बलात्कार प्रयासको घटना लुकाएको विरोधमा प्रदर्शन

२४ असोज, जनकपुरधाम । खडक नगरपालिका, सप्तरीमा भएको बलात्कार प्रयासको घटना लुकाउन खोजेको भन्दै युवाहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।

‘बलात्कार प्रयासको घट्नालाई ढाकछोप गर्न पाइँदैन, दोषीलाई कारबाही गर, बलात्कार गर्ने अपराधी जोगाउन पञ्चायती बसाउन पाइँदैन’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरुले स्थानीय गजेन्द्र चोकमा प्रदर्शन गरेका हुन् ।

बलात्कार प्रयासको घटनामा पीडक पक्षलाई जरिवाना तिराएर जनप्रतिनिधि र नेताले आफैं रकम लिएको र पीडितलाई उल्टै बयान फेर्न दबाब दिएको पाइएपछि हामी चुप लागेर बस्दैनौं’ प्रदर्शनमा सहभागी महिला अधिकारकर्मी सुनिता साहले भनिन्, ‘दोषीलाई कारबाही नगरिएसम्म हामी लगातार आन्दोलन गर्छौं ।’

प्रदर्शनमा सहभागी युवा सुरज यादवले जनप्रतिनिधी र स्थानीय नेताले अपराधीलाई संरक्षण गर्दा बलात्कारका घटना बढेको बताए । उनले बलात्कारीका साथै उनलाई संरक्षण गर्ने व्यक्तिलाई पनि कार्वाही गर्नुपर्ने धारणा राखेका छन् ।

१५ भदौमा खडक नगरपालिका ११ लालपुरकी दुई किशोरीसँग तीन जना युवकले बलात्कारको प्रयास गरेका थिए । पीडित परिवारले यसबारे प्रहरीलाई जानकारी गराएको थियो ।

तर जाहेरी दर्ता नगर्न मेयर हेमायु हक, वडाध्यक्ष रामकृष्ण चौधरी, नेकपा नेता शत्रुद्यन साह ‘आजाद’, जनता समाजवादी पार्टीका परमेश्वर साह, लक्ष्मी मण्डल, राजाराम यादव लगायतले इलाका प्रहरी कार्यालय कल्याणपुरमै पञ्चायती राखेर पीडक पक्षबाट पीडित पक्षलाई रु ५ लाख ५० हजार भराउने निर्णय गरेका थिए ।

पीडक पक्षबाट लिइएको ३ लाख ५ हजार परमेश्वर साह र लक्ष्मी मण्डलको संयुक्त हस्ताक्षरमा सृजना फाइनान्सको बोदे बर्साइन शाखामा खाता खोलिएर राखिएको छ । यो घटन बाहिर आएपछि परमेश्वर र लक्ष्मीले खाताबाट १ लाख ५० हजार झिकेर आफ्नै साथमा राखेका छन् । उनीहरुले रकम देखाएर आर्थिक प्रलोभनमा पार्ने र पीडित परिवारलाई बयान फेर्न दबाब दिने काम गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु