टाउकोमा लागेको चोटकै कारण भीमबहादुरको मृत्यु : पोस्टमार्टम रिपोर्ट, प्रहरी भन्छ– जातीय विभेदको गुन्जायस भेटिएन

भरतपुर । भरतपुर महानगर–पालिका–४, लङ्कूका ५८ वर्षीय भीमबहादुर विकको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको पुष्टि भएको छ । विकको टाउकोको पछाडिपट्टिको भागमा लागेको चोटका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट प्राप्त भएको प्रहरीले जनाएको छ । भरतपुर अस्पतालमा विकको शवको पोस्टमार्टम गरिएको हो ।

लङ्कूस्थित दुर्गाचोकमा दसैँको महानवमीका दिन दुई पुरूषको कुटाइबाट विकको मृत्यु भएको थियो । कुटपिटमा संलग्न स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले सोही दिन पक्राउ गरेको हो । उनीहरु हाल प्रहरीको हिरासतमा छन् ।

विकको पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ, रिपोर्टअनुसार टाउकोको पछाडिको भागमा लागेको चोटकै कारण विकको मृत्यु भएको भन्ने छ’, उनले भने ।

महानवमीको दिन भीमबहादुर बिहानैदेखि मदिरामा लट्ठ थिए । बीचमा मदिरा पिउन छाडेर पुनः सुरू गरेको तीन दिनमात्रै भएको थियो । मदिरामा लट्ठ भएका विक बिहान साढे ९ बजेको समयमा अपशब्द प्रयोग गरी होहल्ला गर्दै दुर्गाचोकमा पुगेपछि स्थानीय सीताराम बस्नेतले उनलाई प्लास्टिकको पाइपले हानेर लखेटे । त्यसको करिब १० मिनेटपछि पुनः अपशब्द प्रयोग गरी हल्ला गर्दै विक चोकमा पुगे ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार त्यसक्रममा विकले पल्लवी फार्मेसीका सञ्चालक दिलीप श्रेष्ठलाई अपशब्द बोल्दै गालीगलौच गरेका थिए । गालीगलौच र होहल्ला गर्दै बाटोपारि पुगेका विकलाई आक्रोशित बनेका श्रेष्ठले त्यहीँ पुगी एक झापड हानेर धकेले । धकेलेपछि विक भुइँमा उत्तानो परेर पछारिए । पिच सडकमा पछारिएका विकको टाउकोको पछाडिपट्टिको भागमा चोट लाग्यो । उनी बेहोस भए ।

विक बेहोस भएपछि झापड हान्ने श्रेष्ठ आत्तिए । आफ्नो फार्मेसीमा लगेर सामान्य उपचार गराउने प्रयास गरे । सम्भव नहुने देखेपछि आफ्नै गाडीमा हालेर श्रेष्ठले विकलाई चितवन मेडिकल कलेज पु¥याए । त्यहाँसम्म पुग्दा विकको मृत्यु भइसकेको थियो ।

जबर्जस्ती जातीयतातर्फ धकेल्ने प्रयास

Sagoon Host

विभिन्न संघसंस्था, एनजिओ र आइएनजिओले भने घटनालाई जबर्जस्ती जातीयतातर्फ धकेल्ने प्रयास गरेका छन् । जातीय विभेदका कारण विकको हत्या गरिएको उनीहरुको दाबी छ । प्रहरीले भने अहिलेसम्मको अनुसन्धानमा कुनै किसिमको जातीय विभेदको गुन्जायस नभेटिएको बताएको छ ।

स्थानीय प्रत्यक्षदर्शी दलित र गैरदलितसँग बयान लिने काम भइरहेको चितवन प्रहरी प्रवक्ता थापाले बताए । ‘केही प्रत्यक्षदर्शीसँग बयान लियौँ । जातकै कारण हत्या गरेको भन्ने अहिलेसम्म भेटिएको छैन’, उनले भने । मन्दिरमा बलि चढाउन पाउनुपर्छ भन्ने विषयमा विवाद हुँदा विकको हत्या भएको भन्ने अभिव्यक्ति पनि आइरहेका छन् ।

दुर्गाचोकको एउटा भवनको पहिलो तलामा सानो दुर्गा मन्दिर छ । मन्दिरमा कसैलाई पनि बलि चढाउन रोक लगाइएको वर्षौं भइसकेको छ । त्यसदिन भीमबहादुर केही सामान लिएर आउँछु भनेर घरबाट निस्किएको उनकी श्रीमती विन्दु विकले प्रहरीलाई बयान दिएकी छन् ।

20% OFF SAGOON

‘घरबाट अन्य सामान लिने भनेर मृतक भीमबहादुर निस्किएको उहाँकी श्रीमतीले बताउनुभएको छ’, प्रवक्ता थापाले भने, ‘मन्दिरमा बलि चढाउने कुरा पनि रहेनछ, अहिलेसम्मको अनुसन्धानमा जातीय विभेदको गुन्जायस भेटेका छैनौँ ।’ यद्यपि, प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अभियुक्तलाई पक्राउ गरेको २५ दिनसम्म प्रहरीले आफ्नो हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

हल्ला गर्नेलाई पिटेर मार्ने कि प्रहरीलाई बुझाउने ?

भीमबहादुरको हत्यारालाई हदैसम्मको कारबाही गर्नुपर्ने परिवारले माग गरेको छ । दलित भएकै कारण हल्ला गरेको भरमा भीमबहादुरलाई मारिएको उनकी कान्छी छोरी मीना विक बताउँछिन् । मन्दिरमा बलि चढाउन पाउनुपर्छ भन्दा गैरदलितबाट आफ्नो बुबाको हत्या भएको उनले बताइन् ।

‘बलि चढाउन पाउनुपर्छ भन्दा आक्रोशमा मेरो बुबालाई मारिएको हो’, उनी भन्छिन्, ‘हल्ला गरेको भरमा मार्न पाइन्छ ? हल्ला गर्नेलाई पिटेर मार्ने हो कि प्रहरीलाई बुझाउने हो ?’ परिवारका अनुसार भीमबहादुरले धेरै वर्ष पहिले मदिरा पिउन छाडेका थिए । बीचमा छाडेर पुनः मदिरा पिउन थालेको तीन दिनमात्रै भएको थियो ।

हत्यारालाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न परिवारले जाहेरी दिएको छ । यस कसुरअन्तर्गत नियतले नै मारेको पुष्टि भए कर्तव्य ज्यानअनुसार कारबाही हुन्छ । त्यसका अलावा गम्भीर उत्तेजना वा रिसको आवेशमा ज्यान लिन नहुने, लापर्बाहीपूर्ण कामले कसैको ज्यान लिन नहुने र ज्यान जान सक्ने हिसाबले कुनै काम गर्न नहुने व्यवस्था छ ।

सिसी क्यामेराले काम गरेन

घटनाको थप अनुसन्धानका लागि सिसी क्यामेरा प्रभावकारी हुने प्रहरीको अपेक्षा थियो । दुर्गाचोकको एउटामात्रै पसलमा सिसी क्यामेरा जडान गरिएको पाइएपछि प्रहरीले सिसी क्यामेराको हार्डडिस्क लिएर गएको छ । यद्यपि, उक्त सिसी क्यामेराले पहिलेदेखि नै काम नगरेको पाइएको छ । दुर्गाचोकबाट करिब तीन सय मिटर दक्षिणतर्फ मृतक विकको घर छ । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

घटना बुझ्न मानवअधिकार आयोगको टोली चितवनमा

विकको मृत्युसम्बन्धमा जाँचबुझका लागि मानवअधिकार आयोगको टोली चितवन आएको छ । आयोगको बागमती प्रदेश प्रमुख यज्ञ अधिकारीको नेतृत्वमा आएको टोलीले पीडित परिवार, प्रहरी, मानवअधिकारकर्मी, छरछिमेकसँग घटनाको विषयमा जानकारी लिएको छ ।

विकको हत्या भएको र त्यो जातीय विभेदसँग सरोकार राख्ने घटना भएको भन्दै दलित अगुवा तथा अभियन्ता र परिवारले यस घटनालाई अन्य हत्याजस्तो सामान्य हिसाबले हेर्न नहुने प्रतिक्रिया दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु