म अझै ३० वर्षका युवासँग प्रतिस्पर्धा गर्न सक्छु: वामदेव गौतम (भिडियो सहित)

काठमाडौं,मंसिर ७– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूले अझै ३० वर्षका युवासँग राजनीतिक रूपमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्।

दाङको तुलसीपुरमा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सभा सदस्यसमेत रहेका गौतमले आफूले पार्टीमा लामो समय योगदान गरेको प्रसंग उल्लेख गर्दै अझै पनि युवासँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए।

‘म अझै ५-७ वर्ष त बाँच्छु होला भन्ने लाग्छ,’ गौतमले भने, ‘अहिले ५० वर्ष भएकाहरू मजस्तै लाग्छ। त्यही भएर ३०-४० वर्षका जवानसँग प्रतिस्पर्धा गर्न सक्छुजस्तो लाग्छ। म एउटा महत्वाकांक्षी भएर त होला।’

झन्डै एक घन्टा सम्बोधन गरेका उनले आफू ७ वर्षदेखि राजनीतिमा लागेकोदेखि मुलुकका हरेक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरेको बखान गरेका थिए।

पछिल्लो समय पार्टीमा समस्या उत्पन्न भएको र त्यो समाधान गर्ने प्रयास भइरहेको उनले बताए। इमान्दार कार्यकर्ताले उत्पन्न समस्या समाधान गर्न र पार्टी विभाजन नगर्न भनेर खबरदारी गरिरहेको उपाध्यक्ष गौतमले बताए।

खासगरी प्रतिपक्षले पार्टी फूट्छ भन्ने गरेको उनले बताए। स्थापित मिडियाले आफ्नो समाचार बिकाउन पार्टी विभाजनको प्रचारमा लागेको गौतमको आरोप छ।

Sagoon Host

‘हाम्रो समस्या कुन डिग्रीको हो, उनीहरूलाई मतलब छैन,’ गौतमले भने ‘तर, उनीहरूले त्यो डिग्रीलाई ह्वात्तै बढाइदिन्छन् र त्यसले गर्दा पार्टी आज फुट्ने हो कि भोलि फुट्ने हो भन्ने भाको छ।’

सँगै बसेर समस्या समाधानको प्रयास गरिरहेको गौतमको भनाइ छ। उनले पार्टीभित्र समस्या रहेको भने स्वीकारे।

20% OFF SAGOON

गौतमले मिलेको पार्टी विभाजनसमेत हुन सक्ने स्पष्ट पारे।

‘मिलेको पार्टी फुट्छ कि फुट्दैन भन्दा मिलेको पार्टी फुट्न किन सक्दैन,’ उनले प्रश्न गरे ‘ हाम्रो सिद्धान्त त्यो हो।’

मर्दै नमर्ने व्यक्ति कोही नहुने र त्यो प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुटनु कुनै नौलो कुरा नहुने उनको आशय थियो।

पार्टीमा दुबै अध्यक्षको हैसियत बराबर भए पनि सिनियारिटीको आधारमा पहिला केपी शर्मा ओलीको नाम लेख्ने भन्ने कुरा भएको उनले तर्क गरे। पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको भन्दै उनले जबसम्म नेताले आफूलाई ढाँटेर हिँड्छन् तबसम्म समस्या समाधान नहुने उनको भनाइ थियो। विधानमा दुई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहे पनि कहिले, को सहमत नहुने र कहिले, को सहमत नहुने परिस्थितिले गर्दा बैठकसमेत बस्न नसकेको उनले स्पष्ट पारे।

त्यस्तै पार्टीभित्र मात्रै छलफल नभएर विभिन्न कमजोरीका प्वालहरूबाट समेत बाहिर छलफल हुने गरेको हुँदा त्यसले पनि समस्या सिर्जना भएको उपाध्यक्ष गौतमले बताए। उनले नेकपाभित्रको विवादलाई कुखुराको बानीसँग पनि तुलना गरे।

‘खोरमा पालेको हैन, छोडुवा कुखराले जब कुनैपनि खाने कुरा फेला पार्छ त्यसले यति हल्ला मच्चाउँछ कि सारा कुखुरा त्यही झुम्मिन पुग्छन्,’ गौतमले थपे, ‘अहिले भएको त्यही हो र हामी पनि हल्ला सुनेपछि झुम्मिएर झगडा गर्ने खुकुराजस्तै भएका छौं।’

‘म यता गयो भने उता गुट बनायो भन्छन् र उता गयो भने अर्कैको गुटमा लाग्यो भन्छन्,’ गौतमले भने, ‘लौ यो त पिपलपाते हो, यसलाई विश्वास गर्नुहुन्न भन्ने गर्छन्।’

उनले आफूले कहिल्यै कुनै गुट निर्माणमा नलागेको र पार्टी एकताको पक्षमा सधैँ उभिँदै आएको दाबी गरे। स्रोत: सेतोपाटी

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु