजन कार्यालय कैलालीले जनाएको थियो । भ्याट सहित ६२ किलोमीटर यस सडकको कुल बजेट १ अर्ब १७ करोडमा सुरुवाती सम्झौता भएपनि पछी बजेट थप गरिएको छ ।


समाचारका लेखक हेमन्त न्यौपाने हाम्रै साझा पत्रिका सम्पादक हुन । उनी हाल अष्ट्रेलियामा अध्ययनरत छन ।

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



हेमन्त न्यौपाने पहिलो प्रहरका सम्पादक हुन ।