अमेरिकाले भन्यो : भिसा र अमेरिकामा बसोबास सम्बन्धी नीतिमा परिवर्तन आएको छैन

२० असोज, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको बताएको छ । दूतावासले भिसासम्बन्धी आएका केही समाचार गलत अर्थ लाग्ने खालको भएको उल्लेख गरेको छ ।

कम्युनिष्ट पार्टीका सदस्य र निरंकुश सत्ताका सदस्यहरुको अमेरिका भ्रमण र अमेरिकामा बसोबाससम्बन्धी दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको उल्लेख छ । तर उसले त्यो नीति के हो भन्ने सम्बन्धमा भने केही पनि खुलाएको छैन ।

गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको यूएससीआईएसले बताएको छ ।

यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो ।

यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ । सो आधिकारिक डकुमेन्टको आधारमा अन्तर्राष्ट्रिय समाचार माध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् ।

दूतावासले नेपालको बहुदलीय प्रजातन्त्रलाई सम्मान गर्ने, नेपालको निर्वाचित सरकारसँग निरन्तर सहकार्य गर्ने बताएको छ । उसले ७३ वर्षदेखिको नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन दृढ रहेको पनि उल्लेख गरेको छ ।

 

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु