पार्टी विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीले गरे देउवासँग घन्टौं छलफल

 

काठमाडौं,मंसिर ७-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद बढेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

शनिबार दिउँसो २ बजेपछि करिब तीन घन्टा प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता भएको स्रोतले सेतोपाटीलाई बतायो।

रिक्त रहेका संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएका थिए।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखा परेका पछिल्ला विवादबारे पनि कुरा निकालेको स्रोतको दाबी छ।

पार्टी फुट्ने अवस्थामा पुग्यो भने आगामी दिनमा सहकार्य गरी अगाडि जानु पर्ने विषयमा पनि प्रधानमन्त्री र देउवाबीच कुराकानी भएको स्रोतले बतायो।

बालुवाटारको छलफलमा सभापति देउवासँगै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी रहेको स्रोत बताउँछ।

Sagoon Host

कांग्रेस नेता लेखकले भने भेटमा आफू सहभागी भएको कुरा स्वीकारेनन्।

प्रधानमन्त्री र सभापति देउवाबीच भेटवार्ता भएको भन्ने सुने पनि आफू उक्त छलफलमा सहभागी नभएको नेता लेखकले बताए।

‘प्रधानमन्त्री र सभापतिजीबीच भेटवार्ता भएको भन्ने मैले पनि सुनेको हुँ,’ लेखकले भने, ‘के विषयमा कुराकानी भएको भन्ने मलाई थाहा छैन। म भेटवार्तामा सहभागी पनि थिइनँ।’

20% OFF SAGOON

ओली-देउवा भेटबारे दुबै पार्टीले औपचारिक जानकारी दिएका छैनन्।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटवार्ता भए/नभएको आफूलाई थाहा नभएको बताए। स्रोतका अनुसार उक्त भेटमा नेम्वाङ पनि सहभागी थिए।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव दर्ता गरेका थिए।

उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले आफ्नो राजनीति नै सिध्याउने गरी आएको अभियोगपत्रका रूपमा लिएका छन्।

प्रचण्डले उठान गरेका विषयलाई मंसिर १३ गते बस्ने सचिवालय बैठकमा लिखित जवाफसमेत दिने प्रधानमन्त्री ओलीको तयारी छ। स्रोत: सेतोपाटी

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु